२९ पुस - ५ माघ २०७५ | 13-19 January 2019

‘सहुलियत ऋण कार्यक्रमले स्वदेशमै काम गर्न उत्प्रेरित गर्छ’

Share:
  

विदेशबाट फर्केका कामदारहरुको विवरण संकलन गरिरहेको वैदेशिक रोजगार प्रवद्र्घन बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ भन्छन्, “विदेशमा काम गरेर फर्केका कामदारले स्वदेशमा व्यवसाय गर्न अधिकतम रु. १० लाखसम्म ऋण पाउँछन्।”

युवालाई सहुलियत ऋण दिने भनिएको छ, यो कस्तो कार्यक्रम हो ?

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै व्यवसाय गर्नका लागि सहुलियतपूर्ण ऋण दिन थालेको हो । मन्त्रिपरिषद्ले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । त्यसै अनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्केकाहरुको सूची तयार पार्ने काम २० पुसदेखि थालेको छ ।

यो ऋण क–कसले पाउँछन् ?

कम्तीमा ६ महीना र अधिकतम तीन वर्ष विदेशमा काम गरेर फर्केका कामदारले अधिकतम रु.१० लाखसम्म ऋण पाउँछन् । बोर्डले उनीहरुको सीप र गर्न चाहेको व्यवसायबारेको विवरण समेत संकलन गरिरहेको छ । संकलित विवरण अर्थ मन्त्रालयमार्फत वाणिज्य ब्याङ्कमा पठाइनेछ । त्यसपछि कामदारले वाणिज्य ब्याङ्कमा गएर ऋण लिन सक्छन् । तर, कुनै विदेशी मुलुकमा स्थायी बसोबासको स्वीकृति पाएका व्यक्ति भने यो कार्यक्रममा पर्दैनन् ।

यसको प्रक्रिया के हो ?

ऋण लिन बोर्डको सचिवालयको वेबसाइटमार्फत फारम भरेर अनलाइन निवेदन दिन सकिन्छ । नागरिकताको प्रमाणपत्र, वैदेशिक रोजगारीबाट फर्केको मिति खुल्ने पासपोर्ट र वैदेशिक रोजगारीमा रहँदा काम गरेको प्रमाणपत्रको प्रतिलिपिसहित बोर्डको सचिवालय वा ब्याङ्कमा सम्पर्क गर्नुपर्नेछ ।

ऋण लिएकाले कस्तो व्यवसाय गर्न पाउँछन् ?

ऋणबाट कृषि, पर्यटन, पशुपालन जस्ता व्यवसाय गर्न र उद्योग सञ्चालन गर्न सकिन्छ । कृषि यन्त्र, औषधि तथा दानाका लागि पनि ऋण रकम खर्च गर्न सकिन्छ । त्यस्तै टेम्पो, ट्याक्सी चलाउन, इलेक्ट्रोनिक्स सामान मर्मत लगायतका व्यवसायमा पनि ऋण रकम उपयोग गर्न सकिन्छ । तर ३.३३ प्रतिशत ब्याज लाग्ने यो ऋण पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्छ । समयमा ऋण नतिरे कारबाही हुन्छ ।

यो कार्यक्रम दिगो होला ?

कार्यक्रमले युवालाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने भएकाले दीर्घकालसम्म चलिरहन्छ भन्ने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

रमझम