१०-१६ चैत २०७५ | 24-30 March 2019

‘सरकारले चाहेमा भूमिसुधार सहज छ’

Share:
  

फागुन (२७–२९) मा पोखरामा सम्पन्न राष्ट्रिय भूमिअधिकार मञ्चको पाँचौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित सरस्वती सुब्बा भन्छिन्, “भूमि सामाजिक परिवर्तनको मुद्दा बन्न सकेन।”

नेपालमा भूमि सम्बन्धी कस्ता समस्या छन् ?

एउटा समस्या, भोगचलन गर्दै आए पनि जग्गा उपभोगकर्ताको स्वामित्वमा छैन । ऐलानी, मोही, गुठी, चुरे, उखडा, गाउँब्लक, बेनिस्सा, स्ववासी जस्ता समस्या छन् । दोस्रो, एकातिर उत्पादनयोग्य जग्गा बाँझो छ, अर्कोतिर वास्तविक किसानको जग्गामा पहुँच छैन । तेस्रो, हलिया, हरुवाचरुवा, प्राकृतिक प्रकोप पीडित जस्ता सामाजिक समस्या जग्गाकै कारण सम्बोधन हुनसकेका छैनन् । चौथो, प्राकृतिक विपत् र अन्य कारणले भूमि स्रोतहरु जोखिममा छन् । यसबाहेक घटनामा आधारित अन्य समस्या पनि छन् ।

समस्या झन् बल्झिंदै जानुको कारण के हो ?

अहिलेसम्म भूमिसुधारलाई राजनीतिको विषय बनाइयो, यो समाज परिवर्तनको मुद्दा बन्न सकेन । दलहरुले सत्ता बाहिर छँदा भूमिबारे कुरा उठाए पनि सत्तामा पुगेपछि यसतर्फ ध्यान दिंदैनन् । भूमिसुधारको सवाल निजी सम्पत्तिसँग जोडिएका कारण पनि जटिल भएको छ । संघीय संविधान जारी हुनुअघिसम्म त भूमि सुधारका लागि संविधान नै बाधक छ भनियो, नयाँ संविधानले यसलाई खुला गरिदिएको छ । सरकारले चाह्यो भने भूमि सुधार सम्भव छ ।

राजनीतिले भूमिको समस्यालाई कत्तिको गिजोलेको छ ?

दलहरुले चाहेमा भूमिसुधार सम्भव छ, नचाहे छैन । अहिले राजनीतिक प्रतिबद्धता नभएकै कारण यो मुद्दा अल्झिएको छ । अर्कोतिर भूमिको समस्या समाधान गर्न १२ पटक आयोग बने पनि कुनै आयोगले काम पूरा गर्न नसक्दा समस्या यथावतै छ ।

समस्या समाधानको उपाय के हो ?

सबै राजनीतिक दलहरु समस्या समाधानमा प्रतिबद्ध हुनुपर्छ । स्पष्ट नीति बनाएर, स्रोत, समय दिएर अधिकारसम्पन्न आयोग गठन गरिनुपर्छ । भूमिहीनहरुलाई जग्गा दर्ताका लागि पनि सरल विकल्पहरु छन् ।

मञ्चले के गरिरहेको छ ?

हाम्रो काम भूमि अधिकारको मुद्दा उजागर गर्ने, विकल्पमा अध्ययन गर्ने र नीतिनिर्माण तथा कार्यान्वयनमा सघाउने हो । हामी सदस्यहरुको क्षमता विकाससँगै केही ठाउँमा स्थानीय सरकारसँग मिलेर सामुदायिक भूमि व्यवस्थापनको अभ्यास गरिरहेका छौं । भूमि अधिकारबाट वञ्चितहरुको जीवनमा परिवर्तन ल्याउनका लागि उद्यम सञ्चालन गर्ने, आधारभूत सेवा सुविधाका लागि वकालत गर्ने पनि गरिरहेका छौं ।

comments powered by Disqus

रमझम