मानव सभ्यतासँगै चिह्न वा स्रोतका रूपमा प्रयोग भएको ग्राफिक प्रकाशन प्रविधिसँगै परिवर्तित र व्यापक बन्दै गएको छ।
छोटो, सरल, आकर्षक र पाठकको ध्यान खिच्न सक्ने जानकारी समेट्ने प्रयास हुने गर्छ― हिजोआजका विज्ञापनमा। तर भएसम्मको जानकारीसहित आउने पुराना विज्ञापन भने निकै लामा र भद्दा हुन्थे। नेपाली विज्ञापनको इतिहास पनि यस्तै खालको विस्तृत जानकारी समेटिएका विज्ञापनहरूबाट शुरू हुन्छ। वि.सं. १९५८ देखि प्रकाशन शुरू भएको गोर्खापत्र मा घडी, फाउन्टेन पेनका विज्ञापनहरू केही हदसम्म आकर्षक र छोटा भए पनि पर्चा, पम्प्लेटका रूपमा प्रकाशित र वितरण हुने अरू विज्ञापन भने निकै पट्यारलाग्दा हुन्थे। जसमा टेक्स्ट (अक्षरहरू) को प्रयोग ज्यादा हुन्थ्यो।
वि.सं. १९७० को दशकमा गाई–भैंसीको औषधी, आयुर्वेद तथा ज्योतिषीसँग सम्बन्धी पसल र विभिन्न सामानका लामा–लामा विज्ञापन प्रकाशित तथा वितरित भएको देखिन्छ। मदन पुरस्कार पुस्तकालयको सङ्कलनमा रहेका करीब ३० वटा यस्ता विज्ञापनमध्ये एउटा राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको यूरोप यात्रा सम्बन्धी पुस्तकको प्रचार–प्रसारसँग सम्बन्धित छ।
पुस्तक प्रकाशक, लेखकका रूपमा परिचित नरदेव मोतिकृष्ण शर्माद्वारा प्रकाशित यस विज्ञापनमा चन्द्रशमशेरको यूरोप यात्रा (१९६४–६५) को वर्णन गरी लेखिएको पुस्तक यूरोप यात्रा बारे जानकारी दिइएको छ। १९६७ सालमा पर्चाका रूपमा प्रकाशित र वितरित यो विज्ञापनको साइज ४८138२८ सेमी छ। पद्यात्मक शैलीमा लेखिएको ९२ लाइनको यस विज्ञापनले पुस्तकभित्रका विषयवस्तुसँगै लेखक, प्रकाशक, प्रेस, मूल्य जस्ता तमाम जानकारी दिएको छ। विज्ञापनले पुस्तकको साज–सजावट, कागजको रङ, कभर आदिको जानकारी यसरी दिन्छः
ठूला अक्षर्मोतिका पंक्ति जस्ता।
खासा कागज् दूदका रङ्ग जस्ता।।
ठाम्ठाम् माहा खोलिया कोछ टीका।
वेलायेती जिल्द छन् फेरि जस्का।।
दुई रूपैयाँ मूल्यको यस पुस्तकको मुद्रण नेपाल पाशुपत छापाखानाबाट भएको र हुलाकबाट मगाउनेका लागि थप आठआना डाँक महसूल तिर्नुपर्ने जानकारी पनि विज्ञापनले दिन्छ। विज्ञापनमा युरोप नगइकनै थोरै रकममा कसरी त्यहाँको बारेमा जानकारी लिन र मजा गर्न सकिन्छ भन्ने वर्णन गर्दै पुस्तकको प्रशंसामा यस्तो पंक्ति लेखिएको छः
धन् खर्च गर्नू पनि धेर्नपर्ने।
तक्लिफ् सरिर्मा पनि क्यै नपर्ने।।
सो सब् मजा ञाहि बसेर दीने।
यूरोप यात्रा किन येक् नलीने।।
शीर्षकमा विज्ञापन लेखिए पनि केको विज्ञापन हो, कति मूल्यको हो र के विशेषता छ भन्ने जानकारीका लागि भने ९२ लाइन लामो कविता पढ्नैपर्ने हुन्छ। कविता पढिसक्दा भने पुस्तकभित्रका अनेकौं विषयवस्तु, जस्तैः चन्द्रशमशेरले मरेका मान्छेहरूसँग बातचित गरेको, लण्डन र पेरिसमा बास बसेको जानकारी पनि दिन्छ। विज्ञापनमा महाराजा चन्द्रशमशेरको प्रशंसा पनि उत्तिकै गरिएको छ।
विज्ञापनभित्रको एक पंक्तिमा 'नाना छन्दमहा रच्या डि.कविले ठूलो परिश्रम गरी' भन्ने उल्लेख छ। डि. कवि भनेका यूरोप यात्रा पुस्तकका लेखक 'कमाण्डर कर्णेल डिल्लीशमशेर थापा क्षत्री' हुन्। अर्थात् चन्द्रशमशेरको यूरोप यात्राको सबै वर्णन गरेर किताब लेख्ने कमाण्डर थापा चन्द्रशमशेरसँगै युरोप जानेमध्ये एक थिए। वि.सं. १९६५ मा युरोप भ्रमण सकेको दुई वर्षपछि १९६७ सालमा उनले यो पुस्तक प्रकाशन गरेका थिए। पद्य विधामा लेखिएको कुल ३७७ पृष्ठको पुस्तकको आवरण निकै आकर्षक छ, जसलाई विज्ञापनमा 'वेलायेती जिल्द' का रूपमा व्याख्या गरिएको छ।
विज्ञापन गरिएको पुस्तक रामचरित्र जस्तै महत्वपूर्ण रहेको र यसको लेखनमा निकै परिश्रम गरिएको जानकारी रमाइलोसँग दिइएको छः
जस्तो रामचरित्र गान्कन गरी सन्सार सागर्तरी।
पापी जन्पनि मुक्त भैकनगया आनन्दमाहा परी।।
तस्तै चन्द्र चरित्र गान्कन गरी यो दुख्ख सागर्तरी।
सब्जन् मग्नहउन् भनेर कविले यो गान् गरे यस्घरी।।
त्यतिबेलाको यो विज्ञापन आज उत्कृष्ट र आकर्षक नदेखिएला तर यसमा पुस्तक, यसको सजावट, महत्व, कागज, लेखक आदिका विषयमा रोचक वर्णन गरिएको छ। पुस्तकको विज्ञापन गर्ने अहिलेको व्यापक प्रचलनमा १०२ वर्ष पहिले पुस्तकको प्रचार–प्रसारका लागि प्रयोग भएको यस्तो सामग्रीले केही नयाँ मसला दिन सक्छ।