२०१६ सालमा महाकवि देवकोटामाथि पुस्तक लेखेर मदन पुरस्कार प्राप्त गर्ने युवक नित्यराज पाण्डेले वृद्धावस्थामा आफ्नी माता विद्याकुमारी पाण्डेको स्मृतिमा प्रकाशित गरेका हुन् यो सानो मसिनो पुस्तक । उनले पुस्तकका साथमा छुट्टै सो ‘पट’ पनि प्रकाशित गरिदिएकाले पुस्तक महत्वपूर्ण भएको छ । झ्ट्ट हेर्दा केही नबुझ्निे सो चित्रको विस्तृत व्याख्या डा. अर्याल र कलाकार हरिप्रसाद शर्माले गरेका छन् । जसबाट त्यो पट केही बोधगम्य भएको छ अनि पुस्तक पनि मूल्यवान बनेको छ ।
नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालको हालै प्रकाशित पुस्तक समाज, संस्कार र शासन लाई नेपाली समाज देखिने दर्पण भन्न सकिन्छ । ३० वर्षे सेवा कालमा ७२ जिल्लामा काम गर्दाको अनुभवलाई लेखकले तीन खण्ड र ३७ शीर्षकमा प्रस्तुत गरेका छन् । पुस्तक भीमकाय देखिए पनि पढ्नलाई सरल छ । नेपाली समाजका विविध पाटो केलाइएको कृतिको कतिपय प्रसङ्गले रोमाञ्चित बनाउँछ । घरभित्रका नेपाली बानी व्यहोरा, समाज, संस्कृति, परम्परा, पेशा–व्यवसाय, शिक्षा, पञ्चायती प्रशासन र समाज रूपान्तरणमा महिलाको भूमिकादेखि राजनीतिमा अपराधीकरण, मन्त्री–सचिव टकराव, राष्ट्रिय संवेदनशीलता र मिडियासम्मका कुरा पुस्तकमा छन् ।
प्रशासनभित्रको भ्रष्टाचार, उपलब्धिविनाको व्यस्तता र ग्रहण गर्न नसकेका राम्रा कुराहरूलाई लेखकले आफ्नै भोगाइको आलोकमा प्रस्तुत गरेका छन् । पुस्तकमा उतारिएको सामाजिक विसंगति, गरीबी, असमानता, कमजोर राज्य व्यवस्था र गतिहीन राजनीतिले युवा वर्गमा संक्रमण गरेको निराशा तथा पलायनवादी सोचले पाठकलाई गम्भीर बनाउँछ । अनुभव र यथार्थले भरिएको संस्मरण पढ्दै जाँदा नेपाली समाजका नयाँ–नयाँ पहलुले पाठकलाई तानिरहन्छ । प्रशासन र राजनीतिको स्वार्थ कसरी जोडिएको छ, र प्रशासनभित्र कसरी अर्को प्रशासन हुर्किरहेको छ भनेर पुस्तकले छर्लङ्ग पार्छ ।
निजी अनुभवमा आधारित भए पनि नेपालले आत्मप्रशंसाबाट जोगिने लेखकीय खुबी देखाएका छन् र तथ्यगत प्रसङ्गहरूले पुस्तकलाई गहकिलो बनाएको छ । यो पुस्तक नेपाली समाज बुझन–बुझउन चाहने विद्यार्थी र शिक्षकदेखि पत्रकार, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, प्रशासक र राजनीतिकर्मीसम्मलाई उपयोगी देखिन्छ । ह
डम्बरकृष्ण श्रेष्ठ
उद्योगपतिको लेखक अवतार
पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्याएका उद्योगी विनोद चौधरीले ‘उद्यमीको आँखामा अर्थतन्त्र’ पछि दोस्रो कृतिका रूपमा आफ्नै आत्मवृत्तान्त लेखेका छन् । आत्मकथा विनोद चौधरी मा उनको जीवनको इतिवृत्त छ । चौधरीले आफ्नो जीवनका निर्णायक मोडहरू, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि पक्ष पाठकसामु खुलस्त पारेका छन् । पत्रकार सुदीप श्रेष्ठको सहयोगमा तयार भएको यो किताबलाई चौधरीले चौधरी ग्रुपकै आत्मकथा भनेका छन् । नेपालयले प्रकाशन गरेको किताबको केही अंशः
