विण्डोजले मे १९९० मा निकालेको विण्डोज– ३.१ नै नेपाल भित्रेको पहिलो विण्डोज हो। डसबाटै सञ्चालन गर्नुपर्ने भए पनि विन्डोज ३.१ मा एकैपटक धेरै एप्लिकेशनहरू चलाउन सकिन्थ्यो। त्यसपछि अगस्त १९९५ मा निस्केको विन्डोजको– ९५ भर्सन त्यसको एक वर्षमा नेपाल आइपुग्यो। डसको सहायता विना सञ्चालन हुने पहिलो विन्डोज अपरेटिङ्ग सिस्टम थियो, त्यो। त्यसमा विन्डोजको लोगो पनि फुलस्त्रि्कन देखिन्थ्यो। माउस र किबोर्ड दुई वटै इनपुट डिभाइस चल्ने विन्डोजको– ९५ भर्सनमा भएको स्टार्ट मेनु, डेस्कटप, घडी आदि सुविधाले नेपाली प्रयोगकर्ताहरूलाई मुग्ध पारेको पत्रकार उज्ज्वल आचार्य बताउँछन्। यसका पाँच वटा भर्सन बजारमा आए।
भर्सनको ओइरो
१९९८ मा विन्डोज– ९८ आएपछि विन्डोज– ९५ को आकर्षण सकियो। विन्डोज– ९८ मा नयाँ हार्डवेयरहरू सपोर्ट गर्ने, युएसबी चल्ने लगायतका सुविधाहरू थपिएका थिए। नेपालका अधिकांश कम्प्युटर इन्ष्टिच्युटले यही भर्सनबाट तालिम दिन शुरू गरेको कम्प्युटर शिक्षक विष्णु शाह सम्झ्न्छन्। सरकारी र गैर–सरकारी कार्यालयहरूले ठूलो परिमाणमा कम्प्युटर चलाउन थालेको पनि त्यही ताका थियो। “त्यसपछि आए, विन्डोज–२००० र विन्डोज मिलेनियम इडिसन”, शाह भन्छन्, “तर, यी दुवै विन्डोज नेपालमा व्यक्तिगत प्रयोजनका लागि एकदमै कम प्रयोग भए।”
अगस्त २००१ मा विश्वबजारमा आएको विन्डोज एक्सपी नेपालमा सर्वाधिक चलेको विन्डोज अपरेटिङ्ग सिस्टम हो। तर, बढीजसो पाइरेटेड विन्डोज प्रयोग हुने भएकाले नेपालमा कसले कुन विन्डोज चलाइरहेको छ भन्ने चाहिं थाहा नहुने कम्प्युटर इञ्जिनियर चन्दन गुप्ता बताउँछन्। तैपनि, बहुसंख्यक कम्प्युटर बिक्रेता र मर्मत गर्नेहरूले विन्डोज एक्सपी नै बढी प्रयोग गरेको देखिएकाले यसकै वर्चस्व छ भन्न सकिन्छ। विन्डोज एक्सपी आठ भर्सनमा उपलब्ध छन्। त्यसपछि निस्केको विण्डोज सर्भर– २००३ भने सर्भर कम्प्युटरहरूमा मात्र सीमित रह्यो।
विन्डोज एक्सपी निस्केको करीब पाँच वर्षपछि विन्डोज भिस्टा आयो। बजारमा आउनुअघि नै अत्यधिक प्रचार गरिएको विन्डोजमा पर्छ, विन्डोज भिस्टा। भिस्टामा पनि विन्डोज एक्सपी आउँदा जस्तै विन्डोज लोगो परिवर्तन भयो। इञ्जिनियर गुप्ताका अनुसार, सेक्युरिटी बगहरू विन्डोज भिस्टाको सबभन्दा ठूलो कमजोरी रह्यो। बढी भाइरस लाग्ने र ढिलो