२४-३० भदौ २०७५ | 9-15 September 2018

‘साझा मुद्दा उठानका लागि नगरपालिका संघ’

Share:
  

हालै सम्पन्न अधिवेशनबाट नगरपालिकाहरूको छाता संगठन ‘नेपाल नगरपालिका संघ’ को अध्यक्षमा निर्वाचित अशोककुमार व्याञ्जु श्रेष्ठ भन्छन्, “नगरपालिकाहरू शासकीय थलो मात्र होइनन्।”

नेपाल नगरपालिका संघ आवश्यक छ ?

स्थानीय सरकारका मुद्दा र काम–कारबाहीबारे छलफल गर्न, एक–अर्काबाट सिक्न संघ आवश्यक छ । जस्तोः नगरपालिकाले गर्ने अधिकारको अभ्यास, कुनै नगरपालिकाको उदाहरणीय काम, कुनै नगरपालिकाभित्र असफल भएको योजना आदिबारे समीक्षा गरी अनुभव आदान–प्रदान गर्न पनि संघ आवश्यक छ ।

नगरपालिकालाई आफ्नो काम गर्न कसैले रोकेको छ र !

संघलाई त्यसरी बुझ्नु नै गलत हो । त्यसो भए संयुक्त राष्ट्रसंघ किन आवश्यक पर्‍यो ? सबै देश स्वतन्त्र र सार्वभौम छँदै छन् । अनुभवहरूको आदान–प्रदान, साझा मुद्दाहरूको उठान लगायत स्थानीय सरकारसँग सम्बन्धित काम गर्न संघ आवश्यक छ ।

संघले के काम गर्छ ?

यसले नेपाल सरकारसँग सम्बन्ध विस्तार गर्छ । त्यस्तै, जनप्रतिनिधिलाई सशक्तीकरण र जनताका साझा समस्याको पहिचान गरी समाधानका लागि छलफल गर्छ । छलफलबाट आएका निष्कर्ष केन्द्र सरकारसम्म पुर्‍याउँछ । नगरपालिकाहरूबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आदान–प्रदान गर्छ ।

यत्तिका लागि संघ नै किन ?

हामी हुर्केपछि हामीलाई हुर्काउने बाबु चाहिंदैन र ? संघ भनेको हाम्रो अभिभावक हो । यस्ता संघ विश्वका अन्य मुलुकमा पनि छन् । नेपालमा पनि विगत २५ वर्षदेखि संघको अस्तित्व कायम रहेको छ । विश्वका अन्य देशमा गरिएका राम्रा कामका अनुभवहरूलाई हामीले नेपालमा पनि लागू गर्ने प्रयास गरेका छौं ।

नगरपालिकाहरूमा अहिले कस्ता समस्या छन् ?

नगरपालिकाहरूमा अहिलेसम्म कर्मचारी समायोजन हुनसकेको छैन, कर्मचारीको अभाव छ । त्यस्तै, स्थानीय सरकारसँग जोडिएको १५ वटा साझा सूचीको अधिकारबारे अहिलेसम्म टुंगो लाग्न सकेको छैन । नगरपालिकाहरू शासकीय थलो मात्र होइनन्, यो विकासको थलो पनि हो । हामीले बुझ्नु र बुझाउनुपर्ने धेरै विषय बाँकी छन् ।

comments powered by Disqus

रमझम