३-९ फागुन २०७१ | 15-21 February 2015

प्रदीप रिमाल

Share:
  
- बुलु मुकारुङ

गत २३ माघमा गीतकार प्रदीप रिमाल नरहेको खबर आयो। ललितपुर, लुभू घर भएका उनी करीब एक दशकदेखि अमेरिका बसिरहेका थिए। क्यान्सरबाट उनको मृत्यु भएको खबर पनि उतैबाट आयो। यता रहेका हामी दुःखी भयौं। थुप्रै कालजयी गीतका सर्जक रिमालले नेपाली चलचित्र लेखन/अभिनय/निर्देशन तथा लोकसाहित्य अनुसन्धानमा विशेष योगदान पुर्‍याएका थिए। उनी सबभन्दा बढी चाहिं गीतकार नै थिए।

रिमालले रचना गरेका थुप्रै गीतमध्ये 'कस्तूरी हे वास आउँछ भन्छन्' र 'यो वर्षमा छोडी मलाई...' नारायणगोपालले आफ्नै संगीतमा गाए। जयदेवको संगीतमा उषा मङ्गेशकरले गाएको 'झलझली आँखामा...' नेपालमा सबभन्दा बढी गाइएको र नाचिएको गीतमध्येमा पर्छ। आज पनि थुप्रै स्कूलहरूमा यो गीत बजाएर नाच्ने–नचाउने गरेको देख्न पाइन्छ। उनको 'निर्मोही माया जून–घाम छाया...' पनि जयदेवको संगीतमा उषा मङ्गेशकरले नै गाइन्। जयदेवको संगीतमा सी.पी. लोहनी र अरुणा लामाले गाएको 'काला कुर्तैले छ मैने जागिर खायाँ' र गीता दत्त, सी.पी. लोहनीले गाएको 'छ सलाम कसरी बोलाऊँ' पनि नेपालमा अत्यधिक गाइएका/नाचिएका गीत हुन्।

(१५ असोज १९९४ ― २३ माघ २०७१)

गीतकार रिमालद्वारा रचित अन्य गीतहरूमा 'कालो रातमा देखिन्न बादलु...,' (स्वर– पुष्प नेपाली, संगीत– उस्ताद गोविन्दलाल नेपाली), 'आज राति...' (स्वर– माधव जोशी, संगीत नातिकाजी), 'अरुसित होइन रिस...' (स्वर– निर्मला श्रेष्ठ, संगीत अम्बर गुरुङ), 'माया लाउँदै...' (स्वर/संगीत– कल्याण रिमाल, 'घाम–पानी' (स्वर/संगीत– पुष्प नेपाली, 'जाली रहेछौ...' (स्वर/संगीत पन्नाकाजी), 'माया मारे...' (स्वर– रुवी जोशी, संगीत– श्यामबहादुर), 'हे मेरा साहिंला...' (स्वर– सुनिता रेग्मी, संगीत– बटुकृष्ण ज्वाला र मनश्याम बैजू), 'रोई बस्छ...' (स्वर– उर्मिला, संगीत– कृष्णमान), 'साँझको बेला' (स्वर/संगीत– कृष्णमान) आदि हुन्।

२००७ सालतिरै स्थापना भएको 'नेपाल नाटक संघ' बाट अभिनय आरम्भ गरेका रिमालको चलचित्र यात्रा भने कर्मचारीको रुपमा भएको थियो। २०२१ सालमा उनी सूचना विभागको चलचित्र इकाइमा करारमा काम गर्थे। २०२८ सालमा यादव खरेलको कार्यकारी अध्यक्षतामा शाही नेपाली चलचित्र संस्थान गठन भएपछि चलचित्र इकाइका सबै कर्मचारी संस्थानमा गाभिए। त्यसयताका रिमालले संस्थानमै रहेर नेपाली चलचित्र उद्योगको आधारशिला निर्माणमा योगदान दिए।

चलचित्र 'माइतीघर' मा उनी गीतकार र सहायक निर्देशक थिए। उनले 'मनको बाँध', 'अन्याय' आदि चलचित्रमा पनि गीत कोर्न भ्याए। 'हिजो आज भोलि' मा उनको अभिनय देख्न पाइन्छ। 'के घर के डेरा', 'माया', 'सिलु' उनकै निर्देशनमा बनेका त्यो बेलाका सार्थक चलचित्र हुन्। भारतीय सूत्रमै बने पनि यी चलचित्रमा नेपाली समाजको चित्रण बेजोड थियो। त्यसो त नेपाली कलाकार, प्राविधिक र लगानीको बलमा चलचित्र बनाउन सक्नु नै त्यो बेला ठूलो आँट र उपलब्धि मानिन्थ्यो।

२०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीको नेतृत्वमा पाँच जनालाई कर्णाली अञ्चलको लोकसंस्कृति अध्ययनका लागि खटायो, जसमा रिमाल एक थिए। त्यो अध्ययन पछि तयार भएको 'कर्णालीको लोकसंस्कृति' नामक पुस्तकले २०२८ सालको 'मदन पुरस्कार' प्राप्त गरेको थियो।

सरल–शालीन रिमाल समकालीनबीच हार्दिक थिए भने अनुजप्रति स्नेही। रिमालको नश्वर देह नरहे पनि उनले नेपाली गीत–संगीत, सिनेमा र वाङ्मयको आँखामा झलझली भइरहने काम गरेर गएका छन्।

comments powered by Disqus

रमझम