१-१५ पुस २०६९ | 16-30 December 2012

फर्ममा मछिन्द्र

Share:
  
शहीद स्मारक रेडबुल “ए” डिभिजन लिगको अघिल्लो संस्करणमा रेलिगेसनबाट बच्न संघर्ष गरेको एनएमबी मछिन्द्र क्लब यसपटक उपाधिको कडा दाबेदार बनेको छ।
p57
 
 
मछिन्द्र क्लबका खेलाडीहरू, दशरथ रंगशालामा
तस्वीरः गोलनेपालडटकम

६ मंसीरमा सामसुङ जावलाखेल युथ एसोसिएसनलाई ४–१ गोल अन्तरले पराजित गरेर यो सिजनको शहीद स्मारक रेडबुल 'ए' डिभिजन लिग शुरू गरेको एनएमबी मछिन्द्र फूटबल क्लब छैटौं खेलसम्म अविजित र १६ अंकका साथ अंक तालिकाको शीर्षस्थानमा छ। काठमाडौं, केलटोलको मछिन्द्रले लिगको साविक विजेता नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ र महिन्द्रा बाँसबारीलाई समान २–० तथा नेपाल आर्मी क्लबलाई १–० गोलले पाखा लगाएको थियो। आइसबर्ग मध्यपुरसँग भने गोलरहित बराबरी खेलेर अंक बाँड्यो।  

अघिल्लो वर्ष जावलाखेल युथ क्लबबाट खेलेका ९ खेलाडीलाई अनुबन्धित गरेर मैदानमा उत्रेको मछिन्द्रले ११ गोल गरेर एक गोल मात्र खाएको छ। राष्ट्रिय टीमका खेलाडी बेगर नै राम्रो प्रदर्शन गरिरहेको क्लबमा केन्याका डेनिस ओकु ओचिङ र बबी ओगुल्ला ओडङ्गो तथा बेनेटका ओलिन्का एडरिस केहिन्ड गरी तीन विदेशी खेलाडी छन्। गत वर्ष पनि मछिन्द्रबाटै खेलेका डेनिसले एपीएफ विरुद्ध तीन र बाँसबारीविरुद्ध एक गोल गरेका थिए। यसैगरी दीपक राईले चार, विशाल राई 'ए'ले तीन र लक्ष्मीनारायण श्रेष्ठले एक गोल गरेका छन्।  
 
p57a
 
 

२०३२ मा स्थापना भएको मछिन्द्र क्लबले अहिलेसम्म जितेको ठूलो उपाधि ब्रिटिश गोर्खा कप हो। गत कात्तिकमा भएको सफल पोखरा कपको उपविजेता बनेको यो क्लबको लक्ष्य 'सुपर एट' हो। “उपाधि जित्ने संभावना बढ्दै गएको छ”, २८ मंसीरमा आर्मीलाई पराजित गरेपछि प्रशिक्षक राजुकाजी शाक्यले भने, “खेल्न बाँकी रहेका लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, वेस्टर्न युनियन थ्रीस्टार, म्याकडोवेल्स आरसीटी, एनआरटी जस्ता टीमलाई कम आँक्ने गल्ती पनि गरेका छैनौं।”  

खेलाडीहरूको शारीरिक र मानसिक तन्दुरुस्तीमा आफ्नो ध्यान केन्द्रित रहेको बताउने प्रशिक्षक शाक्य युवाहरूले भरिएको आफ्नो टीमको प्रदर्शनलाई निरन्तरता दिन मात्रै सक्दा पनि 'वाह्' भन्न लायक नतिजा आउनेमा विश्वस्त छन्। टीम स्पिरिट र फास्ट पासमा कहलिएको मछिन्द्रको अर्को विशेषता आकर्षक प्रदर्शन नगरेरै पनि नतिजा आफ्नो पक्षमा पार्नु हो।  
 
लिगको सुरुआतमा दमदार प्रदर्शन गरेपछि २७ मंसीरमा एनएमबी ब्याङ्कले वार्षिक रु.१० लाख दिने गरी क्लबसँग सम्झौता गरेको छ। अब कम्तीमा पाँच वर्ष मछिन्द्रसँग 'एनएमबी' जोडिने छ। क्लबका अध्यक्ष जिवेन्द्रलाल कर्माचार्यले दोस्रो वर्षदेखि प्रायोजनको रकम बढ्दै जाने सम्झौता भएको जानकारी दिए।  
 
प्रायोजन, चन्दा र शुभचिन्तकको सहयोग मुख्य आयस्रोत भएको बताउने कर्माचार्य लिगमा राम्रो नतिजा ल्याउन सके जितेको रकमले क्लबको आर्थिक आधार बलियो हुने विश्वासमा छन्। फूटबल विकासका लागि क्लबहरूलाई लिगको तयारीमा एन्फाले दिने रकममा वृद्धि तथा खेल मैदानको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
 
सन्त गाहा मगर  
comments powered by Disqus

रमझम