१६-२९ माघ २०६९ | 16-29-Magh-2069

आरामको आम्दानी

Share:
  
- मीना शर्मा
विवाह, ब्रतबन्ध, जन्मदिन, नयाँ वर्ष या पूजाआजाका अरू अवसरमा आफ्नो ग्रह–नक्षत्र जान्न उत्सुक मानिसहरूको जिज्ञासा मेटाइदिने महिला ज्योतिषहरूले घरै बसी–बसी आकर्षक आम्दानी गरिरहेका छन् ।
p61a
 
आफ्नो कार्यालयमा ज्योतिष सुधा भट्टराई (बास्कोटा)।
तस्वीहरूः ऋषिराम कट्टेल

विवाह, ब्रतबन्ध, गृह प्रवेश, नयाँ घरको जग हाल्दा वा ग्रहगोचरको लागि ज्योतिष परामर्श लिने नेपालीहरू पत्रपत्रिकाका राशिफल र रेडियो–टेलिभिजनमा आउने ज्योतिष कार्यक्रमहरूमा समेत निकै चासो राख्छन् । ज्योतिष विद्या पढेर मानिसहरूको यस्तो जिज्ञासा मेटाउने पेशेवर ज्योतिषहरू दामसँगै नाम कमाइरहेका छन् । ठूलो लगानीमा मेडिसिन, इन्जिनियरिङ वा पाइलटिङ पढेकाहरू बेरोजगार बस्नु परे पनि छात्रवृत्ति वा कम खर्चमा फलित ज्योतिष पढेका ज्योतिषहरूको पेशा मजाले जमेको राष्ट्रिय महिला ज्योतिष संघकी अध्यक्ष रति जोशी श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, “ज्योतिषलाई पेशा बनाउने महिला पनि धेरै छन् ।”

काठमाडौं नयाँसडककी रतिले राष्ट्रिय वाणिज्य ब्याङ्कको ३० वर्षे सेवाकालमै वाल्मीकि विद्यापीठमा फलित ज्योतिष पढेकी थिइन् । तीन वर्षदेखि ज्योतिष पेशाका लागि कम्प्युटर खोल्न थालेकी उनी नेवारी दैनिक पत्रिका सन्ध्या टाइम्स मा नियमित राशिफल पनि लेखिरहेकी छन् । कतिपय मानिस त्यही राशिफल हेरेर थप परामर्शका लागि उनलाई खोज्दै आइपुग्छन् । “कर्मकाण्ड भनेको जीविकोपार्जन पनि हो”, अर्थशास्त्रमा एमए रति भन्छिन्, “यो विद्याले धेरै महिलालाई जागिर चाहियो भन्दै कसैको ढोकामा पुग्नु नपर्ने बनाएको छ ।”  
 
सहज आयस्रोत
समाजशास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा स्नातक कीर्तिपुरकी सुधा बास्कोटाले कुलेश्वरमा ज्योतिष अनुसन्धान केन्द्र खोलेको तीन वर्ष भयो । ज्योतिष विद्यामा १० वर्ष स्वाध्यायन गरेर डिल्लीबजारस्थित पूर्वीय दर्शन विद्यापीठमा दुईवर्षे फलित ज्योतिष कोर्ष पूरा गरेकी उनी कुनै पनि पेशेवर ज्योतिषले गर्ने जन्मकुण्डली बनाउने, घर बनाउन लागेकाहरूलाई वास्तु परामर्श दिने लगायत सबै काममा पोख्त छिन् । उनीकहाँ ‘तपाईंले भनेको पुग्यो’ भन्दै पटक—पटक आउने मानिस धेरै छन् ।
p61b
 
रति जोशी श्रेष्ठ।

उता, दोलखा हिलेपानीको संस्कृत माविमा पढेर वाल्मीकि विद्यापीठबाट फलित ज्योतिषमा आचार्य गरेकी रोधना घिमिरे ठूलै स्तरको अनुसन्धान केन्द्र खोल्ने प्रयासमा छिन् । संस्कृत शिक्षाप्रति मानिसहरूको दृष्टिकोण त्यति सकारात्मक नभए पनि फलित ज्योतिष पढ्नेहरूको कमाइ नेपाल सरकारको उपल्लो श्रेणीका अधिकृतको भन्दा राम्रो भएको बताउने उनी ७५ जिल्लामा शाखा भएको संस्थामार्फत महिलालाई यसमा आकर्षित गर्ने योजनामा छिन् । ५७ जिल्लामा शाखा विस्तार भएको नेपाल ज्योतिष परिषद्को केन्द्रीय सदस्य रोधना घर बसी–बसी राम्रो आम्दानी हुने भएकाले ज्योतिषमा महिलालाई प्रोत्साहन आवश्यक ठान्छिन् । “कसले के पढ्ने भन्दा पनि, भविष्य राम्रो पार्न सकिने विषय छान्नु महŒवपूर्ण कुरा हो”, उनी भन्छिन् ।

वाल्मीकि विद्यापीठमा उत्तरमध्यमा दोस्रो वर्षमा अध्ययनरत काठमाडौं, नैकापको ज्योतिष परिवारकी फूलमाया न्यौपाने वर्षभरि आफ्नो ग्रहदशा कस्तो चल्दैछ, कुन रत्न धारण गर्नुपर्छ र कुन देवताको पूजा गर्दा राम्रो हुन्छ भन्नेमा उत्सुक मानिसहरू ज्योतिषहरूको आम्दानीको स्रोत भएको बताउँछिन् । भविष्य हेराउने, पूजापाठ र अन्य कर्मकाण्डमा महिलाले बढी चासो राख्ने भएकोले फलित ज्योतिषमा महिला नै आउँदा राम्रो हुने ठान्छिन्, उनी । वाल्मीकिबाटै आचार्य गरेका उनका श्रीमान् पनि ज्योतिष पेशामै छन् ।
 
एक महीनाअघि हिमाल सँगको कुराकानीमा वाल्मीकि विद्यापीठका उप प्राध्यापक पं. शिवराज सुवेदीले पछिल्लो समय फलित ज्योतिष पढ्ने महिलाको संख्या बढेको र तीमध्ये धेरैले यसलाई व्यवसाय बनाएकोमा प्रशन्नता व्यक्त गरेका थिए । “वाल्मीकिमा पढेकाहरू जर्मनी, अमेरिका लगायत विश्वका १६ देशका विश्वविद्यालयमा कार्यरत छन्”, ११ माघमा देहावसान भएका पं. सुवेदीको गुनासो थियो, “व्याकरण र नेपालीको राम्रो ज्ञान भएका शिक्षक खोज्दै विद्यापीठमा आउनेहरूले खालीहात फर्किनु परिरहेको छ ।” 
 
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत अहिले १४ आङ्गिक र पाँच सम्बन्धन प्राप्त गरी १९ विद्यापीठ छन् । यी विद्यापीठहरूमा संस्कृतसँगै अंग्रेजी, गणित लगायत १७ विषयको पढाइ हुन्छ ।

 

comments powered by Disqus

रमझम