सिंगो परिवारको उपार्जनको लागि महिलाको आर्थिक गतिविधि अब एकाध घर–घरानामा सीमित रहेन। देश–विदेशमा छरिएका नेपालभरका महिला अहिले आर्थिक उपार्जनमा क्रियाशील छन्। उनीहरूले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा पहुँच बढाएका छन्। नेपाली महिलाको यस्तो सशक्तीकरणको ढोका अघिल्लै पुस्ताका जुझारु महिलाहरूले खोलेका हुन्। उनीहरूका उस्तै साहसी उत्तराधिकारीहरूले अभियानलाई गति दिएका छन्।
चेलीबेटी बेचबिखन विरुद्ध सन् १९८७ मा स्थापित 'एबीसी नेपाल' की संस्थापक दुर्गा घिमिरे आफ्नो क्षेत्रकी लीडर हुन्। उनको समयमा छोरीचेलीलाई सानै उमेरमा विवाह गरिदिने चलन थियो। उनलाई पनि बिहेको दबाब आयो। तर, विद्रोह गरेर पढाइ सकेर जागिर थालेपछि मात्रै विवाह गरेको दुर्गा सम्झ्िन्छिन्। त्यो बेला नेपालमा महिला बेचबिखन हुन्थ्यो, तर त्यस विरुद्ध आवाज उठाउने आँट कमैले गर्थे। मान्छेहरू दुर्गालाई त्यस्तो अप्ठ्यारो विषयमा नबोल, हात नहाल भन्दै सम्झ्ाउन खोज्थे। “१९९६ मा बम्बईमा बेचिएका नेपाली केटीहरूको उद्धार गर्छु भन्दा नसकिने काम भन्दै धेरै जना पन्छिए”, दुर्गा भन्छिन्, “१२५ युवती फिर्ता ल्याएपछि मात्र मलाई पत्याउन थाले।”
दृढता, लगन र निरन्तरताले उनलाई आज यो ठाउँमा ल्याइपुर्याएको छ। फरक क्षेत्रमा दुर्गाकै जस्तो निरन्तर संघर्ष गरेकी चित्रकार रागिनी उपाध्याय अहिले ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति छिन्। नेपालको पहिलो महिला कुलपति उनी आज आफ्नो क्षेत्रकी 'अथोरिटी' नै हुन्। “पुरुषप्रधान समाजमा महिलाले हन्डर त खानैपर्छ”, रागिनी भन्छिन्।
घरपरिवारले नै महिलाबाट बढी अपेक्षा राख्ने हुँदा यहाँ अगाडि बढ्न चाहने महिलाले 'सुपर–वुमन' बन्न सक्नुपर्ने सामाजिक अभियन्ता चाँदनी जोशीको अनुभव छ। महिलाले पुरुष समकक्षीले भन्दा दुई गुणा बढी खटिनुपर्छ। उनका अनुसार, नेपाली पुरुष मानसिकतामा महिला भनेका 'होम–मेकर' हुन्, 'डिसिजन–मेकर' होइनन्। त्यसैले, महिलालाई गम्भीरतापूर्वक लिइँदैन, क्षमतामा अविश्वास गरिन्छ। “यस्तोमा आफूलाई प्रमाणित गर्न पनि महिलाले पुरुष समकक्षीले भन्दा बढी मिहिनेत गर्नुपर्छ”, चाँदनी भन्छिन्।
निजामती सेवामा सह–सचिव रहेकी जीवनप्रभा लामा महिलालाई कम आँक्ने नेपाली प्रवृत्ति देखेर कहिलेकाहीं हैरान हुन्छिन्। अहिले राष्ट्रिय सूचना आयोगकी कामु सचिव उनी यही प्रवृत्तिका कारण निकै कम महिला नेतृत्व तहमा पुगेको बताउँछिन्। हुन पनि, निजामती सेवामा वृन्दा हाडापछि कुनै महिला सचिव स्तरमा पुग्न सकेका छैनन्। यस पटकको दाबेदार जीवन प्रभालाई नै पनि बढुवामा पारिएन। “अहिले तल्लोस्तरमा चाहिं महिलाका लागि थुप्रै बाटा खोलिएका छन्”, उनी भन्छिन्, “नेतृत्वमा भने महिला राख्न अझ्ै अन्कनाइँदैछ।”
