तस्बीर: ऋषिराम कट्टेल
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट ट्राफिक प्रहरी महाशाखामा सरुवा भएलगत्तै मापसे चेकिङ गर्ने प्रहरीले पालना गर्नुपर्ने निर्देशिका जारी गरेका डीआईजी उपेन्द्रकान्त अर्याल भन्छन्, “मापसे गरेर सवारी चलाउनेको संख्या घट्यो तर चेतना स्थापित भइसकेको छैन।”
मापसे चेकिङ शुरू भएको एक वर्षभन्दा बढी भयो, परिणाम कस्तो छ?
चेकिङ शुरू भएयता दुर्घटना त घटेको छ नै, मदिरा पिएर सवारी चलाउनुहुँदैन भन्ने चेतना पनि बढ्दैछ। हामीले यो अभियान शुरू गर्दा चेकिङमा परेकामध्ये पाँच प्रतिशतले मदिरा पिएको पाइएकोमा अहिले त्यो २.५ प्रतिशतमा झ्रेको छ। अर्थात् मापसे गरेर सवारी चलाउनेको संख्या ५० प्रतिशत घटेको छ।
निर्देशिका नै ल्याउनुभयो नि?
अभियान प्रभावकारी हुँदै गएपछि ट्राफिक प्रहरीको जिम्मेवारी पनि बढ्यो। चेकिङमा बसेका प्रहरीहरूको व्यवहारलाई लिएर भएका आलोचना हटाउन निर्देशिका ल्याइएको हो। यसमा आदरणार्थी शब्द प्रयोग गर्नुपर्ने, अनावश्यक प्रश्न सोध्न नपाइने, परैबाट रोक्न संकेत गर्नुपर्ने लगायतका कुरा छन्।
ठूलै अपराधमा जस्तो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन किन गर्नु पर्यो?
पोशाक लगाएका ट्राफिक प्रहरी देख्दा नियम पालना गर्ने तर प्रहरी नदेखेपछि नियम मिचिहाल्ने प्रवृत्ति रोक्न यस्तो गर्नु परेको हो। यसरी ट्राफिक प्रहरी जहाँ पनि छ भन्ने सन्देश दिंदा राम्रै परिणाम दिएको छ।
रेडबुल, चक्लेट खाएकाहरू पनि समातिएर प्रताडित हुनुपरेको आरोप छ, समाधान के?
मेशिनले अल्कोहल देखाइसकेपछि कानूनतः हामी केही मोलाहिजा गर्न नसक्ने अवस्थामा हुन्छौं। तर, चक्लेट वा रेडबुल खाएकाहरू पनि कारबाहीमा परे भन्ने गुनासामा सत्यता भएकाले अस्पतालमा परीक्षण गर्ने व्यवस्था गरेका छौं।
ट्राफिक नियम पालन गर्नुपर्छ भन्ने चेतना किन स्थापित हुन सकेन?
सडकमा लगाइने नियम ट्राफिक प्रहरीका लागि हो भन्ने नितान्त गलत बुझाइ छ। सडकका नियम चालक, यात्रु र पैदल हिंड्नेकै लागि हो भन्ने बुझनुपर्छ। नियम पालना नगर्दा प्रहरीलाई होइन, सडक प्रयोगकर्तालाई हानि हुन्छ।