२३-२९ मंसिर २०७५ | 9-15 December 2018

‘स्थानीय सरकारहरू सक्षम भइसकेका छैनन्’

Share:
  

संविधानले स्थानीय सरकार मातहत राखेको माध्यमिक शिक्षालाई संघीय सरकारअन्तर्गत राख्न माग गर्दै आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा भन्छन्, “शिक्षालाई स्थानीय तहले धान्न सक्दैन।”

तपाईंहरूको आन्दोलन केका लागि ?

अहिले हामी ३२ बुँदे मागसहित आन्दोलनमा छौं । यी मागहरू शैक्षिक सुधार र शिक्षकको वृत्ति–विकाससँग सम्बन्धित छन् । वृत्ति–विकाससँग जोडिएका माग विगतमा भएका सम्झौताको कार्यान्वयन गरे पूरा हुन्छ । त्यस्तै शैक्षिक सुधारसँग सम्बन्धित अन्य मागहरू पनि छन् ।

शिक्षालाई स्थानीय सरकार मातहत राख्दा चाहिं किन आपत्ति ?

शिक्षा स्थानीय सरकार मातहत नभई संघअन्तर्गत नै हुनुपर्छ भन्ने हाम्रो माग छ । विद्यालय शिक्षालाई स्थानीय तहले धान्न सक्दैनन् । स्थानीय सरकारहरूसँग स्रोत–साधन छैन । त्यसले गर्दा शिक्षाको गुणस्तर झन् खस्किन्छ । शिक्षाको गुणस्तरलाई कायम राख्न पनि संघअन्तर्गत राख्नुपर्दछ भन्ने हाम्रो माग हो ।

संविधान र संघीयताको मर्म विपरीतको कुरा भएन र यो ?

सुधार गर्ने विषयलाई संघीयतासँग जोडेर हुँदैन । हामी सबैको उद्देश्य मुलुकको शिक्षा अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ, शिक्षामा सबैको पहुँच हुनुपर्छ भन्ने नै हो । त्यसका लागि स्थानीय सरकारहरू सक्षम भइसकेका छैनन् ।

शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकहरूमाथि आरोप लागिरहेको छ, यस्तोमा तपाईंहरूले उठाएको विषयलाई कसरी विश्वास गर्ने ?

यो हामीमाथि लगाइएको आरोप मात्र हो । शिक्षामा सुधारका लागि कामै नगर्ने सरकारले शिक्षकका कारण गुणस्तर खस्कियो भन्न मिल्दैन । सरकारले शिक्षामा कति लगानी गरेको छ ? त्यसबाट पनि थाहा हुन्छ दोष कसको भन्ने ।

उसो भए सरकारले के गर्नुपर्‍यो ?

अहिले पनि ५७ हजार शिक्षकको दरबन्दी खाली छ । दरबन्दी अनुसार शिक्षकको नियुक्ति गर्नुपर्‍यो । समग्र बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनु पर्‍यो । शिक्षा आयोगलाई संवैधानिक आयोग बनाउनु पर्‍यो ।

comments powered by Disqus

रमझम