१६-३० मंसिर २०६९ | 1-15 December 2012

कलामय राजधानी

Share:
  
p58a
 

देशविदेशका नाट्यकर्मी एउटै थलोमा प्रस्तुत भइरहेका बेला काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सवले अनेक बान्की पस्किरहेको छ।  

रवीन्द्रनाथ टैगोरको नाटक जीवन या मृत्यु मा एकल अभिनय गर्दै भारतीय अभिनेत्री सीमा विश्वास। 
 
अहिले काठमाडौंमा स्वदेशी तथा विदेशी कलाकारको जमघट बढेको छ, जसले राजधानीलाई कलामय बनाएको छ। अनामनगरस्थित मण्डला थिएटरमा ८ देशका १४ नाटक मञ्चन भइरहेका छन्। ८–२२ मंसीरसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, रूस, फ्रान्स, नर्वे, अमेरिका, थाइल्याण्ड र इरानको सहभागिता छ। महोत्सवमा नेपालका सुनकेशरी, नेपाली आमा, काफ्काः एक अध्याय, अमरसिंहको खोजीमा अमरसिंह आदि नाटक मञ्चन हुँदैछन्। 
 
आरोहण गुरुकुलले चौथो पटक आयोजना गरेको महोत्सवका क्रममा भारत र फ्रान्सको टोलीले विराटनगरको आरोहण गुरुकुलमा पनि नाटक मञ्चन गर्नेछ। एशिया, अमेरिका र युरोपका नाट्यकर्मीको सहभागिताबाट उत्साहित महोत्सवका संयोजक सुनील पोखरेल भन्छन्, “समकालीन विश्व नाट्यकर्ममा नेपालको स्थान यस्तै अवसरको निरन्तरतामा देखिने हो।” 
 
नाट्यकर्मी अनुप बरालले फरक महादेशका नाट्यकर्मीको यति ठूलो गतिविधि नेपाली नाट्य क्षेत्रकै लागि सुखद् अवसर भएको बताए। सर्वनामका नाट्यकर्मी अशेष मल्ल यस्ता महोत्सवले विश्व रंगकर्मको प्रवृत्ति खुट्याउने अवसर दिनुको साथै अन्तरदेशीय सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने बताउँदै दर्शकको उपस्थितिप्रति थप उत्साह जनाए।  
 
p58b
 
कला महोत्सवमा प्रदर्शित सृजना।

काठमाडौंमा अहिले नाटक मात्र हैन, अन्तर्राष्ट्रिय कला महोत्सव पनि भइरहेको छ। १० मंसीरदेखि ६ पुससम्म चल्ने दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सवमा ३० नेपालीसहित ३१ मुलुकका ९५ पेन्टर सहभागी छन्। अर्थ, बडी, माइन्ड शीर्षकको यो कला महोत्सव सिद्धार्थ आर्ट फाउन्डेसनले आयोजना गरेको हो। प्रकृति, वातावरण र मानव सम्बन्धलाई कलाबाट बुझ्ाउनु महोत्सवको उद्देश्य रहेको आयोजक संस्थाकी प्रमुख एवं महोत्सव संयोजक संगीता थापा बताउँछिन्। थापा भन्छिन्, “कलाबाट अन्तर्राष्टिय सम्बन्ध विस्तार गर्नु महोत्सवको उद्देश्य हो।”  

महोत्सव अन्तर्गत राजधानीका विभिन्न १५ ठाउँमा प्रतिस्थापनकला, चित्रकला, प्रस्तुति कला, मूर्तिकला, डिजिटल आर्ट, प्रिन्ट आर्ट, मिडिया आर्ट, फोटोग्राफी लगायत कला प्रदर्शनी भइरहेको छ। सिद्धार्थ आर्ट ग्यालरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ब्रिटिश काउन्सिल, नेपाल आर्ट काउन्सिल, नेपाल इन्भेष्टमेन्ट ब्याङ्क, नेपाल पर्यटन बोर्ड, बौद्धनाथ, पाटन संग्रहालय, नागबहाल, सदर चिडियाखाना, काठमाडांै कन्टेम्परेरी आर्ट सेन्टर, समिट होटल लगायतका स्थानमा कला रूप र शैली हेरिरहेका छन् कलाका पारखीहरू। 
 
ऋषिराम कट्टेल
comments powered by Disqus

रमझम