१३ फागुन २०६९ | 24 February 2013

नाइजेरियाको चासो

Share:
  
अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित नाइजेरियाको डान्गोटे ग्रुपले नेपालमा ठूला परियोजनामा अर्बौं लगानी गर्ने इच्छा देखाएको छ।

तस्विर: डम्बरकृष्ण श्रेष्ठ
नेपालमा लगानीको अवस्थाबारे एक साता लामो प्रारम्भिक अध्ययन गरेर नाइजेरियाली कम्पनी डान्गोटेको फुड प्रोजेक्टका ग्रुप जनरल म्यानेजर हिक्मत थापा २६ माघमा नाइजेरिया फर्केका छन्। ६ वर्षदेखि डान्गोटे गु्रपको नुडल्समा काम गर्दै आएका खाद्य प्राविधिज्ञ थापालाई कम्पनीले लगानीको वातावरण बुझन नेपाल पठाएको थियो। सो ग्रुपले नेपालमा करीब रु.७० अर्बको लगानीमा सिमेन्ट कारखाना स्थापना गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावमाथि छलफल गर्न २ फागुनमा बसेको लगानी बोर्डको बैठकले तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ। सरकारी अधिकारी र विभिन्न राजनीतिक दलका नेतासँग छलफल गरेका उनले हिमाल लाई छलफल निकै सकारात्मक रहेको प्रतिक्रिया दिए। थापा भन्छन्, “नेपालको समग्र विकासका लागि विदेशी लगानी भित्र्याउने विषयमा सरकारी अधिकारी र दलका नेताहरूले आ–आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ।”

सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताका कारण कतिपय पुराना उद्योगमा ताला लागेको छ। थप लगानी नहुँदा नयाँ उद्योग खुल्न सकेका छैनन्। बेरोजगारी बढेको छर रोजगारीको खोजीमा दिनहुँ हजारौं नेपाली विदेशिने गरेका छन्। अर्बौंको लगानी भित्र्याउन चाहेको डान्गोटे ग्रुप जस्तो कम्पनी नेपालमा आउने वातावरण बनेमा सिंगो मुलुकको औद्योगिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।

डान्गोटेले आफ्नो लगानीको सुरक्षाका लागि राजनीतिक स्थायित्वलाई पहिलो शर्तका रूपमा अघि सारेको छ। कम्पनीको फुड प्रोजेक्टका ग्रुप जनरल म्यानेजर हिक्मत थापा राजनीतिक सहमतिका लागि दलहरूबीच शुरू भएको संवाद विदेशी लगानी भित्र्याउन सहयोगी हुनेमा आशावादी छन्। नेपालमा जारी राजनीतिक गतिरोधको अन्त्य भई स्थायित्व हुनासाथ लगानी भित्र्याउनका लागि थप प्रक्रिया अघि बढाउने ग्रुपको योजना छ। पूर्वाधार निर्माण र उत्पादनमूलक क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएको डान्गोटेले नेपालमा सिमेन्ट कारखाना र जलविद्युत्को क्षेत्रमा काम गर्न चासो देखाएको छ। यसका लागि नेपालमा अहिलेसम्म संचालन नभएको स्तरको ठूलो लगानीको मेगा प्रोजेक्ट संचालन गर्ने योजना रहेको थापाले बताए।

डान्गोटेसँग चीनले पनि सहकार्य गरेको छ। डान्गोटे ग्रुप र चीनको सिनोमा इन्टरनेशनल कन्स्ट्रक्सनले ३ अर्ब ५० करोड अमेरिकी डलरको संयुक्त लगानीमा चीनमा सिमेन्ट प्लान्ट निर्माण गर्दैछन्, जसको उत्पादन अफ्रिकाको नाइजेरिया, सेनेगल लगायतका मुलुकमा निर्यात हुनेछ। निकट भविष्यमै भारतमा पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने डान्गोटेको योजना छ।

के हो डान्गोटे?

जाम्बिया, सुडान, घाना, क्यामरुनलगायतका १३ अफ्रिकी मुलुकमा लगानी गरेको डान्गोटे ग्रुप अफ्रिकाकै सबैभन्दा ठूलो व्यापारिक घराना हो। विश्वको प्रतिष्ठित व्यावसायिक पत्रिका फोर्ब्स म्यागाजिन ले ग्रुपका अध्यक्ष अलहजी अलिकोलाई विश्वको ७६औं धनी व्यक्तिको सूचीमा राखेको छ। संसारका एक अर्ब काला जातिका मानिसहरूमध्ये त उनी पहिलो धनी व्यक्ति हुन्। नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनका आर्थिक सल्लाहकार समितिका अध्यक्ष समेत हुन् अलिको।

व्यापारमा विविधीकरण अपनाएको डान्गोटे ग्रुपले खाद्यान्नदेखि पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्दै आएको छ। चिनी, नुन, पास्ता, मैदा, जुस, चामल, नुडल जस्ता खाद्यपदार्थ उत्पादन तथा सिमेन्ट, पेट्रोल, मलखाद, यातायातदेखि पूर्वाधार निर्माणमा डान्गोटे अन्तर्राष्ट्रिय रूपमै प्रख्यात मानिन्छ। सन् १९८१ मा सिमेन्टको उत्पादन र व्यापारमा हात हालेको ग्रुपले १९९० देखि अन्य क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको हो।

*रामजी दाहाल *

comments powered by Disqus

रमझम