चित्रकार रागिनी आफूले नेपाली महिलाको कुलपति हुने बाटो खोलेको बताउँछिन्। यसअघि उनले विधि लागू नभएको भन्दै प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ पदबाट राजीनामा दिएकी थिइन्। खुट्टा तान्नेहरूदेखि भने उनी अहिले पनि आजित छिन्। “महिलालाई जहिले पनि चुनौती नै हुँदोरहेछ”, उनी भन्छिन्, “तर, म दृढ भएर लागिपरेकी छु, नीति–नियमका कुरामा कडा हुन डराउँदिनँ।”
यी प्रतिनिधि महिलाहरू लिंगकै आधारमा आफूलाई कमजोर वा अक्षम ठान्दैनन्। न त त्यस्तो सोचको अगाडि हात उठाउँछन्। शिक्षा र असल संस्कार छ भने कोही फितलो नहुने बताउँछिन्, साहित्यकार शारदा शर्मा। उनको विचारमा, नारी–पुरुष बराबर शक्तिसम्पन्न भएको समाज स्वस्थ र सभ्य हो भने विभेद भएको समाज रोगी, रुग्ण र दुःखी। शारदा भन्छिन्, “नेपाली समाज विस्तारै सुधि्रंदै आएको छ।”
माथि नै भनियो, यी महिलाहरू नेपाली समाजका प्रतिनिधि लीडर हुन्। चूलोचौकामै सीमित हुनुपर्ने जमानामा जन्मिएका उनीहरू आ–आफ्नो व्यावसायिक क्षेत्रमा डटेर स्थापित भए। पुरुष मात्रै 'अथोरिटी' हुने नेपाली समाजमा आज यी महिलाहरू आ–आफ्ना क्षेत्रका आधिकारिक व्यक्तित्व हुन्। यिनमा सर्वोच्च अदालतकी न्यायाधीश सुशीला कार्की र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालादेखि संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्ती, तिलगंगा आँखा अस्पतालकी डा. रीता गुरुङ, समाजसेवी अंगूरबाबा जोशी, पूर्व डीआईजी पार्वती थापा, क्रिकेट एसोसिएसन अफ नेपालकी भावना घिमिरे, एसपी मीरा चौधरी, डा. दिव्या सिंह शाह, ब्यांकर रभिना देसराजसम्मका महिला छन्। यो सूची निकै बन्छ। परोपकारमुखी गैर–सरकारी क्षेत्रको नेतृत्वमा त बोलवाला नै कायम गरेका नेपाली महिलाले सरकारी वा अर्धसरकारी निकायको उपल्लो तहमा भने छेकथुनकै अनुभव गरेका छन्।
आकाश चुम्दै
वर्षा र धमिलो प्रकाशबीच बुद्ध एअरको एटीआर–४२ त्रिभुवन विमानस्थलमा अवतरण गर्यो। “उडानमा थोरै समस्या देखिए पनि हामीले राम्ररी अवतरण गरायौं”, क्याप्टेन सुनिता धिताल भन्दै थिइन्। सन् २००९ देखि बुद्ध एअरमा रहेकी धिताल हालै क्याप्टेन बनेकी हुन्।
सन् १९८८ मा सोनी राणा नेपालकी पहिलो महिला पाइलट भएयता उनको पदचाप पछ्याउने बढेका छन्। बुद्ध एअरको ५९ जनाको 'ककपिट क्रु' मा चार जना मात्रै महिला क्याप्टेन छन्। नेपाल एअरलाइन्समा दुई जना र यती एअरमा चार जना महिला क्याप्टेन छन्।
धितालका अनुसार महिलाले प्लेन उडाउनु अनौठो होइन। तर, एरोनोटिकल इन्जीनियर र प्राविधिकमा भने पुरुष नै चाहिन्छ भन्ने धारणा हट्न सकेको छैन।
बुद्ध एअरमा कार्यरत सिन्जा उपाध्याय एकमात्र महिला एरोनोटिकल इन्जीनियर हुन्। “अब त पुरुषको भीडमा काम गर्ने बानी परिसक्यो”, उपाध्याय भन्छिन्, “मैले लैंगिक विभेद झेल्नु परेन। तर, यो क्षेत्रमा किन आएको भनेर चाहिं धेरैले सोध्छन्।”
