१-१५ साउन २०६९ | 16-30 July 2012

रौनक आदिवासी चलचित्रको

Share:
  
p63

“इन्डिजिनियस फिल्म अर्र्काइभ' (आईएफए)ले २८–३१ असारमा गरेको छैटौं 'नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव'ले आदिवासी जनजातिका विषयप्रति चासो राख्नेहरूलाई फिल्म संख्या र गुणस्तरले उत्साहित बनायो। नेपालसहित २० देशका ७९ फिल्म र डकुमेन्ट्री समेटिएको यस पटकको महोत्सवमा राम्रा चलचित्र मात्र नबढी दर्शक संख्यामा समेत उल्लेख्य वृद्धि भयो। आयोजक संस्थाका अध्यक्ष नवीन सुब्बाले यस पटक महोत्सवले बृहत् रूप लिनुका साथै चलचित्रहरूको स्तर पनि धेरै बढेको बताए। यो महोत्सवमा प्रिमियर भएको चलचित्र संख्या नै १७ वटा पुग्यो। काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा भएको महोत्सवमा लामा छोटा गरी नेपालका २७ वटा फिल्म एवं डकुमेन्ट्री प्रदर्शन भए। खुला स्पर्धामा जनजाति फिल्मकर्मीका तीन वटा गैर–आदिवासी विषयका फिल्म थिए। यस पटक नेपालका फिल्महरू गैर–जनजाति निर्देशकले बनाएको आदिवासी र जनजाति निर्देशकले बनाएको गैर–आदिवासी विषयका गरी दुई वर्गमा छानिएका थिए। 


यो पटक अन्तर्राष्ट्रियतर्फ अष्ट्रेलिया, ब्राजिल, इक्वेडर, तान्जानिया र कम्बोडियादेखि क्यानाडा, अमेरिकासम्मका १९ देशका ५२ फिल्म प्रदर्शन भए। महोत्सवको जुरीमा अष्ट्रेलियाका निर्माता/निर्देशक एन्ड्रोवे भायल, भारतकी निर्माता/निर्देशक रिता दत्त र नेपालका मानवशास्त्री डा. डम्बर चेम्जोङ थिए। जनजाति सम्बन्धी पुस्तक, श्रव्यदृश्य र हस्तकला प्रदर्शनीले फिल्म महोत्सवमा विविधता थपेको थियो। यो समाचार तयार पार्दासम्म प्रतिस्पर्धाको नतिजा आइसकेको थिएन।


ऋषिराम कट्टेल 

comments powered by Disqus

रमझम