३-९ असार २०७५ | 17-23 June 2018

‘हामीले जे गरिराखेका छौं, यसरी समृद्घि आउँदैन’

Share:
  

लेखकको परिचय बनाइसकेका पत्रकार मोहन मैनाली प्रशिक्षक पनि हुन्। फिचर लेखनमा दक्खल राख्ने उनको तेस्रो कृति मैले देखेको देश बजारमा आएको छ। यसअघि उपल्लो थलो (२०६९) र मान्ठा डराएको जुग (२०७१) बाट प्रशंसा बटुलेका मैनाली भन्छन्, “यथेष्ट मात्रामा सही सूचना संकलन भएको छ भने नराम्रो लेखौं भन्दा पनि राम्रै हुन्छ।”

देशभित्र के के देख्नुभयो र देखेको देश लेख्न प्रेरित हुनुभयो ?

पुस्तकमा मैले आफूले देखेका, आफूसँग भएका र आम मान्छेलाई काम लाग्ने जानकारी दिएको छु । नेपालको भौगोलिक परिवेशदेखि वातावरण, विकास र समाजका कुरा छन् । समृद्धिमा जान हामीलाई के–केले अवरोध र सहयोग गरेका छन् भन्ने पनि छ । पुस्तकमा पत्रकारिता छ, पुस्तक छ र आफ्नाबारे पनि लेखेर टुंग्याएको छु ।

अहिले त देशमा समृद्धिकै नारा घन्किएको छ नि !

हामीले जे गरिराखेका छौं, यसरी त समृद्धि आउँदैन । गाउँ मासिराखेका छौं, शहर पनि बिगारिरहेका छौं । समृद्धिको भूतले त्यसको मूल आधार वातावरण विनाश गरिरहेको छ ।

पत्रकारिता, वृत्तचित्र र किताबमध्ये कुन माध्यम बढी प्रभावकारी हुने रहेछ ?

पत्रकारिताबाट निश्चित विषयमा समस्याको यौटा पाटो मात्र देखाउन सकिन्छ, त्यसले बृहत् आयाम समेट्न सक्दैन । वृत्तचित्रमा संवेग र भावनासँग सम्बन्धित कुरा सम्प्रेषण गर्न सहज हुन्छ । पुस्तकमा चाहिं अलि बढी गहिरिएर, विभिन्न पाटालाई व्यापक रुपमा छिचोल्न सकिन्छ ।

तपाईं आख्यान लेख्दिनँ भन्नुहुन्छ, गैर–आख्यानमा के महत्वपूर्ण हुन्छ ?

गैर–आख्यानमा जे लेखिने हो त्यसबारे अरुले भन्दा बढी जानकारी राख्नुपर्छ । अर्थात् आफैं अवलोकन र धेरै सूचना संकलन गर्ने । प्रस्तुतिको कुरा दोस्रो हो । सूचना राम्रो र धेरै संकलन भएको छ भने नराम्रो लेखौं भन्दा पनि राम्रै हुन्छ । पाठकमा कौतूहल जगाउने, सलल बगेको भाषा जस्ता आख्यान लेखनका राम्रा तरिका जे–जे हुन्छन् ती पनि अपनाउनुपर्छ । म चाहिं जटिललाई सजिलो र सजिलोलाई अझ सजिलो बनाएर लेख्ने गर्छु ।

अबको योजना के छ ?

पूर्वी पहाडको एउटा यात्रा संस्मरण लेख्ने तयारीमा छु । दुई वर्ष त लाग्ला ।

comments powered by Disqus

रमझम