हामीलाई हाम्रो देशमा अरूले डण्डा देखाएर नियम बसालिदेओस् भन्ने लाग्न थाले जस्तो छ।
तस्बीर: विलाश राई
राजधानीको मेरो डेरा नजिकैको बाटो वान–वे हो। मूल सडकबाट मोडिने ठाउँमै वान–वे भनेर बुझाउने बोर्ड पनि छ। तर, वान–वे हो भन्ने जान्दाजान्दै पनि मानिसहरू त्यहाँ गाडी हुलेर जाम गरिरहेका हुन्छन्। त्यस्ता गाडीवालाहरू पटक्कै लज्जाबोध वा अप्ठ्यारो मानिरहेका हुँदैनन्, बरु च्यापिन लागेका पैदल यात्रीहरूलाई आँखा तरिरहेका हुन्छन्। त्यहाँ हत्तपत्त ट्राफिकको आँखा पुग्दैन। डण्डा लिएर कसैले निगरानी नगरेकाले वान–वेको नियम मान्न कोही तयार छैनन्, मानौं हामीसँग विना डण्डा देखाउन मिल्ने सुसंस्कार नै छैन।
एक समय ट्राफिक नियम पालना गराउन काठमाडौंको चोकमा उभिन आएका जापानी स्वयंसेवी कियोसी बाबाले ट्राफिक नियम नमान्ने पैदलयात्रुदेखि बहालवाला डीआईजीसम्मको गाडी रोकेर लाइसेन्स माग्नुपर्यो। “यहाँ मेरो सबैले वाह्वाही गरेका छन्, धेरै अखबारले अन्तरवार्ता पनि लिइसके, तर मैले त यहींका मान्छेले गर्न सक्ने काम मात्रै गरेको हुँ”, एक भेटमा कियोसी बाबाले भनेका थिए। तर, हाम्रा मुख्य सडकहरूमा अझै पनि बडा–बडा डिभाइडर राखेर, तिनमा डोरी टाँगेर पनि नपुगेर प्रहरीहरू डण्डा लिएर खट्नु परेको छ।
विदेशमा भएका मेरा साथीहरू नेपालमा 'सिस्टम' नभएको भन्छन्। गुनासो यति गम्भीर हुन्छ कि मानौं 'सिस्टम' भएको भए उनीहरू नेपालमै हुन्थे। विदेशमा बसेर फेसबुक र टि्वटरमा 'सिस्टम'को वखान लेख्नेमध्ये ९५ प्रतिशतले काठमाडौंका सडकमा चाउचाउ र फ्रुटीका खोल फ्याँकेर गएको कुरा भने सबैलाई थाहा छ। उनीहरूले यहाँ रहँदा ट्राफिक नियम पालना गरेकोमा पनि शंकै छ। एक निमेष पनि विचार नगरी थुक र चुरोटको ठुटा सडकमा फाल्ने कर्म गरेनन् होला भन्न सकिन्न।
स्वदेशमै रहेका हामी पनि 'सिस्टम' बारे गफ दिन कम खप्पीस छैनौं। तर, ट्याक्सीमा चाहिं मिटर होइन 'कुरा मिलाएर' चढ्छौं। जेब्रा क्रसिङ्गबाट बाटो काट्दा हामीलाई हीनताबोध हुन्छ। जहाँ देख्यो त्यहीं माइक्रो रोक्छौं र दुई जनाको सीटमा चारजना कोचिन्छौं। बिजुली, पानी आदिको बिल तिर्दा वा कुर्न फर्म भर्दा–बुझ्ाउँदा मात्र नभई देउता ढोग्न मन्दिर पुग्दा समेत लाइन मिचेर अगाडि जान पाउँदा आफूलाई 'विशेष' ठान्छौं। सडकमै ईंटा–बालुवा थुपारेर घर बनाउन तम्सन्छांै। मापसे गरेर ट्राफिकलाई घुस खुवाएर उम्किंदा आफू चतुर भएको महसूस गर्छौं। आफूलाई सजिलो परेसम्म हरेक नियम उल्लंघनलाई सफलता मान्छौं। तर, आफूलाई अलिकति अप्ठ्यारो पर्नासाथ 'सिस्टम' नबसालेकोमा सरकारदेखि नेतासम्मलाई गाली गर्नु हाम्रो राष्ट्रिय चरित्र भएको छ।
एकैचोटि ठूलो परिवर्तनको अपेक्षा राख्ने र दैनन्दिनका सानातिना विषयहरूलाई वास्ता नगर्ने हामी अधिकारको मात्र फेहरिस्त कण्ठस्थ गरेर हिंडेका हुन्छौं, कर्तव्यको कुरा सुन्नै चाहँदैनौं। हामीकहाँ नियम नै नभएर अरूले लाठी देखाउनुपरेको हैन भन्ने बिर्सन्छौं। वान–वेमा, गलत लेनमा र पार्किङ्ग निषेध क्षेत्रमा गाडी लैजान्छौं/राख्छौं। जेब्राक्रस वा ट्याक्सीमा राखिएको मिटरको उपयोगिता बिर्संदा हामीलाई सरकारले सडकमा चाउचाउको खोल फ्यालेको जस्तो लाग्छ। हो; देश संक्रमणमा छ, सर्वत्र राज्यको प्रभावकारी उपस्थिति र सुशासन छैन। शिक्षा, स्वास्थ्य कतै पनि उत्साहजनक प्रगति छैन, बेरोजगारी छ। तर यसको मतलब यो होइन कि राज्य कमजोर भएका बेला कसैको कुनै उत्तरदायित्व हुँदैन, नागरिकले जे गरे पनि हुन्छ।
दोष अरूको टाउकोमा बोकाएर उन्मुक्त हुने सुसंस्कारहीन सोचमा बहकिएका हामी सडकमा अरूको सुविधालाई ख्याल गर्दैनौं, जथाभावी थुक्दै, खकार्दै हिंड्छौं। नेपाल र नेपालीको क्षमता अन्वेषण गरेका टोनी हागनले 'नेपालीहरू धेरै थुक्ने' कुरा पनि उल्लेख गरेका छन्। अर्का पश्चिमा विद्वान बर्ट्रान्ड रशेलले 'नेपालीहरू कहिल्यै सरी भन्दैनन्' भनेका छन्। एक त आफ्नो कारण अरूलाई पुगिरहेका असुविधाको ख्याल नगर्ने, त्यसमाथि सरी समेत नभन्ने! सुसंस्कार जनाउने यस्ता सा–साना कुराप्रति हाम्रो बेवास्ता अचम्मलाग्दो छ।
सरकारले लागू गरेका नियमहरू छन्। हाम्रो आफ्नै सामाजिक काइदा–कानून पनि छन्। र पनि, डण्डावाला हेडसरको बानी परेका हामी नेपाली अटेरी र निष्पि्कक्री छौं। हामी सडकमा पिच्च थुक्दै सडक सफा राख्न नसक्ने सरकारलाई गाली गर्न बेर लगाउँदैनौं। हामी आफूलाई के ठानिरहेका छौं हँ? सीधै सामूहिक हुनपुगेको यो आत्मस्वीकृतिका लागि माफ रहोस्!