१६-२९ माघ २०६९ | 16-29-Magh-2069

छिटो र छरितो

Share:
  
- प्रभात भट्टराई र रमेश कुमार
भरपर्दो सार्वजनिक सवारीको विकास नहुँदा दुईपाङ्ग्रे सवारी साधनले सर्वसाधारणको दैनिकी सहज बनाएको छ ।
p46
 
तस्वीरः मीनरत्न बज्राचार्य

काठमाडौंको भीडमा सार्वजनिक सवारी साधन चढेर चाहेको बेला गन्तव्यमा पुग्नु पक्कै पनि सहज छैन । भीडसँगै सार्वजनिक यातायातको दुरवस्थाका कारण यात्रुहरू झ्नै हैरान छन् । यस्तोमा सर्वसाधारणको मन जित्ने सवारी साधन हो, दुईपाङ्ग्रे । चाहेका बेला गन्तव्यमा पुग्न साइकल या मोटरसाइकलमै भर पर्नेको संख्या बढ्दो छ ।

आर्थिक वर्ष २०६८÷६९ मा ओरालो लागेको मोटरसाइकलको बिक्री चालु आर्थिक वर्षको पहिलो चार महीनामा १६ प्रतिशत बढेको छ । मंसीर मसान्तसम्म करीब ७७ हजार मोटरसाइकल बिक्री भएका छन् । जुन गत आवभित्र बिक्री भएका मोटरसाइकल भन्दा करीब २० हजार कम हो । गत आवमा बिक्री भए बराबरको मोटरसाइकल यो माघसम्म बिक्री हुने र वर्षको अन्तमा एक लाख ४० हजार पुग्ने व्यवसायीहरूको अपेक्षा छ । तर, यति हुँदा पनि जनसंख्याको तीन प्रतिशतको मात्र मोटरसाइकलको पहुँच रहेको नेपाल अटोमोवाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सौरभ ज्योति बताउँछन् ।
 
मुलुकको भूवनोटका कारण सबै भागमा ठूला सवारी साधन पु¥याउन नसकिने भएकाले गाउँ शहर जोड्न मोटरसाइकल निकै उपयोगी भएको बिक्रेताहरूको भनाइ छ । अर्कोतिर आसपासका गाउँमा बसेर शहरमा नोकरी वा कुनै पेशा व्यवसाय गर्नेलाई त मोटरसाइकल नभई नहुने साधन भएको छ । जुम्लाको माथिल्लो भेगदेखि मुस्ताङको जोमसोमसम्म मोटरसाइकल पुगिसकेको बताउँदै नाडाका उपाध्यक्ष शेखर गोल्छा भन्छन्, “यसबाट सम्बन्धित क्षेत्रका जनतालाई निकै राहत मिलेको छ ।”
 
युवा क्रेज 
नेपालमा १२५ सीसीभन्दा साना इकोनोमी, १५० सीसीसम्म एक्सिक्युटर र १५० सीसी माथिका पावर मोटरसाइकल बिक्री हुँदै आएका छन् । इकोनोमी र एक्सिक्युटर कामकाजी वर्गले मन पराएका छन् । प्रायः सबै ब्राण्डले पछिल्लो समय नयाँ लुक्सका स्पोर्टस् मोटरसाइकल भित्रायाएका छन् । युवा ‘प्रोफेसनल’हरूमाझ् पावर मोटरसाइकल रुचाइएको बिक्रेताहरूको भनाइ छ । दैनिक कामकाजका अलावा मोटरसाइकललाई स्पोर्टस् र शानको रूपमा लिनेको संख्या पनि बढ्दो छ । टीभीएस मोटरसाइकलको अधिकृत बिक्रेता एआईटी प्रालिका नायव महाप्रबन्धक सन्दिप गुरुङ भन्छन्, “पछिल्लो समय पावर मोटरसाइकलकै माग बढ्दो छ ।” फुर्सदको समय साथीभाइ मिलेर घुम्न जाने वर्गले यो मोटरसाइकल मन पराएको उनको भनाइ छ । मोटरसाइकल डिजाइन र ब्राण्डले नेपाली बजारमा विशेष अर्थ राख्ने अनुभव बिक्रेताहरूको छ । महिन्द्रा टु ह्विलर्सका स्कुटर बिक्रेता एसजी ग्लोबल प्रालिका भाइस प्रेसिडेन्ट राजु क्षेत्री भन्छन्, “ब्राण्डको साख कति महत्वपूर्ण छ भने केही वर्षअघिसम्म नेपाली बजारमा भएका ४३ ब्राण्डका मोटरसाइकलमध्ये अहिले सात÷आठ वटा छन् ।”
 
