आज हामीले 'नेपालको धरहरा' अथवा भीमसेनस्तम्भ भनेर चिनेको, देखेको स्मारक मुख्तियार भीमसेन थापाले 'मिनार' भनेर बनाएको दोस्रो संरचना हो। वि.सं. १८८१ मा उनले 'राष्ट्रिय स्वतन्त्रता, अखण्डता, गोर्खाली स्वाभिमान, उन्नति, प्रगति र अंग्रेजले वार्षिक भारु २ लाख दिएर अधीनमा पार्न खोजेको तराईको भूभाग फिर्ता लिएको प्रतीक' को रूपमा अहिलेको धरहराको दक्षिण–पश्चिमपट्टि रहेको भीमसेन निवास (जनरलवाग) परिसरमा निर्माण गरेको मुगल शैलीको ११ तले पहिलो मिनार नौ वर्षपछि १८९० को भूकम्पमा परेको थियो।
इतिहासकार पुरुषोत्तमशमशेर राणाको संकलनमा रहेको ठाडो चर्केको चित्र संभवतः भूकम्पपछिको त्यही 'मिनार'को थियो वा बनाउनासाथ चर्केकोले भत्काएर फेरि बनाउनुअघिको पनि हुनसक्छ। तर त्यो 'मिनार' भूकम्पपछि पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो। रानी ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै 'मिनार'को इच्छा गरेपछि भीमसेनले १८८२ मा बनाइदिएको दोस्रो 'मिनार' चाहिं अहिलेको धरहरा हो। १८९० को भूकम्पमा सबुत रहेको यो 'मिनार'लाई त्यसको १०० वर्षपछि १९९० सालमा आएको महाभूकम्पले भत्काइदिएकोले राणा प्रधानमन्त्री जुद्धशमशेरले नौ तलामा सीमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराएका हुन्।