१६-२९ माघ २०६९ | 16-29-Magh-2069

रजिनाको धोको

Share:
  
- अनुशील
p59
 
तस्वीरः अनुशील

हुने बिरुवाको चिल्लो पात ! यो उखान ५ माघमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्डमा महिलातर्फको गायन उपाधि जित्ने रजिना रिमाल (२०) मा लागू हुन्छ । सात वर्षकै उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी रजिना १३ वर्षको हुँदा ‘सपुत’ फिल्मको ‘प्लेब्याक सिंगर’ भइन् भने १५ वर्षमा पहिलो अल्बम ‘परी’ निकालिन् । उनको पहिलो अल्बमको ‘मान्छे हुन सकुँ...’ र हालसालै सार्वजनिक दोस्रो एकल अल्बम ‘रजिना’को ‘पानीको फोका जस्तै...’ निकै चर्चित रहे । फिल्म ‘नाइँ नभन्नु ल’ को शीर्ष गीत गाएपछि नेपाली फिल्मकी व्यस्त पाश्र्वगायिका बनेकी रजिनाले हालसम्म ६०० गीत गाइसकिन् । 

महीनामा सरदर १५ गीत गाइरहेकी रजिनाको स्वर रोमाण्टिक, सेण्टिमेण्टल, आइटम सबैखाले फिल्ममा ‘फिट’ मानिएको छ । एउटी चर्चित गायिकाको रूपमा स्टेज कार्यक्रमहरूमा पनि उनी व्यस्त छिन् । यही व्यस्तताको बीचमा २० माघमा धरानमा हुने पूर्वाञ्चल आइडल प्रतियोगितामा निर्णायक बन्ने निम्तो स्वीकारेकी रजिना अग्रजहरूको भन्दा कम उमेरमा बढी अवार्ड तथा पुरस्कार जित्ने गायिकामा पर्छिन् । यसमा सात वर्षकै उमेरमा लिएको शास्त्रीय संगीत प्रशिक्षणको ठूलो भूमिका छ । यो कुरा राम्ररी बुझेकी रजिनाले अहिले पनि शास्त्रीय साधनालाई निरन्तरता दिएकी छन् । “अरू १०÷१५ वर्ष मिहिनेत गरेर ‘क्लासिकल’ अल्बम निकाल्छु” रजिना भन्छिन्, “शास्त्रीय संगीत स्कूल खोल्ने धोको चाहिं भविष्यको हो ।”
comments powered by Disqus

रमझम