युवाहरूले धेरै रुचाएको पल्सर मोटरसाइकल पछिल्लो समय नयाँ डिजाइनमा २०० सीसीको आएको छ । मोटरसाइकलमा साहसिक यात्रा रुचाउनेहरूको प्रिय रोयल इन्फिल्डमा पनि पछिल्लो समय बजारमा पाइने अन्य मोटरसाइकल समान फिचर जडान गरी सहज बनाइएको छ । यस्ता मोटरसाइकलको बजार विस्तार गर्न बिक्रेताहरूले विभिन्न इभेन्ट गर्ने गरेका छन् । कलेजमा टेष्ट ड्राइभ गर्ने, यात्रा सुरक्षाबारे चेतना जगाउने जस्ता कामले बजार पहुँच सहज बनाएको उनीहरूको अनुभव छ ।
 
“विभिन्न माध्यमबाट ग्राहकसँग सम्बन्धित कार्यक्रमहरू प्रत्यक्ष गर्दा निकै प्रभावकारी हुने रहेछ” रोयल इन्फिल्डको अधिकृत बिक्रेता दुगड ब्रदर्श एण्ड सन्सका सिनियर म्यानेजर मेघराज पौडेल भन्छन्, “मोटरसाइकल ¥यालीले स्थानीयवासीसँग साक्षात्कारको नौलो अनुभूति हुन्छ ।” रोयल इन्फिल्डमार्फत छिट्टै दिल्ली–लुम्बिनी–तिब्बत    र्‍याली गर्न लागेको उनले जानकारी दिए ।
 
मूल्यको पिरलो
भारतमा भारु ५० हजारको हाराहारीमा पाइने मोटरसाइकल नेपालमा दुई लाखभन्दा बढी पर्छ । नाडाका अध्यक्ष ज्योति भन्सार, अन्तःशुल्क, भ्याट आदिका कारण मूल्य उच्च भएको बताउँछन् । उनको बुझइमा मूल्य बढी पर्ने भएकोले पनि सर्वसाधारणमा मोटरसाइकल पहुँच नपुगेको हो । काठमाडौंलाई हेरेर बाइक र सवारी संख्या बढी भयो भन्ठान्नु हुँदैन भन्ने ज्योतिको बुझइमा काठमाडौंका साँघुरा सडकका कारण त्यस्तो लागेको हुन सक्छ । मोटर बाटो बन्ने क्रमसँगै उपत्यका बाहिर बाइक र सवारीको माग बढेको छ । 
 
नाडाका उपाध्यक्ष गोल्छा मोटरसाइकल महँगो हुँदा ग्रामीण जनजीवनलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न कठिन भएको बताउँछन् । उनी भन्छन्, “यतिसारो महङ्गो नहुँदो हो त कर्णालीका किसानले मोटरसाइकलबाटै आफ्ना उत्पादन बजारसम्म पु¥याउँथे ।” राजस्वलाई तत्कालको आम्दानीका रूपमा मात्र नहेरी दीर्घकालीन हिसाबले अर्थतन्त्र बलियो बनाउने उपाय खोजी गर्नुपर्ने गोल्छाको सुझव छ । 
 
तर सरकारी अधिकारीहरू एक÷दुई जना मात्र यात्रा गर्न मिल्ने र सर्वसाधारणको पहुँचमा नभएकाले मोटरसाइकललाई विलासी वस्तुको रूपमै राखिने बताउँछन् । सर्वसाधारणले फाइदा लिन नसक्ने भएकाले राजस्वदर कम गर्नुपर्ने माग जायज नभएको दाबी गर्छन् अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख राजन खनाल । त्यसैले सरकारले सार्वजनिक सवारी साधन प्रबद्र्धनमा जोड दिएको उनको भनाइ छ । नाडाले भने मोटरसाइकलको भन्सार घटाउन, अन्तःशुल्क पूरै हटाउन र स्पेयर पार्टस्को भन्सार शुल्क पाँच प्रतिशतमा झर्न सरकारसँग आग्रह गर्दै आएको छ ।
 
फस्टाउँदो साइकल
पछिल्लो समय साइकल (माउन्टेन बाइक) बाट साहसिक यात्रा गर्ने क्रम बढेको छ । राजधानीको भीडका कारण मात्र होइन, शहरी क्षेत्रमा दैनिक गुजारा गर्नेहरूले पनि स्वास्थ्यका लागि साइकल चढ्न थालेका छन् । यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा साइकल चढेर जाने स्वदेशी तथा विदेशी बढेका छन् । ‘माउन्टेन बाइकिङ’का पारखीहरू स्वदेशका अलावा तिब्बत, सिक्किम र भुटानका विभिन्न गन्तव्य समेत पुग्न थालेका छन् । नेपाललाई साहसिक खेल पर्यटनको रूपमा विश्वभर चिनाउन आफूहरू प्रयासरत रहेको बताउँछन् एभरेष्ट माउन्टेन वाइकका निर्देशक पीआर विष्ट । ‘अफ रोड र सिङ्गल ट्रेल’हरूमा यसको प्रभाव अझ् विस्तार हुने बिष्टको भनाइ छ ।
 
