१८ चैत्र २०६९ | 31 March 2013

'आफ्नो बखान गरेको छैन'

Share:
  

'चिनो हराएको केटो' नामक आत्मकथा लेख्दै गरेका कलाकार हरिवंश आचार्य भन्छन्, “म जे छु त्यो सजिलै प्राप्त भएको होइन रहेछ भन्ने स्वीकारोक्ति पुस्तकमा छ।”

चिनो हराएको केटो कस्तो किताब हो?

मेरो आफ्नै जीवनी हो। बाल्यकालदेखि अहिलेसम्मका उल्लेखनीय घटना यसमा समेटेको छु। मदन दाइ (मदनकृष्ण श्रेष्ठ) सँगको सहकार्यका धेरै प्रसङ्गहरूको खुलासा यो पुस्तकमा पाउनुहुनेछ।

पाठकले कहिलेसम्म पढ्न पाउनेछन्?

यही चैतभित्रै लेखेर सक्ने र वैशाखको पहिलो सातासम्म पाठकको हातमा पुर्‍याउने योजना छ। मेरी दिवंगत पत्नी मीराको दोस्रो स्मृति दिवस पारेर ७ वैशाखमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ।

यो पुस्तक लेख्नुको उद्देश्य के हो?

हरिवंश आज जे छ त्यो सजिलै बनेको होइन रहेछ भन्ने जानकारी पुस्तक पढेपछि पाठकहरूलाई हुनेछ। हरेक मान्छेमा केही न केही सकारात्मक गुण हुन्छन्, जुन अरूका लागि पनि रुचिकर र अनुकरणीय हुनसक्छन् भनेर आफ्नो कुरा पाठकसँग बाँड्न खोजेको हुँ।

अरू आत्मकथा र यसमा के फरक छ?

आत्मकथा पढिसक्दा हरिवंश भन्ने मान्छे पनि अरू जस्तै साधारण रहेछ भन्ने यथार्थ बोध हुनेछ, पाठकलाई। छोटोमा भन्दा हरिवंश ठूलो मान्छे होइन भन्ने सत्य सबैले थाहा पाउनेछन्। पर्दा र मञ्चमा हँसाउने मान्छेका गम्भीर कुरा यसमा पढ्न पाउनुहुनेछ।

नेपाली आत्मकथामा लेखकीय इमानदारी नरहेको बताइन्छ। तपाईंले यसमा ध्यान पुर्‍याउनुभएको छ?

जुन विषय समाज र व्यक्तिका लागि पनि हानिकारक हुन्छ, त्यो नलेख्दा नै बेस। तर, अहिलेसम्म बाहिर नआएका धेरै विषय र घटनाको खुलासा गरेको छु। आफ्नो बारेमा बढाइँचढाइ नहोस् भन्ने पनि ध्यान दिएको छु।

comments powered by Disqus

रमझम