भारतका सात राज्यमा डेढ करोड नेपाली भाषी रहेको अनुमान छ, तीमध्ये ३० लाख असममा छन्। तीन करोड आवादी भएको असममा छरिएर बसेका नेपालीहरूले नेपाली भाषा, संस्कृति र नेपालीपन जोगाएर राखेका छन्। पितृभूमिको राजनीतिक परिवर्तन, भाषिक–साहित्यिक आन्दोलन र सामाजिक प्रगति असमी नेपालीहरूका लागि गहिरो चासोको विषय बन्छन्। असम नेपाली साहित्य परिषद् (अनेसाप) का अध्यक्ष नव सापकोटा भारतको यो पूर्वोत्तर राज्यलाई नेपाल बाहिर नेपालीहरूको दोस्रो ठूलो घर भन्छन्। तर भनेर के गर्नु, नेपाल र असमबीच व्यक्तिगतस्तरको आउजाउ बाहेक अन्य कुनै सम्बन्ध छैन।
यो अवस्थामा श्रवण मुकारुङ, शशी लुमुम्वु, राजकुमार दिक्पाललगायतका काठमाडौंका उत्साही साहित्यकार तथा संस्कृतिकर्मीहरूले गठन गरेको नेपाली वाङ्मय परिषद् (नेवाप) ले ठूलै आदान–प्रदान सम्पन्न गरेको छ, १९९औं भानु जयन्तीको अवसर पारेर। जनस्तरबाट पहिलो पटक भएको यो कार्यक्रम किन पनि महत्वपूर्ण रह्यो भने यसमा अनेसापका सापकोटा, रण काफ्ले र विष्णु क्षेत्री मात्र होइन, रोङबोङ तेराङले नेतृत्व गरेको असम साहित्य सभा (असास) का सात पदाधिकारी समेत काठमाडौं आएर नेपाली भाषाका आदिकविको जयन्ती मनाए। भारत सरकारको पद्मश्री पदकद्वारा विभूषित साहित्यकार तथा भाषाशास्त्री तेराङ असासका अध्यक्ष हुन्।
२९ असार बिहानको प्रभातफेरीपछि प्रज्ञा–भवन कमलादीमा आयोजित 'नेपाली–असमी साहित्य सम्वार्ता' मा दुवैतिरका प्राज्ञहरूले एकअर्कालाई सम्मानित गर्दै विचारहरू आदान–प्रदान गरे। नेवाप सल्लाहकार मुकारुङको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काईंला, असासका अध्यक्ष तेराङ, प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापक गोविन्दराज भट्टराई, अनेसाप अध्यक्ष सापकोटा, नेवाप अध्यक्ष लुमुम्वु र असासको अन्तर राज्य समन्वय समितिका विभागीय प्रमुखहरू क्रमशः नरेन हजारी, श्रीमती रुमी लस्कर बोरा र असमी नाटककार नगेन्द्र शर्माले नेपाल–असम साहित्यिक–सांस्कृतिक निकटतामाथि प्रकाश पारे। कुलपति काईंला र असास अध्यक्ष तेराङले दुवैतर्फका साहित्यिक कृतिको अनुवादको पहल थाल्ने बताए।
तीन दिनको लागि आएको असास र अनेसापको १० सदस्यीय टोलीलाई नेवापले भानु जयन्तीको अवसरमा भएका विभिन्न साहित्यिक कार्यक्रमहरूमा सरिक गराउनुको साथै काठमाडौंका धार्मिक र सांस्कृतिक स्थलहरूको भ्रमण गराउँदै बिदा गर्यो।