प्रिय सुमित,
उमेरका हिसाबले हामीबीच ठूलो दुरी छ, त्यसैले पुस्तान्तर पनि ठूलै हुनु स्वाभाविक हो। अनि हाम्रा सोचाइहरूमा यो पुस्तान्तर प्रतिबिम्बित हुनु पनि स्वाभाविक हो। त्यसैले मेरो सल्लाहलाई तिमीले जस्ताको त्यस्तै ग्रहण गर्नुपर्छ भन्ने छैन। तिम्रो वर्तमान यथार्थको संगीतमा 'रि–मिक्स' गर्दा मात्रै विगतमा सिर्जित विचारहरूले सार्थकता पाउनेछन्। तिमीमा अघिल्लो पुस्तासँग संवाद गर्ने चाहना हुनु पनि ठूलो कुरा हो।
संसारमा कुनै कुरा शाश्वत छ भने त्यो शायद सम्पूर्ण अस्तित्वको परिवर्तनशीलता नै होला। त्यसैले समय सँगसँगै, सत्यको चित्र पनि फेरिंदै जान्छ। हिजो निर्विवाद लागेको कुरा आज बेठीक लाग्न सक्छ। हिजो बिल्कुलै बेकार लागेको कुराको महत्व र अर्थ आज देखिन सक्छ। चिकित्साशास्त्रको इतिहासमा त झ्न् यस्ता उदाहरण बग्रेल्ती भेटिन्छन्। तिम्रो उमेरमा मैले सिकेका, जानेका धेरै कुरा अहिले पुराना भएका छन्। नयाँ अनुसन्धानका उपलब्धिका रूपमा आज हामीले स्वीकारिरहेका कुराहरू पनि एकदिन निरर्थक मानिन सक्छन्।
परिवर्तन भइरहेको छ सबै थोक– त्यो त हामी सबै मान्छौं। अझ् महत्वपूर्ण कुरा के भने यो परिवर्तनको गति झ्न् झ्न् तीव्र भइरहेको छ। हाम्रा गुरुहरूले सिके–जानेको कुरा पचास वर्षका लागि काम लाग्यो होला। हामीले जे सिक्यौं जे जान्यौं, त्यो मुश्किलले अर्को दश वर्ष काम लाग्यो होला। अहिले त समय यस्तो आइसक्यो– आज नयाँ कुरा सिकेर तिमी सुत्यौ, भोलि बिहान उठ्दा त्यो पुरानो भइसकेको हुन बेर छैन। अनि संचार प्रविधिमा भएको अभूतपूर्व विकासका कारण संसारमा कहाँ के भइरहेको छ, हामी बेखबर रहनै सक्दैनौं।
आज तिम्रो पुस्ताका निम्ति एकातिरबाट जीवन सजिलो भएको छ भने अर्कोतिरबाट झ्न् अप्ठ्यारो। गतिमा रमाउन सिक्नुपर्ने, गतिमै सिर्जना गर्नुपर्ने, सत्यको नयाँ उद्घाटनका निम्ति जहिल्यै तयार बस्नुपर्ने, पूर्वाग्रहहरूबाट सधैं पर रहनुपर्ने अचम्मको चुनौतीका बीच हुर्किरहेको छ तिम्रो पुस्ता। यस्तो चुनौतीको सामनाका निम्ति चाहिने क्षमतामा पनि पूर्ण छ तिम्रो पुस्ता। तर, तिमीले अँगाल्न लागेको पेशाको आफ्नै वैशिष्ट्य छ। बिरामी परेका आफू जस्तै मानिसहरूलाई मद्दत गर्ने अचम्मको उत्तरदायित्व सम्हाल्दैछौ तिमी। एउटा कुरा तिमीले याद राख्नै पर्छ– बिरामी भनेका बिग्रेका मेसिन हैनन् र तिम्रो भूमिका पनि मेकानिकको जस्तो मात्रै हैन।
