२० फागुन २०६९ | 3 March 2013

करुणाको कुरा

Share:
  

तस्वीर: ऋषिराम कट्टेल
प्रमदा शाह।
आफैं मन्दिरको बास, तर मनमा छ सेवाभाव। काठमाडौं कमलादीको गणेशस्थान मन्दिर परिसरलाई आश्रय बनाएकी ज्ञानु देउला (५४) लाई परिवेशले कुकुरप्रति करुणामय बनाएको छ। उनी यो जस ती मानिसहरूलाई दिन्छिन्, जसले घरमा पालेका कुकुर बूढो र असक्त भएपछि एकाबिहानै मन्दिर आउने निहुँमा अलपत्र छाडेर हिंडे। अहिले उनी यस्ता २० वटा बेवारिसे कुकुरको हेरचाह गरिरहेकी छन्।

गएको तीन वर्षमा बेवारिसे कुकुर पाल्दा र उपचार गर्दा उनले खाई–नखाई सञ्चय गरेको रु.१ लाख २५ हजार खर्च भइसकेको छ। कुकुरहरूप्रति उनको माया कतिसम्म छ भने उनी एकदमै हुनेखानेले जसरी तिनको जन्मदिन मनाइदिन्छिन्। कुकुर मर्दा काजक्रिया गरिदिने र उनीहरूको आत्माले शान्ति पाओस् भनेर चारधाम जाने मानिससँग तिनको फोटो र तिल, जौ पठाउँछिन्। उनले मरेका १५ कुकुरका नाममा एक―एक वटा बिरुवा पनि रोपेकी छिन्।

बलियो आर्थिक पृष्ठभूमि भएकी प्रमदा शाह चाहिं कुकुरलाई संस्थागत सेवा गर्नेमा पर्छिन्। एनिमल नेपालकी उपाध्यक्ष उनी सानो छँदा घरमा पालिएको जर्मन शेफर्ड कुकुरको वफादारीको गुणप्रति कृतज्ञ हुँदै कुकुर सेवामा लागेकी हुन्। अहिले पनि एउटा रैथानेसहित ६ वटा कुकुर पालेकी शाह काठमाडौंवासीमा विदेशी प्रजातिका कुकुरप्रतिको मोह बढ्दै जाँदा रैथाने कुकुरहरू सडकमा पुग्ने गरेको बताउँछिन्। डच नागरिक लुसिया डेबृजसँग मिलेर बनाएको शाहको एनिमल नेपालले सडकका बूढा र असक्त कुकुरका लागि आश्रयस्थल खोल्ने प्रयास गरिरहेको छ।

ज्ञानु देउला।
संस्थाले काठमाडौंको चोभारमा ७ रोपनी जग्गा भाडामा लिएर खोलेको सेल्टरमा अहिले २६ वटा बिरामी कुकुरको उपचार भइरहेको छ। डाक्टर सुरेन्द्र बस्यालका अनुसार, अरू १६ वटा बिरामी कुकुरको अप्रेशन गरेर उपचार गरिएको छ। यो संस्थाले पछिल्लो तीन वर्षमा काठमाडौंका सडकका ८,५०० कुकुरलाई स्वास्थ्य सेवा दिएको छ। क्यानल क्लबभन्दा भिन्न नाफारहित काम गर्ने यो संस्थाले अहिलेसम्म सडकका १,४६६ पोथी कुकुरको बन्ध्याकरण गरेको छ। सडकका कुकुरलाई बिष खुवाएर बीभत्स तरिकाले मार्ने महानगरपालिकाको काइदा रोक्न यसो गरिएको बताउँदै शाह भन्छिन्, “राम्रो रेखदेख नहुँदा मात्र समुदायको समस्या बन्ने हो कुकुर।”

उता भक्तपुरमा पशु कल्याण समाज नामको संस्थाले तीन वर्षदेखि समुदायमा कुकुर व्यवस्थापन गरिरहेको छ। गत वर्ष शहरका २०० कुकुरको बन्ध्याकरण गरेको र ५५० वटालाई एन्टी रेविज विरुद्धको भ्याक्सिन दिएको समाजका डाक्टर प्रणवराज जोशीले बताए। करुणा र समाज कल्याणको भावनाबाट प्रेरित यी व्यक्ति र संस्थाहरूको कामले सबैबाट सहयोगको अपेक्षा गरेको छ।

मीना शर्मा

comments powered by Disqus

रमझम