नेपालमा जाइन्ट, मेरिडा, स्कट, जामिस लगायत विभिन्न ब्राण्डका माउन्टेन बाइक बिक्री हुने गरेका छन् । ब्राण्ड र विशेषता अनुसार बाइकको मूल्य रु.२५ हजारदेखि रु.४/५ लाखसम्म पर्दछ । 

 

p46a
 
 

ठूलो हिस्सा होण्डा कै

सौरभ ज्योति
प्रबन्ध निर्देशक, स्याकार कम्पनी
 
सार्वजनिक सवारी व्यवस्थित नभएकाले मोटरसाइकल सजिलो र छरितो साधन भएको छ । हिरो र होण्डा भिन्न ब्राण्डमा आएपछि पनि होण्डा को बजारमा असर परेको छैन । होण्डा ले नेपालमा कुल मोटरसाइकल बिक्रीमा ठूलो हिस्सा ओगट्छ । देशभरका ८० वटा डिलर विस्तार गरी छिट्टै १०० भन्दा बढी पु¥याउने छौं । सबै डिलरलाई बिक्री, मर्मतसम्भार, स्पेयर पार्टस्, सुरक्षा तालिम र सेकेण्ड ह्याण्ड केन्द्रमा विकसित गर्दैछौं ।
 
p46b
 
 

हाम्रो पहुँच देशभर

शेखर गोल्छा
प्रबन्ध निर्देशक, एचएच बजाज
 
चारपाङ्ग्रे सवारी साधन पुग्न नसक्ने क्षेत्रमा सजिलै पुग्ने भएकाले ग्रामीण जनताका लागि मोटरसाइकल वरदानसरह भएको छ । ग्रामीण जीवन पद्धतिसँग शहरी अर्थतन्त्र जोड्न मोटरसाइकल सहयोगी हुनेछन् । बिक्री भएका मध्ये ९५  प्रतिशत मोटरसाइकल उत्पादनमूलक काममा लगाइएका छन् । इलामदेखि धनगढी, जोमसोम र जुम्लासम्म एचएच बजाज का शो–रुम र स्तरीय सर्भिस सेन्टर शुरू गरेका छौं । हाम्रो बजार हिस्सा पाँच प्रतिशतले वृद्धि भएको छ । 
 
p46c
 
 

ग्राहकसँग साक्षात्कार

राजु क्षेत्री
भाइस प्रेसिडेन्ट, सेल्स एण्ड मार्केटिङ, एसजी ग्लोवल प्रालि
 
महिन्द्रा टु ह्विलर्सद्वारा उत्पादित १२५ सीसी क्षमताका रोडियो आरजेड, ड्युरो आरजेड र फ्लाइट ब्राण्डका स्कुटर बजारमा छन् । २५ जिल्लाका ४५ वटा आउटलेटमध्ये ३८ ठाउँमा बिक्री, स्पेयर पार्टस् र मर्मत सुविधा छ । नम्बर वितरणमा लट सिस्टम लागू भएकाले शोरुमका पुरानो नम्बरका मोटरसाइकल बिक्रीमा समस्या छ । शुरूमा अस्थायी नम्बर दिएर बिक्रीपछि मात्र स्थायी नम्बर दिनु र बिक्रीको सही आँकडा राख्न पुनः दर्ता गर्ने व्यवस्था मिलाउनुपर्दछ ।
 
p46d
 
 

विदेशमा ‘नम्बर वान’

मेघराज पौडेल
सिनियर म्यानेजर, दुगड ब्रदर्श एन्ड सन्स 
 
साहसिक यात्रा रुचाउने युवा वर्गको रोजाइमा छ रोयल इन्फिल्ड । बजारमा रु.४ लाख २५ हजारदेखि रु.५ लाख ५५ हजारसम्मका ३५० र ५०० सीसीका रोयल इन्फिल्ड नेपालमा छन् । छिट्टै नयाँ मोडलको थन्डर वर्ड भित्रायाउँदै छौं । बिक्रीपछिको सेवाका लागि राजधानीका अतिरिक्त बाहिरका ११ शाखा र डिलर छन् । १० हजार किलोमिटर वा एक वर्षको वारेन्टीसहित निःशुल्क चार वटा सर्भिसिङ दिएका छौं ।
 
p47a
 
 

