१३ फागुन २०६९ | 24 February 2013

अख्तियारको छापा

Share:
  

अख्तियारको छापा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा। सीटीईभीटीले कलेजहरूलाई सम्बन्धन दिंदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले छापा मार्दा सदस्यसचिव जयबहादुर टण्डनले निर्णय पुस्तिका घरमा लगेर राख्ने गरेको खुलासा।

तिब्बती नागरिकद्वारा आत्मदाह

आत्मदाह प्रयास गरेका तिब्बती नागरिक डोमन डुक्चेको उपचारको क्रममा ३ फागुनमा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु। काठमाडौं बौद्धस्थित स्तुप नजिक २ फागुनमा शरीरमा आफैं आगो लगाएका डुक्चेलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो। तिब्बती शरणार्थी मुद्दालाई लिएर कसैले नेपालमा आत्मदाह गरेको यो पहिलो घटना हो।

ग्यासको मूल्यवृद्धि फिर्ता

एलपी ग्यासको भाउ बढाउने १ फागुनको सरकारी निर्णय चौतर्फी विरोधपछि २ फागुनमा फिर्ता। सरकारले उद्योगी–व्यवसायीहरुले प्रयोग गर्ने नीलो सिलिण्डरको रु.२१०० र घरायसी उपभोक्ताले चलाउने रातो सिलिण्डरको मूल्य बढाएर रु.१६५० पुर्‍याएको थियो। प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटरमार्फत एक महीनाका लागि मूल्य वृद्धि स्थगित गरिएको जनाएका छन्।

उर्लंदो सय करोड

महिलामाथि हुने हिंसा अन्त्यको माग गर्दै सञ्चालित 'उर्लंदो सय करोड अभियान' अन्तर्गत मानवअधिकारवादी, विद्यार्थी तथा विभिन्न पेशाकर्मीहरूद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन। प्रणय दिवसको अवसरमा र्‍याली, महिला हिंसा अन्त्यका लागि कडा कानून र दोषीमाथि कारबाहीको माग।

comments powered by Disqus

रमझम