खसहरू पहिले बुद्ध धर्मबाट प्रभावित थिए भन्ने कुरा धेरैलाई थाहा छैन । मष्टो
परम्परा अति नै महत्वपूर्ण छ । मतवाली क्षत्री नै जनै लगाएर क्षेत्री भएको प्रष्ट देखिन्छ ।
बौद्धिक इमान्दारी
हिमाल (१–१५ माघ) मा प्रकाशित डा. रमेश ढुंगेलद्वारा लिखित ‘भेटिएन खसान, जडान’ शीर्षकको खोज सामग्री निकै पठनीय लाग्यो । खसहरू पहिले बुद्ध धर्मबाट प्रभावित थिए भन्ने कुरा धेरैलाई थाहा छैन । मष्टो परम्परा अति नै महत्वपूर्ण छ । मतवाली क्षेत्री नै जनै लगाएर क्षेत्री भएको प्रष्ट देखिन्छ । डा. ढुंगेलको लेख खस बन्धुहरूले मात्रै होइन सबै नेपालीले पढेर मनन गर्नुपर्छ । लेखकले देखाउनुभएको बौद्धिक इमान्दारीका लागि धन्यवाद ।
आर राई
हिमालखबरबाट
बोल कांग्रेस–एमाले
हिमाल (१–१५ माघ) मा प्रकाशित ‘प्रधानमन्त्रीको झुट’ र ‘एमाओवादीको भय’ शीर्षकको समाचार सामग्री पढें । तर अचम्मलाग्दो कुरा के भने नेपाली कांग्रेस र एमालेका नेताहरू यो घटनामा किन केही बोलिरहेका छैनन् ? कि उनीहरू अझै पनि सेनाकै समर्थनमा सत्तामा पुग्ने सपना देखिरहेका छन् । यस्तो गम्भीर विषयमा पनि मौन बस्नु पक्कै राम्रो संकेत होइन ।
टीकाराम पोखरेल
हिमालखबरबाट
राहत पाएनौं
हिमाल (१–१५ माघ) मा प्रकाशित ‘पीडितका नाममा खेलवाड’ शीर्षकको समाचार मन छुने छ । जिउँदा मान्छे पनि मारिएका भनेर सरकारी ढुकुटीबाट राहत लगेको मैले पनि देखेको छु । द्वन्द्वकालमा मेरो भाइलाई बेपत्ता पारिएको थियो । त्यतिबेला राहत वा क्षतिपूर्ति नभई टोकन मनी भनेर रु.१ लाख सरकारबाट हामीले पाएको पनि हो । तर बेपत्ता परिवारलाई सरकारले दिने भनिएको रु.३ लाख आजसम्म पाएका छैनौं । राज्य र विद्रोही दुवै पक्षबाट पीडितले ससम्मान न्याय र राहत पाउनुपर्छ । जनताको पक्षमा लडेको भनिएको एमाओवादी नेतृत्वको सरकारबाट पनि राहत नपाउने हो भने कसले राहत देला ?
अम्बिका शर्मा
दोलखा
गाउँलाई विकास देऊ
हिमाल (१–१५ माघ) को अन्तिम पानामा प्रकाशित ‘सरकार चाहियो’ शीर्षकको सामग्री घतलाग्दो छ । ग्रामीण भेकका जनताले थाहा पाउने गरी सरकारको उपस्थिति नहुनु भनेकै सरकार विहीनताको अवस्था सृजना हुनु हो । काठमाडौं र जिल्ला सदरमुकाममा विकासका कुरा गरेर मात्र जनताले सुख पाउँदैनन् । दुर्गमवस्तीका जनताले परिवर्तन भएको थाहा पाउँदैनन् भने प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ गाडी चढे पनि केही अर्थ हुँदैन ।
रुद्र थापा
हर्दिया, रुपन्देही
चाहिंदैन युद्ध
हिमाल (१–१५ माघ) मा प्रकाशित ‘फरक देखिने छटपटी’ शीर्षकको रिपोर्टमा उल्लेख गरिए जस्तै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी ‘जनयुद्ध’ वा जनविद्रोहको नाममा जंगलमा गयो भने पनि जनताको साथ पाउँछ जस्तो लाग्दैन । माओवादीद्वारा संचालित दशक लामो सशस्त्र द्वन्द्वबाट जनता आजित भइसकेका छन् । सशस्त्र द्वन्द्वका क्रममा भएको मानवीय क्षति र भौतिक संरचनाको हिसाबै गर्न नसक्ने अवस्था छ । आफन्त गुमाएका र घाइतेका व्यथा आफ्नो ठाउँमा छँदैछ । यो अवस्थामा वैद्य समूहको माओवादी युद्धमा जाने कुनै संभावना देखिंदैन ।
रोहित क्षेत्री
कलंकी, काठमाडौं
नेताको गोटी नबन
हिमाल (१–१५ माघ) मा प्रकाशित ‘बाधक माओवादी’ शीर्षकको ट्रेड युनियनसम्बन्धी रिपोर्ट पढेपछि माओवादीले मजदूरका लागि नभई पार्टी राजनीतिका लागि संगठन गराएको स्पष्ट हुन्छ । दलका नेताहरूले मजदूरलाई आफ्नो स्वार्थको गोटी बनाउँदा रहेछन् भन्ने रिपोर्ट पढेपछि बुझन सकिन्छ । आफ्नो हकअधिकारका लागि श्रम गरेर खानेहरू एकजुट हुनै पर्दछ । तर आफू निकटका नेतालाई चुनावी खर्च उठाउने माध्यम मजदूरहरू बन्नु हुँदैन । कुनै उद्योग बन्द हुँदा नेताहरूलाई असर नपर्ला तर काम गरेर खानेका छोराछोरी भोकै हुन्छन् ।
रामसिं स्याङतान
हेटौंडा