१-१५ माघ २०६९ | 14 -28 January 2013

संगीतको पैसाबाट स्कूल

Share:
  
चौतारी ब्याण्डका पञ्च र श्रवण लामा जापानमा सांगीतिक कार्यक्रम गर्दै नेपालमा विद्यालय चलाइरहेका छन्।
p59
 
तस्वीरः ऋषिराम कट्टेल

सर्लाही घुर्कौलीका लामा दाजुभाइ पञ्च र श्रवणलाई नेपालको चिन्ताले जापानमा प्रसिद्ध बनाइरहेको छ। टोकियोमा १६ वर्षअघि चौतारी ब्याण्ड स्थापना गरेका बाँसुरीवादक पञ्च र तबलावादक श्रवणले नेपालमा समाज सेवा बढाएसँगै जापानमा उनीहरूले दर्शक/श्रोता बढाएका छन्। यी कलाकार दाजुभाइले जापानका शहरहरूमा 'च्यारिटी कन्सर्ट' गरेर १० वर्षदेखि घुर्कौलीमा संचालन गरेको अंगे्रजी माध्यमको जनहित पञ्च इसाका निमाविमा अहिले ३७४ विद्यार्थी पढ्दैछन्। “द्वन्द्वपीडित र केही अनाथलाई उच्च शिक्षा दिने कार्यक्रम बनाएर श्रवण द्वन्द्वपीडित बालगृह खोलेका छौं”, पञ्च भन्छन्। यी दाजुभाइले अहिले बालगृहका ५७ जनालाई स्कूल तथा क्याम्पसमा पढ्ने व्यवस्था मिलाएका छन्। 

स्कूल र बालगृह दुवैको व्यवस्थापन हेर्ने चेतना सन्देशका अध्यक्ष सुरेन्द्र लामाका अनुसार लामा दाजुभाइले दुवै संस्थाका लागि अहिलेसम्म रु.१ करोड ६७ लाख उपलब्ध गराइसकेका छन्। यो वर्ष मात्र रु.१३ लाख पठाएको लामाले बताए। नेपालका वाद्यवादकहरूको संस्था बेम्बो हिस्टीले २६ पुसमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरेको सांगीतिक कार्यक्रम हिमालय ब्रिज मा दाजुसँगै भेटिएका श्रवणले भने, “घुर्कौली जस्तो ठाउँका भाइबहिनीको पढाइका लागि कन्सर्ट गर्नु आफैंमा आनन्दको कुरा लाग्छ।” 

p59a
 

घुर्कौलीको स्कूल संचालन र नेपाली संगीत प्रचारका लागि सयौं नेपाली धुन निकालेका लामा दाजुभाइले कोरिया र थाइल्याण्डमा पनि पटक–पटक कन्सर्ट गरेका छन्। पिएस म्युजिक कम्पनीको नामबाट चौतारी, झ्रना यात्रा, प्रे, हिमालय बिट, बेम्बो स्पि्रट, एसियन पाराडाइज लगायतका सीडी र डीभीडीहरू निकालेर उत्तरपूर्वी एशियाको संगीत बजारमा लोकप्रिय बनेका यी दाजुभाइ कसरी जापान पुगे त? “१८ वर्षअघि एक जना जापानीले खोलेको नेपाली रेष्टुरेन्टमा बाँसुरी बजाउन म पहिला गएँ”, पञ्च भन्छन्, “त्यसपछि जापानीहरूसँगै मिलेर चौतारी ब्याण्ड खोले अनि श्रवणलाई पनि बोलाएँ।”

ऋषिराम कट्टेल

 

comments powered by Disqus

रमझम