तिमीले मेडिसिन पढ्न थाल्नुभन्दा निकै अगाडि मुन्नाभाई एम्बीबीएस्भन्ने हिन्दी फिल्म चर्चित भएको थियो। त्यसमा मेडिकल कलेजका डीन मानव स्वास्थ्य र स्वास्थ्य सेवाबारे अत्यन्त यान्त्रिक सोच राख्छन्। उनी बिरामीसँग भावनात्मक सम्बन्ध भयो भने डाक्टरले सही र वैज्ञानिक निर्णय गर्न नसक्ने ठान्छन्। तर, अनेक थरी भावनामध्ये करुणालाई सर्वाधिक महत्वपूर्ण, सुन्दर र महान मान्ने हो भने, त्यो 'भावना' नभएको डाक्टर कस्तो होला? सामाजिक जिम्मेवारीबोध नगरिकन गरिने विज्ञानको अर्चनाले जे दिए पनि जीवनको सौन्दर्यबोध हुँदैन।
अहिले इन्टर्नसीपमा वरिपरिका सबै कुरालाई गहिरिएर हेर्ने बानी बसाल। आफ्ना गुरुहरूमध्ये केहीलाई तिमी ज्ञान, सीप, शक्ति, धन हरेक हिसाबले सम्पन्न देख्नेछौ। तर ती पनि शान्त छैनन्, जीवनमा भरपुर रमाउन पाइरहेका छैनन्। अलि गहिरिएर हेर्दा तिमी देख्ने छौ– उनीहरूसँग सबथोक छ, तर करुणा र जीवनको सौन्दर्यबोध छैन। बिरामीलाई हेर्ने यान्त्रिक दृष्टिकोणले उनीहरूको आफ्नै जीवनको गतिलाई पनि यान्त्रिक बनाएको छ। अरू केहीलाई देख्नेछौ– ती त्यति सम्पन्न नहुन सक्छन्, एक वा अर्को कुराको अभावमा हुन सक्छन्, तर उनीहरू करुणाका धनी हुन सक्छन्। बिरामी परेको आफू जस्तै अर्को मानिसलाई शास्त्रीय मात्रै भएर नहेरी मानव–स्वास्थ्यका सामाजिक आयामप्रति सचेत भएर निर्णय गर्छन् ती। त्यस्ता डाक्टरहरू अभावकै बीचमा पनि रमाइरहेका देख्नेछौ। तिमीले आफ्नो शैली बनाउने पनि अहिले इन्टर्नसीपकै बेला हो।
सुमित! सपनाहरूको भारी बोकेर, युवा ऊर्जाले भरिएर चिकित्सा सेवामा प्रवेश गर्न लागेको तिमीलाई हृदयदेखि नै स्वागत छ। तिमीले जुनसुकै स्पेसियालिटी छाने हुन्छ, तर कुनै उपलब्धिले मान्छे हुनुको गरिमालाई नछोपोस्।
चिकित्सकहरूमाथि हुने दुर्व्यवहारलाई कसरी हेर्ने भन्ने चुनौती तिम्रो पुस्ताले पनि झेल्नुपर्नेछ। अत्यन्त जटिल र बहुआयामिक सवालबारे फेरि कुनै दिन कुरा गरौंला। अहिलेलाई यति मात्र भन्न सक्छु– चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूले मात्रै हैन, समाजका अरू अंग र राज्यले समेत 'स्वास्थ्य'लाई बुझन गरेको गम्भीर त्रुटिका कारण नहुनुपर्ने धेरै कुराहरू भइरहेका छन्। तिम्रो पुस्ताले 'स्वास्थ्य'सेवाका विभिन्न आयाम मात्र हैन, स्वयं 'स्वास्थ्य'कै नयाँ परिभाषाबारे पनि नसोची नहुने भइसकेको छ।
उन्नतिको शुभकामनासहित अहिलेलाई यत्ति।