तपाईंसँग कुनै नयाँ व्यावसायिक जुक्ति छ भने ५४ घण्टाभित्र त्यसलाई मूर्तरूप दिन विज्ञहरूको सहयोगसँगै उत्कृष्ट ठहरिए पुरस्कार, लगानीकर्ता र आफैं व्यवसायी हुने अवसर पाउनुहुनेछ ।
प्रविनराज जोशी र वृजेन्द्र जोशी दिल्लीमा सम्पन्न
'स्टार्ट अप विकेण्ड' मा उत्कृष्ट भएको आइडियाको
लागि आफूहरुले बनाएको मोबाइल एप्लिकेशन देखाउँदै।
तस्वीरः मीनरत्न बज्राचार्य
विश्वका धेरै देश र महानगरमा चलेको बिदाको ५४ घण्टामा नयाँ–नयाँ ‘बिजिनेश आइडिया’ निकाल्ने अनलाइन अभियान ‘स्टार्ट अप विकेण्ड’ नेपालमा पनि आइपुगेको छ । दुई वर्षअघि अमेरिकाबाट शुरू भएको यो अभियानले २०० भन्दा बढी देशमा सानाठूला गरी १० हजार कम्पनी स्थापना गर्न सघाइसकेको छ भने ७५ हजार उद्यमी उत्पादन गरिसकेको छ ।
कफ म्यान फाउण्डेशनको सहयोगमा स्थापित मुनाफारहित यो अभियान अन्तर्गत माघको दोस्रो सातासम्म संसारभर ७८७ ‘स्टार्ट अप विकेण्ड इभेण्ट’ भइसकेका छन् भने २८३ इभेण्टको मिति तय भएको छ । मिति तय भएको मध्ये एउटा इभेण्ट हो– ‘स्टार्ट अप विकेण्ड काठमाडौं’, जुन २६–२८ माघमा हुँदैछ । गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले सघाइरहेको यस्ता ‘इभेण्ट’ मा जसले पनि आफ्नो व्यावसायिक योजना प्रस्तुत गर्न सक्छन् ।
शिक्षित बेरोजगारको संख्या बढिरहेको समाजमा रोजगारीका अवसर सिर्जना गर्ने नयाँ–नयाँ जुक्ति र योजनाहरूको खाँचो हुन्छ । धन हुनेसँग व्यावसायिक योजना नहुन र लगानी क्षमता नभएकाहरूसँग उद्यमशीलताका अनेक योजना त्यसै थन्किरहेका हुनसक्छन् । सूचनाप्रविधिले साँघुरो बनाएको विश्वमा इन्टरनेटबाटै थालिएको यो अभियानले थन्किएका ‘आइडिया’हरू कार्यान्वयनमा मद्दत गर्छ, जसलाई साइवर चौतारी नामक संस्थाले काठमाडौं भित्रायाएको हो । प्रविनराज जोशी, वृजेन्द्र जोशी, सुमन शाक्य, रवि फुयाल लगायतको समूहले काठमाडौंमा पहिलो पटक गर्न लागेको ‘इभेण्ट’ मा सहभागिताको लागि १३ माघसम्ममा ७२ जनाले अनलाइन आवेदन दिइसकेका छन् । यो ‘इभेण्ट’ को संयोजन भारतमा यस्ता आयोजनाहरू गरिसकेका यतिन ठाकुरले गर्दैछन् ।
छनोट विधि
जनस्तरमा नयाँ व्यावसायिक सोच विकास गरेर समाजको सशक्तिकरण गर्ने उद्देश्यले ‘स्टार्ट अप विकेण्ड’ शुरू भएको हो । साताभर काममा व्यस्त हुनेहरूले बिदाको ५४ घण्टामा केही सोचुन् र समाजको आर्थिक विकासमा योगदान पुर्याउन् भन्ने यो अभियानको सोच हो ।
बढीमा १२५ सहभागी हुने ‘स्टार्ट अप विकेण्ड’ मा हरेकले ६० सेकेण्ड बोलेर वा कार्ड बोर्डहरूमार्फत आफ्नो ‘आइडिया’हरू राख्नुपर्छ । त्यसपछि सबै सहभागीले भोट गरेर १५ वटा राम्रो ‘आइडिया’ छानिन्छ । छानिएका १५ जनाले आफ्नो ‘आइडिया’लाई मूर्तरूप दिन पाँचदेखि आठ जनासम्मको टीम बनाउँछन् । हरेक टीमले ५४ घण्टाभित्र त्यसको ‘वर्क प्लान’ बनाएर कागजीदेखि फिल्ड वर्क र अनुसन्धानसम्मको काम सक्छ ।
