१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

‘आहारा बाघ संरक्षणका लागि चुनौती हो’

Share:
  

सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने सरकारको प्रतिबद्घता छ। यो प्रतिबद्घता कार्यान्वयनमा मुख्य जिम्मेवार वन मन्त्रालयको जैविक विविधता महाशाखा प्रमुख महेश्वर ढकाल भन्छन्, “निर्धारित मितिसम्म बाघको संख्या दोब्बर हुनेमा विश्वस्त छौं।”

बाघ हाम्रा लागि किन यति महत्वपूर्ण ?

बाघ हाम्रो पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) को महत्वपूर्ण भाग होे । इकोसिस्टमको मुख्य भाग नासिने वित्तिकै त्यसको असर समग्र प्रणालीमा पर्छ । अरु धेरै प्रजाति लोप हुन्छन् । विभिन्न प्रकारका रोगव्याधी तथा प्रकोपहरू निम्तिन्छन् र त्यसले मानव जीवनमै चुनौती थप्छ । त्यसैले बाघको संरक्षण मानिसकै लागि जरुरी छ । संरक्षणका लागि संख्या बढाउनै पर्छ ।

बाघको संख्या दोब्बर नै बनाउनुपर्ने खास कारण छ ?

दुर्लभ र लोपोन्मुख वन्यजन्तु हो बाघ । यसलाई विशेष संरक्षण नगर्ने हो भने पृथ्वीबाटै लोप हुने खतरा छ । सन् २०१० मा नेपाल सहित बाघ पाइने १३ देशका राष्ट्रप्रमुख सहभागी सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने सहमति भएको थियो । सोही प्रतिबद्धता पूरा गर्न पनि बाघको संख्या दोब्बर पुर्‍याउने प्रयास भइरहेको छ  ।

सन् २०२२ सम्म प्रतिबद्धता पूरा होला त ?

हामीले विश्व बाघ दिवसको अवसर पारेर बाघको संख्या घोषणा गर्ने पूर्व योजना बनाएका थियौं । तर, तथ्यांक विश्लेषण गर्ने काम नसकिएकाले घोषणा गर्न सकेनौं । सन् २०१० मा नेपालमा १२१ बाघ रहेकोमा सन् २०१३ मा योे संख्या १९८ पुगेको थियो । सन् २०१० को संख्यालाई दोब्बर बनाउने भनिएकाले लक्ष्य सजिलै पूरा गर्न सक्छौं भन्ने विश्वास छ ।

बाघ संरक्षणका चुनौती के के हुन् ?

बाघ संरक्षणमा थुप्रै चुनौती छन् । वासस्थानको खण्डीकरण, संकुचन, मानव र बाघबीचको द्वन्द्व, चोरी शिकारी र अवैध व्यापार तथा रोगव्याधी जस्ता चुनौती एकातिर छन् भने अर्कोतिर यसको आहारा प्रजातिमा आएको कमी पनि बाघ संरक्षणमा चुनौती भएको छ ।

चुनौतीबाट कसरी पार पाउने त ?

राष्ट्रिय निकुञ्ज तथा तराईका जंगलहरू बाघका लागि राम्रा बासस्थान हुन् । इकोसिस्टममा सुधार, पर्याप्त आहारको व्यवस्था, जनताको जीवनस्तरमा सुधार र कानूनको प्रभावकारी कार्यान्वयनबाट नै चुनौतीबाट पार पाउन सकिन्छ । यी सबै व्यवस्था हुनसके बाघको संख्या दोब्बर हुँदा पनि वासस्थानको समस्या हुँदैन ।

comments powered by Disqus

रमझम