तीन वर्षअघि घरेलु कामदार बनेर साउदी अरब पुगेकी सीता (नाम परिवर्तन गरिएको) लाई दलालले अर्कैको राहदानी र टिकटमा अरब पठाएका थिए। दुई महीनाअघि काठमाडौं फर्कंदा उनलाई जाली राहदानी प्रयोग गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले समात्यो। २० वर्षकी सीताले त्यसपछि साउदीका निष्ठुर मालिकहरूको भन्दा चर्को ज्यादती नेपाली अध्यागमन र प्रहरीको सहनु पर्यो।
अध्यागमनमा जेल हाल्ने र परिवारको बेइज्जत गरिदिने धम्की दिइएपछि सीताले आफ्नो सही पहिचान खोलेकी थिइन्। कालिकास्थानस्थित अध्यागमन कार्यालयमा सोधपुछ हुँदा प्रहरी जवान परशुराम बस्नेतले सीताले विदेशबाट जोगाएर ल्याएको पैसाको केही भाग दिए छुटाउन सहयोग गर्ने वचन दिए। सीताले नमानेपछि झ्ोला खोसेर माथिका हाकिमहरूलाई खुवाउनुपर्छ भन्दै ८ हजार ५०० रियाल (करीब रु.२ लाख) लिए। त्यसपछि अध्यागमनका कर्मचारी सोमनाथ खनालले खाली कागजमा सही गराएर यसबारे कसैलाई भने थुनिदिने धम्की दिए।
बस्नेतले असल प्रहरी जस्तो बनेर सीताको लागि भोजपुरको टिकट काटिदिए, उनलाई पुरानो बसपार्कको बस्नेत लजमा लिएर गए र रातभर पटक–पटक बलात्कार गरे। “गुहार माग्दै चिच्याउँदा घाँटी अँठ्याएर मार्न खोजे”, सीता भन्छिन्, “बिहान हेर्दा पर्स खुल्लै थियो र बचेखुचेको एक हजार रियाल पनि थिएन।” त्यसपछि बस्नेतले भोजपुर जाने बसमा चढाएर आफ्नो सम्पर्क नम्बर दिए, र महीनाभरि आफूसँग बिहे गर्न कर गर्दै फोन गरिरहे।
आफैं लज्जित भएर घटनाबारे कसैलाई केही नभनेकी सीताले एक दिन बहिनीलाई सबै कुरा सुनाउँदा परिवारले थाहा पायो, र १ पुसमा बस्नेत र खनालविरुद्ध उजुरी गर्यो। सीताका बाबु भन्छन्, “पैसा फिर्ता नपाए नपाइयोस्, तर मेरी छोरीले न्याय पाउनुपर्छ।” गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले अध्यागमन विभागका रामप्रसाद कोइराला, टीका पोखरेल, सोमनाथ खनाल र परशुराम बस्नेतले लुटपाट गरेको ठहर्याएको छ। अध्यागमनका अधिकारीहरू दुई महीनाका लागि निलम्बित भएका छन् भने बस्नेत थुनामा छन्। मन्त्रिपरिषद्ले सीतालाई रु.१ लाख ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ।
गृहसचिवले घटनाका दोषीहरूमाथि निजामती सेवा ऐनअनुसार कारबाही हुने बताएका छन्, तर परिवार फौजदारी अभियोगमा कारबाही होस् भन्ने चाहन्छ। सीताले भर्खरै आफू गर्भवती भएको पनि थाहा पाएकी छन् र उनी त्यो बच्चा राख्न चाहन्नन्। बालाजुस्थित दाइ (फुपूको छोरा) को भाडाको कोठामा भेट्दा उनले भनिन्, “ममाथि जे गरे त्यसका लागि उनीहरूमाथि कडा कारबाही होस् भन्ने चाहन्छु।”
पाँच वर्षअघि भोजपुरबाट पोखराको एउटा रेस्टुरेन्टमा काम गर्न पुगेकी सीतालाई दलालले विमला केसीको नाउँको राहदानी भिराएर दिल्ली हुँदै साउदी अरब पठाएका थिए। साउदीमा पनि उनीमाथि ज्यादती भएको थियो। “काम गर्न बसेको घरका मान्छेहरूले जनावरसरह व्यवहार गरेका थिए”, सीता भन्छिन्, “घर मालिक मात्रै होइन केटाकेटीहरू समेत निर्दयी भएर पिट्थे।” एक पटक मालिकले बलात्कार गर्न खोजेपछि भागेर अर्को घरमा काम गर्न पुग्दा त्यहाँका मालिक केही दयालु भेटिए। र, तीन वर्ष त्यहाँ काम गरेर राम्रै कमाइ गरी नेपाल फर्कने निधो गरेकी थिइन्।
बालाजुमा चियापसल गरेर बसेका दाइले बस्नेतलाई समातेर प्रहरीलाई नबुझाएको भए संभवतः यो मामिला बिर्सिइने थियो। बस्नेतले भने सीतालाई पटक–पटक पैसा फिर्ता गर्ने लोभ देखाउँदै उजुरी नगर्न भनेका थिए। सीता अहिले आफ्नै खुट्टामा उभिन र न्याय पाउन सल्लाह तथा सहयोगको खोजीमा छिन्।
भृकुटी राई