राजधानीको बबरमहलस्थित साप फाल्चामा हुने ‘इभेण्ट’का ‘टप १५ आइडिया’ हरूलाई अनिल चित्रकार, आशुतोष तिवारी, बालकृष्ण जोशी, विधान राणा, विश्वास ढकाल, उमंग पाण्डे तथा भारतका यतिन ठाकुर र राहुल शाही लगायत विभिन्न क्षेत्रका एक दर्जन विज्ञहरूले ५४ घण्टाभित्रै आवश्यक परामर्श दिनेछन् । यसरी तयार भएको योजनाकोे खाका पाँच–पाँच मिनेटमा प्रस्तुत गरेर तीमध्येबाट प्रथम, दोस्रो र तेस्रो अर्थात् ‘टप थ्री आइडिया’ छानिन्छ । आयोजकले उत्कृष्ट योजनासहितको ‘आइडिया’ लाई पुरस्कृत गर्नुका साथै कार्यान्वयनका लागि लगानीकर्तासँग मध्यस्थता गरिदिन्छ ।
आयोजना खर्च सहभागीहरूबाटै धान्नुपर्ने भएकाले सहभागिताका लागि रु.३५०० प्रवेश शुल्क तोकिएको आयोजक मध्येका एक वृजेन्द्र जोशीले बताए । यसमा विद्यार्थीले ५० प्रतिशत छुट पाउनेछन् । यसमा सहभागिता बढाउन गुगल डेभलपर्स ग्रुपले २१ पुसमा निःशुल्क प्रशिक्षण र साइवर चौतारीले २८ पुसमा ‘डिजाइनर वर्कशप’ कार्यक्रम गरेका थिए । जोशी भन्छन्, “चार महीनापछि पोखरामा पर्यटन ‘थिम’मा दोस्रो ‘स्टार्ट अप विकेण्ड’ गर्छौं ।”
दिल्लीमा नेपाली ‘आइडिया’ अब्बल
नेपालमा ‘स्टार्ट अप विकेण्ड इभेण्ट’ गर्न कस्सिएका प्रविनराज जोशी र वृजेन्द्र जोशीको ‘आइडिया’ ५–७ असोजमा भारतको दिल्लीमा भएको ‘इभेण्ट’मा उत्कृष्ट भएको थियो । प्लम्बर, इलेक्ट्रिसियन, कार्पेण्टर लगायतमा केन्द्रित ‘परिचय’ शीर्षकको उनीहरूको योजना ‘इभेण्ट’ प्रथम भएपछि यसमा दुई लगानीकर्ताले कम्पनी खडा गर्न रुचि देखाएका छन् । ती लगानीकर्ता सेवामुखी भए पनि तुरुन्तैजसो फाइदा कमाउन थाल्ने भएकोले आफूहरूको योजनामा लोभिएको वृजेन्द्रले बताए ।
आइटी विज्ञ जोशीद्वयले दिल्लीका घरहरूमा काम परिरहने प्लम्बर, इलेक्ट्रिसियन र कार्पेण्टरहरूलाई घरधनीहरूसँग जोड्ने सजिलो मोबाइल एप्लिकेशन र सेवाको तरिका तयार गरेका थिए । यो ‘आइडिया’ अनुसार घरधनीहरूले मोबाइल या इण्टरनेटमार्फत सम्पर्क गरेर आफूलाई चाहिएको भरपर्दो कामदारको सेवा लिन सक्छन् ।
त्यसबापत कम्पनीले कमिशन लिन्छ । यो ‘आइडिया’ उपयोगी हुन्छ कि हुँदैन भनेर उनीहरूले ५४ घण्टाभित्रै दिल्लीका प्लम्बर, इलेक्ट्रिसियन, कार्पेण्टर र घरधनीहरूमा सर्भे गरेका थिए । सर्भेमा सहभागी कामदारहरूले मध्यस्थता गरिदिने कुनै भरपर्दो कम्पनी भए कमाइको केही हिस्सा कमिशन सजिलै दिन सकिने र घरधनीहरूले कम्पनीमार्फत आउने कामदारसँग बढी ढुक्क हुन सकिने बताएका थिए ।