दुनियाँको नजरमा हामीले व्यक्तिगत रमाइलो र मोजमस्तीका लागि डिस्को खोलेका थियौं । रक्सी खाने ठाउँ, केटा–केटी नारिएर नाच्ने ठाउँ भनेपछि मान्छेहरू त्यसै नाक खुम्च्याउँथे । हाम्रा लागि भने शुद्ध बिजनेशभन्दा बढी केही थिएन । दिनभरि अरू ठाउँमा जति अल्लारे बनेर हिंडे पनि काममा किरण र म दुवै अनुशासित थियौं । डिस्को छिर्नासाथ हाम्रो हाउभाउ अर्कै हुन्थ्यो । एकदम प्रोफेसनल ।
म बढ्दै थिएँ । मेरो कारोबार बढ्दै थियो । मेरो अफिस बढ्दै थियो ।
... नेशनल पानासोनिक र सुजुकी मोटर्स जस्ता बहुराष्ट्रिय कम्पनीसँग सम्बन्ध जोडेको थिएँ । एउटा बलियो, शक्तिशाली र सफल कम्पनीको आधारशिला तयार भएको थियो, जसको आफ्नो छुट्टै कर्पोरेट अफिस थियो । पुरानो ‘मुनिम’ शैलीको व्यवस्थापनबाट फड्को मारेर मैले कर्पोरेट संस्कारमा पाइला टेकेको थिएँ । अग्लो घरबाट मेरो आँखाको दायरा अझ् फराकिलो भयो । मेरो सपनामा नयाँ पखेटा पलायो । म पखेटा फड्कार्न तयार भएँ ।
‘भुरामल लुनकरणदास चौधरी’ को व्यानरले नयाँ कम्पनीको रूप लिइसकेको थियो । ‘चौधरी गु्रप’ ।
हामी अब अन्तर्राष्ट्रिय विस्तार दुई तरिकाबाट गर्छौं— अर्गानिक र इनअर्गानिक । अहिलेसम्म जे भइरहेको छ, त्यो अर्गानिक वृद्धि हो । एकपछि अर्को थप्दै जाने वा पहिलेकै ठाउँमा क्षमता बढाउने । इनअर्गानिक वृद्धिमा नयाँ ठाउँमा नयाँ कम्पनी खोल्ने होइन, भइरहेका स्थापित कम्पनी किनिन्छ । यसले कम समयमै विस्तारको गति अझ् तीव्र हुन जान्छ । अबको चरणमा हामी अर्गानिकसँगै इनअर्गानिक वृद्धिलाई प्राथमिकतासाथ अघि बढाउँदै छौं । संसारभरि चाउचाउ वा एफएमसीजीका शक्तिशाली कम्पनी खोज्दैछौं, जोसँग मिलेर जाँदा हाम्रो उत्पादन विविधीकरण र बजार विस्तारमा सघाउ पुग्छ । ... जस्तो, चीनमा हाम्रो बजार जमिसकेको छैन । त्यहाँ शून्यबाट शुरू गर्नुभन्दा स्थानीयस्तरको कुनै ठूलो कम्पनी किन्यो भने रातारात नयाँ बजार बन्छ । आसियान, अफ्रिका र पूर्व सोभियत युनियन क्षेत्रमा यही योजना छ । यी सबै क्षेत्रमा सम्भावित कम्पनी खोज्न इन्भेष्टमेन्ट ब्याङ्करहरूलाई परिचालन गरेका छौं ।
कम्तीमा वाइवाइसँगै हुर्किएका पुस्ता जहाँजहाँ पुगेका छन्, त्यहाँत्यहाँ वाइवाइ नपुर्याई म यो यात्रा बिसाउँदिनँ ।
यी सम्पूर्ण कुराको धरातलमा उभिएर म के विश्वासका साथ भन्न सक्छु भने, सीजी फुड्स (ग्लोबल) कुनै दिन भारतको स्टक एक्सचेन्ज हुँदै सिंगापुर र न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत हुनेछ ।
र, यसो हुनु भनेको विलियन डलर कम्पनीको सपना पूरा हुनु हो ।