खुल्ने भएकाले विन्डोज भिस्टा त्यति चलेन। २००९ मा आएको विन्डोज– ७ भने धेरै प्रयोग भएको विण्डोजमा दरियो। विन्डोज– ७ प्रयोग भएका ब्राण्डेड र एसेम्बल्ड ल्यापटप तथा डेस्कटप कम्प्युटरहरू अहिले पनि नेपालमा थुप्रै भेटिन्छन्। विन्डोज एक्सपीभन्दा राम्रो लुक, राम्रो डेस्कटप, छिटो खुल्ने लगायतका सुविधाका कारण अहिले पनि यो धेरैको रोजाइमा पर्छ।
धेरै कुरा विन्डोज– ७ जस्तै भए पनि स्मार्ट स्टार्ट मेनु र सोसल मिडियासँगको सम्बन्धका कारण विन्डोज– ८ बजारमा आउनुभन्दा अघि नै चर्चित भयो। 'कन्जुमर प्रिभ्यु' बाट प्राप्त सुझावहरूलाई समावेश गरेर अक्टोबर २०१२ मा नेपाली बजारमा ल्याइयो, विन्डोज– ८। माइक्रोसफ्ट इन्नोभेसन सेन्टर, नेपाल नामको कम्पनी अहिले यसबारे जानकारी गराउन व्यस्त छ। यो त्यही आईटी कम्पनी हो, जसले विन्डोज एक्सपीलाई पहिलो पटक नेपालीमा अनुवाद गरेर सबै कमाण्ड र मेनुहरू पढ्न सकिने बनाएको थियो। नेपालमा विन्डोज– ८ का प्रयोगकर्ता बढेकाले आउँदा दिनमा निस्कने अपरेटिङ्ग सिस्टमहरूलाई थप सुविधायुक्त र आकर्षक बनाउने चुनौती छ। त्यही कारण, माइक्रोसफ्ट इनोभेसनले विद्यार्थी, अरू प्रयोगकर्ता र पार्टनरहरूलाई उत्पादनहरूबारे जानकारी र सुविधाहरू उपलब्ध गराइरहेको छ।
विश्वबजारमा जस्तै नेपालको अपरेटिङ्ग सिस्टम प्रयोगमा पनि माइक्रोसफ्ट विन्डोजकै वर्चस्व रह्यो। कम्तीमा ६ महीना र बढीमा तीन वर्षमै आएका नयाँ भर्सनहरूले विन्डोजको 'टाइमलाइन'लाई खँदिलो बनायो।
के हो विन्डोज?
कम्प्युटर चल्नलाई चाहिने पहिलो सफ्टवेयर हो, अपरेटिङ्ग सिस्टम। विन्डोज विश्वमा सबैभन्दा धेरै प्रयोग भएको अपरेटिङ्ग सिस्टम हो। धेरै वर्ष विश्वका प्रमुख धनीहरूको सूचीमा रहेका बिल गेट्सको कम्पनी माइक्रोसफ्टले विन्डोज उत्पादन गर्छ। विन्डोजको प्रमुख प्रतिस्पर्धीहरू म्याक ओएस र उबन्टु हुन्। तर, उनीहरूको विन्डोज लगायतका धेरै सफ्टवेयर पाइरेसी गरेर बेच्ने गिरोह विश्वभरि फैलिएको छ।
नेपालमै पनि त्यही चिज सस्तोमा पाइन्छ भने किन ओरिजिनल किनिरहनु भन्ने सोचका कारण सक्कली विन्डोज र अरू सफ्टवेयरहरू कमैले चलाउँछन्। अर्थात्, धेरैजसोले डेस्कटप या ल्यापटप किन्दा ओरिजिनल विन्डोज आयो भने आयो नआए पाइरेटेड चलाउँछन्। नेपाली बजारमा ओरिजिनल विन्डोजको मूल्य न्यूनतम रु.१० हजार पर्छ।