१६-२२ वैशाख २०७५ | 29 Apr- 5 May 2018

“विदेशी विद्यार्थी ल्याउन असम्भव छैन”

Share:
  

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का नवनिर्वाचित अध्यक्ष विष्णुहरि पाण्डे भन्छन्, “नेपाल विदेशी विद्यार्थी अध्ययन गर्न आउने मुलुक बन्न सक्छ।”

नेतृत्वमा पुगेपछि नयाँ के गर्ने सोच्नुभएको छ ?

पहिलेका राम्रा कामलाई निरन्तरता दिंदै नयाँ योजना बनाएको छु । इक्यानका सदस्यहरूको क्षमता अभिवृद्धि, नैतिकतापूर्ण व्यवसाय, शिक्षा मन्त्रालयसँग जोडिएका समस्याको समाधानलगायतका योजना तत्काल कार्यान्वयनमा जानेछन् । विदेश पढ्न जाने विद्यार्थीबाट प्राप्त कर उनीहरूकै हितमा लगाउन पहल गर्दैछु । इक्यानलाई स्मार्ट बनाउन प्रविधिको अधिकतम प्रयोग र आफ्नै भौतिक संरचना निर्माण पनि मेरो प्राथमिकताका विषय हुन् ।

शैक्षिक परामर्शको क्षेत्रमा थुप्रै अनियमितता देखिन्छन्, यसलाई नियन्त्रण गर्ने कुनै योजना छैन ?

शैक्षिक परामर्श दाता संघ/संस्थाहरूको छाता संगठन भएकाले यसको नीति र गतिविधिले सदस्यहरूमा प्रभाव पार्छ नै । थुप्रै राम्रा हुँदाहुँदै पनि यो क्षेत्रमा रहेका केही अनियमितता र समस्याको पहिचान गर्दै यो क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने छु ।

इक्यानको सदस्यता नलिएर पनि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने थुप्रै संस्था छन् नि !

सबै सदस्यहरूमा समान रूपले लागू हुने हाम्रो नीति, आचारसंहिता र विधान भित्र चल्न नचाहेर कोही कोही बाहिर बसेका हुनसक्छन् । तत्कालका लागि इक्यानको सदस्य नहुँदा केही फाइदा होला तर, दीर्घकालीन फाइदा भने सदस्य हुँदा नै हुन्छ । उनीहरूका समस्या बुझेर इक्यानभित्र ल्याउन मेरो पहल हुनेछ ।

देशमै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर पाइने अवस्था आयो भने तपाईंहरूकोे व्यवसायमा मन्दी आउला नि, है ?

वैश्वीकरणको यो समयमा त्यस्तो अवस्था आउँछ जस्तो लाग्दैन । यहाँका शैक्षिक संस्था राम्रा भए र रोजगारीको अवसरमा वृद्धि भयो भने विदेशबाट आउने विद्यार्थीलाई ल्याउने पनि इक्यानले नै हो । भोलिका दिनमा विद्यार्थी एकोहोरो बाहिरिने मात्र नभई भित्रिने क्रम पनि चल्छ ।

विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपाल ल्याउन सम्भव छ ?

पाठ्यक्रममा सुधार, व्यवस्थित परीक्षा प्रणाली र उपयुक्त भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने असम्भव छैन । यहाँ अध्ययन अनुसन्धानका लागि प्रचुर सम्भावना छन् । नेपालको विविधता, प्राकृतिक स्रोत, बुद्धिज्म, संस्कृति पनि अध्ययनका थप विषय हुन् । शैक्षिक क्षेत्रमा औचित्यपूर्ण लगानी र थप सुधार भने जरुरी छ ।

comments powered by Disqus

रमझम