युवाको प्रिय वाइक यामाहा

सुरज मानन्धर
व्यापार प्रमुख, एमएडब्लु इन्टरप्राइजेज 
 
जापानी ब्राण्डका यामाहा बाइक आनन्द, उत्साह र सुरक्षाका कारण युवाहरूले सबैभन्दा बढी रुचाएका छन् । सुरक्षित यात्रालाई ध्यान दिंदै कलेजसम्मै पुगेर युवाहरूलाई सुरक्षा तालिम कक्षा सञ्चालन गरिरहेका छौं । नेपालभरका ४९ बिक्री केन्द्रमा बिक्री, मर्मतसम्भार र स्पेयर पार्टस् उपलब्ध छन् । ११०–१२५ सीसीको वाईबीआर, १२५ सीसीका ग्लाडिएटर एसएस र इन्टाइसर, १५० सीसीका एसजेडआर, एफजेडएस र आरवान फाइभ नेपाली बजारमा उपलब्ध छन् ।
 
p47b
 
 

टीभीएस को बढ्दो लोकप्रियता

सन्दिप गुरुङ
नायव महाप्रबन्धक (सेल्स), एआईटी प्रालि
 
वाग्मती, गण्डकी, लुम्बिनी, राप्ती, भेरी र नारायणीका लागि टीभीएस मोटरसाइकलको अधिकृत बिक्रेता हौं । पछिल्लो समय अपाचे–१६० र १८० का नयाँ मोडेल आए पनि यसको माग बढिरहेको छ । युवा वर्गले निकै मन पराएका कारण मोटरसाइकलको बिक्री ४५ प्रतिशतले बढेको छ । इकोनोमी क्लासको मोटरसाइकलको रूपमा ११० सीसीको स्कारसिटी छ भने १२५ सीसीको फोनिक्स भिœयाउने तयारीमा छौं ।
 
p47c
 
 

हिरो को पहिचान गुणस्तर

दिनेशरत्न बज्राचार्य
बिक्री प्रबन्धक, नेपाल जेनरल मार्केटिङ (एनजीएम)
 
हिरो र होण्डा भिन्न ब्राण्डका रूपमा छुट्टिए पनि हिरो बाइकमा असर परेको छैन । स्प्लेण्डर, सुपर स्प्लेण्डर, ग्लामर, प्लेजर, सीबीजेड लगायतका हिरो ब्राण्डका बाइक र स्कुटरको बजार राम्रो छ । स्वदेशी बजारमा यसको बिक्री हिस्सा बढ्दो छ । ब्राण्ड छुट्टिएपछि यसले अमेरिकन र अष्ट्रेलियाली कम्पनीसँगको सहकार्यमा हिरो मोटोकर्प ब्राण्डमा उत्पादन शुरू गरेको छ । नेपालभरका हिरो का ७० वटा आउटलेटमा सेल्स, स्पेयर पार्टस् र सर्भिस उपलब्ध छ ।
 
p47d
 
 

ग्राहकमा पूर्ण सन्तुष्टि छ

सुरेशबहादुर श्रेष्ठ
सहायक महाप्रबन्धक, श्रेष्ठ कम्पनी प्रालि
 
ताइवानी ब्राण्ड एसवाईएम पाँच महीनाअघि नेपाल भित्रिएको हो । बजारमा १२५ सीसीका अर्बिट–२ र जेट–४ तथा ११० सीसीको म्याजिक स्कुटर र २५० सीसीको उल्फ स्पोर्टस् बाइक छन् । स्कुटर र मोटरसाइकलबारे अहिलेसम्म गुनासो नआउनु ठूलो सफलता हो । उपत्यकाभित्र तीन र बाहिर १० ठाउँमा आउटलेट र सर्भिस सेन्टर स्थापना गर्दैछौं । १२५ सीसी स्कुटरको रु.१ लाख ८५ हजार र स्पोर्टस् बाइकको रु.२ लाख ९ हजार ९०० पर्छ 
 
p47e
 
 

अफरोड उत्कृष्ट

ज्ञान चाम्लिङ
अपरेसन हेड, अग्नि इन्कर्पोरेटेड (डिमाक बाइक)
 
अप्रिल २०११ देखि डिमाक र क्रुगर मोटरसाइकल बिक्री गर्दै आएका छौं । मलेसियामा निर्मित यी मोटरसाइकलमा ‘अफरोड क्वालिटी’ भएकाले नेपालको सन्दर्भमा निकै उपयोगी छन् । राजधानीमा रहेको बिक्री केन्द्र उपत्यका बाहिरका बजारमा पनि विस्तार गर्नेछौं । डिमाकमा रु.३ लाख ७५ हजारको डीटीएम र रु.२ लाख ७५ हजारको कमब्याक्ट गरी दुई मोडलका मोटरसाइकल छन् ।

 

comments powered by Disqus

रमझम