२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

‘राष्ट्रिय आवश्यकताका आधारमा पाठ्यक्रम परिवर्तन’

Share:
  

कक्षा ११ र १२ को शिक्षामा नयाँ विषय टुंगो लगाइएको बारे पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्री भन्छन्, “पाठ्यक्रम बनाइएलगत्तौ यो व्यवस्था लागू हुनेछ।”

स्वीकृत पाठ्यक्रमको संरचनामा नयाँ के–के विषय छन् ?

पढाइ हुने समय बढेको छ । जस्तो, अब ३६५ दिनमा १,०२४ घण्टासम्म पढाइ हुन्छ । नेपाली, सामाजिक, अंग्रेजी र जीवनोपयोगी विषय अनिवार्य बनाइएको छ । जीवनोपयोगी विषय तयार पारिएको छ । कक्षा ११ र १२ मा वर्षमा ६४ घण्टा अनिवार्य पढाइ हुने गरी सूचना र प्रविधि विषय पनि समावेश गरिएको छ । तीन वटा ऐच्छिक विषय पनि राखिएको छ ।

पाठ्यक्रम परिमार्जनको आवश्यकता किन पर्‍यो ?

मुलुकको नयाँ संविधानले निर्देशित गरेको विषय, कक्षा १२ सम्म विद्यालय शिक्षा घोषणा भएको अवस्था, अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय आवश्यकताको आधारमा कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्न लागेका हौं ।

परिवर्तित पाठ्यक्रम अनुसार शिक्षक, पुस्तक र पूर्वाधार तयार भइसकेका छन् त ?

पढाइ हुने समय बढेकाले शिक्षक व्यवस्थापन गर्नुपर्ने हुन्छ । पूर्वाधार व्यवस्थापनको काम पनि बाँकी छ । शिक्षा विभाग लगायतका निकायले शिक्षक र पूर्वाधार व्यवस्थापनको काम गर्नेछन् । कक्षा ११ र १२ मा कुल १६० भन्दा बढी विषयका पाठ्यपुस्तक छन् । अहिले हामी नयाँ पाठ्यक्रम बनाउने क्रममा छौं । यो विषय टुंगिएपछि पहिलो चरणमा अनिवार्य र दोस्रो चरणमा ऐच्छिक विषयको पाठ्यपुस्तक छपाइको काम शुरु हुन्छ ।

कक्षा १२ सम्म माध्यमिक तह भनिए पनि कक्षा ११ र १२ मा गणितलाई अनिवार्य किन बनाइएन ?

कक्षा १० सम्मको अनिवार्य अध्ययनबाटै विद्यार्थीले आधारभूत ज्ञान पाउने भएकाले छलफलबाटै यसो गरिएको हो । तर रुचि भएकाले ऐच्छिक विषयको रुपमा गणित पढ्न पाउँछन् ।

नयाँ पाठ्यक्रम कहिलेदेखि लागू हुन्छ ?

कक्षा १० को नयाँ पाठ्यक्रम अनुसार पढाइ शुरु भइसकेको छ । कक्षा ११ र १२ का लागि नयाँ विषय अनुसार पाठ्यक्रम बनाउने काम भइरहेको छ । सबै टुंगिएपछि सरकारी निर्णयका आधारमा नयाँ पाठ्यक्रम लागू हुनेछ ।

comments powered by Disqus

रमझम