१-१५ साउन २०६९ | 16-30 July 2012

सुन्दर शान्त विविध नेपाल

Share:
  
- अमृत गुरुङ
कलाकारले हामी नेपाली हौं भनेर चिच्याइरहनुपर्दैन, राष्ट्रिय एकता र सद्भावको सन्देश दिनसके पुग्छ।
p64

'म अमृत नेपाली' शीर्षकको मेरो लेखप्रति फेसबूकमा पाएको व्यापक प्रतिक्रियाबाट एकदम प्रभावित र भावविह्वल भएँ। व्यक्त विचारप्रति म सहमत, र प्रजातान्त्रिक मान्यताअनुसार कतिसँग असहमत पनि छु। महवपूर्ण कुरा स्वस्थ छलफलको सुरुआत हो।

मैले कहिल्यै आफूलाई अमृत गुरुङ बाहेक अरू नामले चिनाइनँ। पहिलेदेखि यही नामले चिनिएकोले अर्को नाम चाहिन्छ जस्तो पनि लागेन। अमृत नेपाली भनेर मैले आफ्नो अनुभूति पोखेको हुँ। तैपनि सन् १९९० तिर आफूले संगीत शुरू गर्दाताकाका वरिष्ठ कलाकारहरू जति जान्ने भएको भए मैले आफूलाई अर्कै नामले चिनाउने थिएँ।

मलाई ती वरिष्ठ र आदरणीय कलाकारमाथि गौरव छ, जसले आफूलाई थरबाट नचिनाउने अभियान चलाए। म १९६०–७० र अझ् त्योभन्दा अघिको कुरा गर्दैछु। मास्टर रत्नदास प्रकाश, पन्नाकाजी, नारायणगोपाल, फत्तेमान, प्रेमध्वज, मणिकरत्न, बच्चु कैलाश, नातिकाजी, शिवशंकर, मेलवा देवी, तारादेवी, कोइली देवी जस्ता केही कलाकारले आफूलाई थरबाट चिनाउन चाहेनन्। केही 'बौद्धिक' हरूले यी नामको पछाडि गुरुवाचार्य, राजभण्डारी, प्रधान, बस्नेत, श्रेष्ठ, मानन्धर, माथेमा लेख्न शुरू नगरेका भए म न उहाँहरूलाई थरले चिन्थें, न चिन्न खोज्थें। ती बौद्धिकलाई अभिमान हुँदो हो के के न पत्ता लगाएँ भनेर, तर उनीहरूले त्यस पछाडिको दर्शन बुझ्ेनन्। मलाई लाग्छ, आजका कलाकारले पनि वरिष्ठहरूको दूरदर्शी कदमको मर्म बुझेर उहाँहरूको बाटो पछ्याउनुपर्छ।

'श्रृंगार' अल्बम सार्वजनिक हुँदाको एउटा घटना सम्झ्ाउन चाहन्छु, जसमा नेपथ्यले सरुभक्त रचित 'सरुमारानी' गीत गाएको छ। अल्बममा म्यूजिक नेपालका मानिसहरूले उनको पूरै नाम राखिदिन चाहेका थिए― सरुभक्त श्रेष्ठ। सरुभक्त दाइले मलाई फोन गरेर गुनासो गर्दै अबदेखि आफ्नो नामको पछाडि थर उल्लेख नगरिदिन आग्रह गर्नुभयो।

मैले गाएका पछिल्ला केही गीतमध्ये विक्रम सुब्बाले लेखेको 'मेरो देश' पनि पर्छ। नेपथ्यको आठौं अल्बमको शीर्ष गीत पनि बन्यो― मेरो देश। यो गीतमा पछि भूषण दाहालले म्यूजिक भिडियो बनाए। भिडियोमा कलाकार डेभिड डोग्लसले भावपूर्ण अभिव्यक्तिका साथ नेपालको झ्ण्डाको चित्र कोरेका छन्। डेभिड नाम आफैंमा अंग्रेजी र क्रिश्चियन सुनिन्छ। तर उनी कानूनी हैसियतले मात्र होइन, हृदयदेखि नेपाली हुन्। छायांकनको दिन संयोगवश सरस्वती पूजा परेकोले डेभिडले चित्र कोर्न अनिच्छा देखाएका थिए, किनभने त्यस दिन उनी आफ्नो आराध्य ज्ञानकी देवी सरस्वतीको सम्मानमा कुचीलाई आराम दिने गर्दथे। कवि विक्रम सुब्बा सिद्धहस्त लेखक हुन्। तर कल्पना गरौं, उनले त्यो गीत लिम्बू भाषामा लेखेको भए मैले संगीत भर्न र गाउन सक्थें होला? सकेकै भए पनि तपाईंहरू सबैले सुन्न र बुझन सक्नुहुन्थ्यो होला?
दुईदशक लामो संगीत यात्रामा मैले गाइने, दमै, लेप्चा, राई, बाहुन, मगर, क्षेत्री, नेवार, तामाङ, गुरुङ आदिले लेखेका गीत कम्पोज गरेको र गाएको छु। सूची अझ्ै लामो हुनसक्छ। मलाई यस्तो विविधताको अनुभव सँगाल्ने अवसर दिएको छ, नेपाली भाषाले।

आफूले लेखेका, संगीत भरेका र गाएका अधिकांश सामाजिक र देशभक्तिपूर्ण गीतमा मैले सधैं हामी कस्ता नेपाली हौं भन्ने ठाडो शैली भन्दा हाम्रो राष्ट्रिय एकता र सद्भावको सन्देश दिने सिर्जनशील काव्यात्मक शैली पछ्याउने गरेको छु। मैले म नेपाली हुँ भन्ने प्रमाणित गरिरहनु र म्यूजिक भिडियो वा सांगीतिक कार्यक्रममा नेपाली झ्ण्डा हल्लाएर देशभक्तिपूर्ण गीत गाएको देखाइरहनुपर्दैन।

पहिलेपहिले सिर्जना गरिएका गीतहरूमा मैले दुई किसिमका राष्ट्रिय गीत पाएको छुः एकथरी, राष्ट्रियताको भावना जगाउन आफू नेपाली हो भनेर चिच्याउने र पुर्खाहरूको इतिहास, बलिदान र बहादुरीको बखान गर्ने; अर्कोथरी, हामी नेपाली हौं भन्न तथा इतिहासमा हाम्रा पुर्खाको बलिदान तथा गरिमाको बखान गर्न बाध्य नपारी राष्ट्रिय एकता र सद्भावको सन्देश दिने। मेरो रोजाइका सामाजिक–देशभक्तिपूर्ण गीत दोस्रो किसिमका हुन्।


पछिल्ला वर्ष रेकर्ड भएका मलाई मनपर्ने सामाजिक–देशभक्तिपूर्ण गीतहरूमा श्रद्धेय सिद्धिचरण श्रेष्ठको एउटा गीत छ। ५० वर्ष पुरानो यो गीतलाई केही वर्षअघि कुशल संगीतकार न्ह्यू बज्राचार्यको संगीतमा योगेश्वर अमात्यले सशक्त स्वरमा गाएका थिए― क्यारुँ यो देशको निम्ति क्यारुँ। यो सुन्दर रचनामा भूषण दाहालको आकर्षक भिडियोले सुनमा सुगन्ध थपेको छ (हेर्नुस्ः http://www.youtube.com/watch?v=M9y6LB5NDkM मा)।

comments powered by Disqus

रमझम