१६-३० मंसिर २०६९ | 1-15 December 2012

सन्तुलित समालोचना

Share:
  
p55
 
 

युगकवि सिद्धिचरणः 

कृति र प्रवृत्ति विश्लेषण 
लेखकः गोपी मैनाली 
प्रकाशकः दायित्व वाङ्मय प्रतिष्ठान 
पृष्ठः १३८+१४,
मूल्यः रु.१७५ 
 
समालोचनाले कृतिको विधागत जाँचपडताल गर्छ। समालोचक तटस्थ विज्ञ परेछन् भने कृतिको गुणवत्ताको सन्तुलित मूूल्याङ्कन हुन्छ, नत्र कि व्यर्थ प्रशंसाको वर्षा गरिन्छ कि त कृतिकारको सर्वथा अनुचित दोहोलो काढिन्छ। युगकवि सिद्धिचरण श्रेष्ठको कवित्वमाथि कलम चलाएका गोपी मैनाली भने पहिलो कोटिकै समालोचक बनेका छन्। युगकवि सिद्धिचरणः कृति र प्रवृत्ति विश्लेषण नामको पुस्तकमा मैनालीले नेपाली कवितामा स्वच्छन्दतावादी धार भित्र्याउनेमध्येका एक सिद्धिचरणको कवित्व, रचनागर्भ र रचनाको सान्दर्भिकतामाथि विभिन्न आयाममा चर्चा गरेका छन्।  
 
किताबमा नेपाली कवितामा सिद्धिचरणको उपस्थिति, उनीसँग समकालीन र उत्तरवर्ती कविहरूको तुलना तथा उनको समग्र काव्यकर्म सम्बन्धी आठ समालोचना छन्। मैनालीले सिद्धिचरणका कवितामा देवकोटा, लेखनाथ र समका स्वच्छन्दता, शास्त्रीयपन र बौद्धिकताको संयोजन भएको दृष्टिकोण राखेका छन्। लेखकले सिद्धिचरणको उर्वसी खण्डकाव्यलाई मनोवैज्ञानिक अन्तर्द्वन्द्व र त्रासदीको उत्कृष्ट अभिव्यक्ति भनेका छन्। किताबमा सिद्धिचरणका प्रतिनिधि कविताहरूदेखि विश्वव्यथा शोककाव्यसम्मको मिहिन विश्लेषण छन्। सिद्धिचरणका काव्यबारे उनका पूर्ववर्ती समालोचकहरूले गरेका अधिमूल्यन र अवमूल्यनमा मैनालीले तर्कपूर्ण असहमति राख्दै नयाँ कसीमा मूल्याङ्कन गर्न खोजेका छन्। उनले युगकविका कविताहरूमा प्रचुर मात्रामा भाव संप्रेषण, विचार प्रवाह र काव्यकला भएको विचार राखेका छन्।  
 
सिद्धिचरणलाई अन्य विभिन्न कविसँग तुलना गरेर पाठकसमक्ष निर्णायक धारणा राख्ने आँट लेखकले गरेका छन्। धेरै उदाहरण, क्लिष्ट भाषा र जब्बर शब्दविन्यास यो कृतिको शक्ति र कमजोरी दुवै हो। नेपाली वाङ्मयप्रेमीहरूका लागि यस्ता किताब पठनीय र सङ्ग्रहणीय हुने नै भयो।
 
रमेशकुमार
comments powered by Disqus

रमझम