२७ साउन - २ भदौ २०७५ | 12-18 August 2018

‘स्वदेशमै रोजगारी नहुँदा महिला खाडी मुलुक जान रोकिएनन्’

Share:
  

सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाए पनि अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीपकुमार चापागाईं भन्छन्, “स्वदेशमा रोजगारीका अवसर नहुँदा यो समस्या देखिएको हो।”

महिलाहरू अवैध रूपमा खाडी मुलुक गइरहेका छन्, रोक्न किन नसकिएको ?

संस्थागत रुपमा बाहेक महिलाहरूलाई घरेलु कामदारका रुपमा नेपालबाट खाडी मुलुक जान प्रतिबन्ध लगाइएको छ । जसका कारण दलालहरूको प्रलोभनमा परी नेपाल बाहेकका बाटो भएर महिलाहरू खाडी मुलुक गइरहेका छन् ।

नेपालबाट जान प्रतिबन्ध लगाउनुको कारण ?

व्यक्तिगत रुपमा घरेलु कामका लागि जानेहरूमाथि शोषण हुने, विभिन्न समस्या आइपर्ने र जोखिम भएका कारण रोक लगाइएको हो । हामीले संस्थागत रुपमा कम्पनीमा जाने महिलाहरूलाई अहिले पनि पठाइरहेका छौं ।

प्रतिबन्ध प्रभावकारी हुन किन सकेन ?

नेपाली महिलाहरूले दुःख नपाउन् भनेर हामीले प्रयास गरे पनि मानसिकतामा परिवर्तन आउन नसक्दा जाने क्रम रोकिएको छैन । राम्रो काम पाइन्छ, पैसा पनि टन्न हुन्छ भनेपछि विश्वास गरिहाल्ने बानी छ । प्रलोभनमा परेर अवैध रुपमा जाने अनि दुःख पाएपछि सरकारले केही गरेन भनेर हामीमाथि नै दोष थोपर्ने प्रवृत्ति छ ।

नेपालबाट जान रोकिए पनि भारतको बाटो हुँदै जाने गरेको देखिन्छ । यहाँ प्रतिबन्ध लगाउनुको अर्थ के भयो र ?

हामीले त सम्भावित जोखिमबारे जानकारी दिने हो । त्यसका लागि नगरपालिका, गाउँपालिका तहसम्म पनि प्रचारप्रसार र सचेतनाको काम गरेका छौं । यति गर्दागर्दै पनि उनीहरू जोखिम मोलेर जान्छन् भने अब कति गर्ने ? सकेसम्म त हामीले रोक्ने प्रयास गरेकै छौं ।

यो समस्या समाधानका लागि के गर्नुपर्ला ?

नेपालमा रोजगारीको पर्याप्त अवसर नभएर नै यसरी जोखिम मोलेर वैदेशिक रोजगारीमा जाने गरेका छन् । हामीले प्रशस्त मात्रामा स्वदेशमै रोजगारी सिर्जना गर्न सक्यौं भने वैध वा अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम रोकिन्छ र अहिलेको समस्या पनि समाधान हुन्छ ।

comments powered by Disqus

रमझम