आयशा शाक्य
जीवनप्रभा लामा
धरानकी जीवनप्रभा सन् १९७९ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा सहायक प्राविधिकका रूपमा प्रवेश गरेकी थिइन्। खाद्य अनुसन्धान अफिसर हुँदै उनी विभागकी निर्देशक समेत बनिन्।
दुर्गा घिमिरे
एबीसी नेपालकी संस्थापक अध्यक्ष दुर्गा सन् १९७५ बाट समाजसेवामा छिन्। यसबीचमा उनी त्रिभुवन विश्वविद्यालयमा रिसर्च अफिसर, 'कम्युनिटी सर्भिसेस को–अर्डिनेसन कमिटी' को सदस्य सचिव र 'वुमन सर्भिसेस को–अर्डिनेसन कमिटी' की अध्यक्ष समेत भइन्।
रागिनी उपाध्याय
सन् १९६१ मा जन्मिएकी रागिनी प्रख्यात नेपाली चित्रकार हुन्। विश्वका ६० देशमा एकल प्रदर्शनी गरिसकेकी उनी ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपति छन्।
पार्वती थापा मगर
सन् १९८३ मा प्रहरी सेवामा प्रवेश गरेकी गोरखाकी पार्वती १९८६ मा प्रहरी निरीक्षकहुँदै डीआईजीबाट अवकाश लिइन्। उनी जिल्ला प्रहरी प्रमुख हुने पहिलो महिला प्रहरी हुन्।
डा. रीता गुरुङ
चितवनमा जन्मेकी डा. रीता तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत पनि हुन्। एकल महिलाकी छोरी उनी अघि बढ्न कठिन भए पनि डटेर लागिपर्दा सफल भइने बताउँछिन्। उनी स्थापनाकालदेखि नै तिलगंगा आँखा अस्पतालमा कार्यरत छिन्। त्यसअघि उनले पोखराको हिमालय आँखा केन्द्रमा काम गरेकी थिइन्।
चाँदनी जोशी
सन् १९४६ मा पाल्पामा जन्मिएकी चाँदनीले पद्मकन्या क्याम्पसको लेक्चररबाट 'करिअर' शुरू गरेकी थिइन्। पद्मकन्याको अंग्रेजी विभाग प्रमुख समेत भएकी उनले गृह मन्त्रालयको 'टे्रनिङ मटेरियल प्रोडक्सन प्रोग्राम' सम्पादक र महिला विकास शाखा प्रमुखको जिम्मेवारी पनि लिइन्। सन् १९९० मा भने उनी युनिफेमको दक्षिणएशिया कार्यक्रम निर्देशक भइन्।
भावना घिमिरे
वेल्स विश्वविद्यालयकी एमबीए भावना क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को पहिलो प्रमुख कार्यकारी अधिकृत हुन्। उनीसँग बेलायतको पञ्जाब इन्टरनेशनल ब्यांक, कुवेतको वेल्थ म्यानेजमेन्ट र बहराइनको खेलकुद व्यवस्थापन कम्पनीमा काम गरेको अनुभव छ।
सुशीला कार्की
२०३५ सालबाट वकालत शुरू गरेकी सुशीला अध्यापक र पुनरावेदन अदालत विराटनगरकी बार अध्यक्ष पनि भइन्। २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी उनी अहिले सर्वोच्च अदालतको न्यायाधीश छिन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश बन्ने लाइनमा छिन्।
शारदा शर्मा
स्याङ्जाको चिलाउनेवासमा जन्मिएकी शारदा धेरै पढिने र सामाजिक, राजनीतिक लगायतका विषयमा समेत कलम चलाउने साहित्यकार हुन्। उनले लामो समय नेपाल परिवार नियोजन संघमा काम गरिन्। उनी अन्तर्राष्ट्रिय परिवार नियोजन संघको दक्षिणएशिया क्षेत्रीय सल्लाहकार समेत रहिन्।
