१-१५ पुस २०६९ | 16-30 December 2012

महिलाका दारुण कथा

Share:
  
p60
 
 

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था 'साथी' लेे हिंसा पीडित महिलाहरूको कथाव्यथा समेटिएको वृत्तचित्र 'स्टोरी टेलिङ्क' प्रदर्शन गर्‍यो।  

२० मंसीरमा राजधानीमा प्रदर्शित वृत्तचित्रमा वैदेशिक रोजगारमा जाँदा महिलाले भोगेका समस्या, अन्तरजातीय विवाहका कारण भएको समस्या, दाइजो र चारित्रिक लाञ्छना लगाएर गरिने हिंसाका विभिन्न पाटाहरू समेटिएका छन्।  
 
वृत्तचित्रमा आफ्नो घरमा काम गर्ने केटासँग प्रेमविवाह गरेकी कल्पनालाई माईती पक्षले फर्काएर घर ल्याई अर्को बिहे गरिदिन्छन्। तर, आफूसँग दोस्रो बिहे गरेको थाहा पाएपछि बच्चा जन्माइसकेकी उनलाई श्रीमानले कुटपिट गरेर घरबाट निकालिदिन्छन्। छोरो आफूसँग राख्ने कानूनी अधिकार पाएकी कल्पना अहिले 'साथी' कै शिविरमा सिलाइ–कटाइ सिकिरहेकी छन्।  
 
त्यस्तै, बालविवाहको शिकार भएकी लक्ष्मीलाई दाइजो नल्याएको भन्दै परिवारले मट्टीतेल छर्केर आगो लगाइदिए। वैदेशिक रोजगारबाट फर्केकी राधा घरमालिककै बलात्कारमा परेर ८ महीनाको गर्भवती छिन्। बलात्कारीलाई सिसाले हानेको अभियोगमा पाँच महीना जेल परेकी उनले नेपाली दूतावासबाट समेत राम्रो सहयोग पाइनन्।  
 
वृत्तचित्रमा समेटिएका यस्ता आठ महिला हिंसाका कथा प्रतिनिधि मात्र भएको 'साथी'की अध्यक्ष वन्दना राणा बताउँछिन्। “नेपालमा हरेक तीन महिलामा एक जना कुनै न कुनै खाले हिंसामा परेका छन्”, राणा भन्छिन्, “हामी ती सबैलाई बाहिर ल्याउन चाहन्छौं।”
 
मीना शर्मा  
comments powered by Disqus

रमझम