सुदूरपश्चिमको माघेवर्षा र हिमपात लगत्तै ६ माघमा धनगढीबाट बझङ हिंडियो । बैतडीको खोड्पेदेखि नै अगाडिको यात्रा सहज नहुने संकेत पाइसकिएको थियो । कसैले रूख ढलेर सडक बन्द छ भने त कसैले पहिरो र हिउँका कारण । कुरो १५–२० किलोमिटर परको भए पनि यकिन जानकारी कसैलाई थिएन । ट्रक दुर्घटनाको खबर पाएर गएको प्रहरी भ्यान पनि फर्किसकेको थिएन । केही दिनदेखि बिजुली नआएकोले खोड्पे बजारवासीका फोन चार्ज हुन पाएका थिएनन् ।
सामान्य अवरोध होला, प्रहरी पनि गएको छ खुलिहाल्छ भनेर हाम्रो गाडी अगाडि बढ्यो । त्यसमाथि सदरमुकाम चैनपुरतिरबाट डोजर आएको भनिएपछि झ्न् ढुक्क भइयो । भञ्ज्याङदेखि नै सडकको दायाँ–बायाँ हिउँका थुप्राथुप्री देखिन थाले । जेनतेन उक्लिंदै जाँदा खोड्पे–चैनपुर जयपृथ्वी राजमार्गको मोतीनगर (बैतडी) देखि बित्थड (बझाङ) सम्मको करीब २० किमि खण्डमा दुई–तीन फीट हिउँ जमेको रहेछ । यत्रो अवरोध तत्काल पन्छाउन कसले सक्नु !