२३-२९ वैशाख २०७५ | 6-12 May 2018

‘तालको महत्व बुझाउनै सकिएन’

Share:
  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको राष्ट्रिय ताल संरक्षण विकास समितिको आयोजनामा आगामी २८–३० वैशाखमा पोखरामा हुने अन्तर्राष्ट्रिय ताल सम्मेलनबारे समितिका कार्यकारी निर्देशक लंकबहादुर शाही भन्छन्, “ताल संरक्षणमा समुदाय सक्रिय हुनुको विकल्प छैन।”

सम्मेलन गर्नुको उद्देश्य के हो ?

नेपालमा जैविक विविधताका साथै धार्मिक, पर्यटकीय लगायत महत्व बोकेका तालहरू छन् । तर, यहाँका तालको महत्व र विशेषताबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सकिएको छैन । तालहरूको दिगो उपयोगबारे हामीले पनि आवश्यक ज्ञान हासिल गर्न सकिरहेका छैनौं । देशी तथा विदेशी गरी २५० जनाको सहभागिता हुने सम्मेलनमा यही अनुभव र ज्ञान आदानप्रदान हुनेछ ।

हाम्रा तालको अवस्था कस्तो छ ?

हामीले चार वर्ष अघि गरेको अध्ययनमा नेपालमा साना ठूला गरी ५ हजार ३५८ ताल छन् । तीमध्ये कतिपय हिमताल छन् । हाम्रो पहुँच हिमतालसम्म पुग्न सकेको छैन । कति तालहरू सुकिसकेका छन् । ताल संरक्षणका लागि स्रोतसाधनको अभाव छ । ताल संरक्षणका फाइदाबारे स्थानीय समुदायले बुझेका छैनन्, हामीले बुझाउन पनि सकेका छैनौं ।

ताल संरक्षणबाट के फाइदा हुन्छ त ?

ताल जैविक विविधताको भण्डार हो । यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मानव जीवनकै अस्तित्व जोगाउन सहयोग पुर्‍याइरहेको हुन्छ । सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण भएकाले तालबाट पर्यटकीय विकासको सम्भावना पनि छ । त्यसैले पनि ताल संरक्षण गर्नु आवश्यक छ ।

लगातार तालको संख्या घट्दै जानु, मानव अतिक्रमण बढ्नुमा को जिम्मेवार छ ?

ताल संरक्षण बाहिरका मानिसले होइन, स्थानीय समुदायले नै गर्नुपर्दछ । अहिले त सबै अधिकार स्थानीय सरकारमै प्रत्यायोजन भइसकेको छ । समुदायको सहभागितामा स्थानीय सरकारले ताल संरक्षण र उपयोगमा विशेष ध्यान दिनुपर्छ ।

ताल संरक्षणमा सरकारले चाहिं के गरिरहेको छ ?

तालबारे अध्ययन, अनुसन्धान गरिरहेका हौं । अहिलेको अन्तर्राष्ट्रिय सम्मेलन पनि त्यसैको अंश हो । संरक्षणमा हामी समन्वयकारी भूमिका निर्वाह गरिरहेका छौं ।

comments powered by Disqus

रमझम