गुरुकुलमा नाटक अभिनयका लागि बर्दियाको कचहरी नाटक समूहका अगुवा सुशील चौधरीको सिफारिसपत्र बोकेर आएकी सरस्वतीलाई राजधानी यात्रा खुबै फाप्यो। एसएलसी पास गरेर गुरुकुल प्रवेश गरेकी उनले विभिन्न नाटकमा अभिनय गर्दै त्यहींबाटै नाट्य विधाको डिप्लोमा कोर्स पनि पूरा गरिन्। गुरुकुलका मुख्य नाटकमा अभिनय गर्ने अवसरका लागि उनले यसबीचमा तीन वर्ष नृत्य र मार्शल आर्ट सिक्नुका साथै सडक नाटकको लागि देशका कुना–कुना चहारेकी छन्।
नेवारी मिथकमा आधारित सत्यमोहन जोशीको बाघ भैरव नाटकमा कतामरीको भूमिकाबाट गुरुकुल रंगमञ्च यात्रा थालेकी सरस्वतीले गत मंसीरको काठमाडौं अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली आमा मा १९औं नाटक अभिनय गरिन्। उनले हालसम्म धेरै सन्तुष्टि पाएको नाटक चाहिं अमेरिकी नाट्यकर्मी डेवोरा मेरोलाको निर्देशनमा २०६७ सालमा मञ्चित एल्मुनिको तिर्खा भएको उनी बताउँछिन्। सरस्वती भन्छिन्, “त्यही नाटकले मलाई अभिनयमा अम्मली बनाइदियो।”
सरस्वतीले गुरुकुलमा जात सोध्नु जोगीको, मायादेवीको सपना, ताराबाजी लैलै, अग्निको कथा मा विद्यार्थी, गाउँले महिला, माओवादी थारू युवती, बिग्रिएको विद्यार्थी, भिक्षुणी र शेर्पा महिलाको फरक–फरक अभिनय गरिन्। त्यस्तै पानी फोटो, नेपाली आमा र धु्रव नाटकमा क्रमशः राजनीतिक कार्यकर्ता, बुहारी र महारानीको सशक्त अभिनय गरिन्। उनले अभिनय गरेका अरू अविस्मरणीय नाटक घनचक्कर, बुख्याँचा, डा. कनक, अटल बहादुरको आतंक, इडिपस, खरीको घेरो, मुनामदन पनि हुन्। “मुनामदनमा मुना र मदनको सम्बन्ध बिगार्ने नैनीको भूमिका मलाई यादगार लाग्छ”, सरस्वती भन्छिन्।
राम्रो कथावस्तु पाए चलचित्रमा पनि खेल्ने रहर सरस्वतीको छ।
कृष्णराज सर्वहारी