२६ जेठमा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार केदारमानसिं श्रेष्ठ भन्छन्, “जिउँदो मान्छेलाई मरिसक्यो भन्ने समाचार नबनाउनुहोला।”
एउटा पत्रकारको जीवनमा पुरस्कारको के–कस्तो महत्व हुन्छ?
म बढीजसो पश्चिमी सञ्चारमाध्यममा आवद्ध रहें। उनीहरूले तारिफलाई भन्दा बढी आलोचनात्मक लेखाइमा जोड दिन्छन्। आधा शताब्दी लामो पत्रकार जीवनमा मैले कसैलाई खुशी बनाउन समाचार लेखिनँ। एक्कासि राष्ट्रिय पुरस्कार पाउँदा गर्व महसूस गरेको छु।
तपाईंले पत्रकारिता शुरू गर्दाको समय र अहिलेको अवस्थामा के फरक छ?
हाम्रो पालामा नपढेको बिग्रिए ड्राइभर, पढेको बिग्रिए पत्रकार भनिन्थ्यो। अहिले पत्रकारको मानसम्मान छ। हामी समाचार पठाउन लैनचौरस्थित भारतीय दूतावास जान्थ्यौं, अहिले प्रविधि विकासले पत्रकारितालाई सजिलो बनाएको छ।
नेपाली पत्रकारितामा आचारसंहिताको अवस्था कस्तो देख्नुहुन्छ?
जतिसुकै नयाँ र ठूलो समाचार भए पनि समाजमा नराम्रो असर पार्ने समाचार हामी छाप्दैनथ्यौं। तर, अहिले जिउँदो मान्छेलाई मरेको भनेको पटक–पटक पढेको, हेरेको र सुनेको छु। हातमा क्यामरा र कलम छ भन्दैमा कसैलाई होच्याएर प्रश्न नगर्नुस्, प्रमाण नभएका कुरा नछाप्नुस्, नबजाउनुस्। कर्तव्य, अनुशासन, मर्यादा र नैतिकता पत्रकारको शक्ति हो।
सञ्चार क्षेत्रमा बारम्बार आक्रमण भइरहेको छ, समस्या कहाँ देख्नुहुन्छ?
पत्रकारलाई मार्नेसम्मको हर्कत भएको माओवादी युद्ध पछि हो। तर, पत्रकारले मान्छे टोक्ने कुकुरलाई टोक्न जानुहुँदैन। मेरै कुरा गर्नुहुन्छ भने, मरिचमानसिं श्रेष्ठ प्रधानमन्त्री हुँदा दरबारको समाचारलाई लिएर घर ध्वस्त बनाउने धम्की आयो। मैले ९० वर्षकी आमा भएको परिवार जलाउनु भन्दा मलाई गोलीले उडाऊ भनें। केही दिनपछि मरिचमान आफैंले फोन गरेर राजा वीरेन्द्रले दिएको धन्यवाद सुनाए। मेरो पत्रकारिता मर्यादित नभएको भए मैले कि सम्झ्ौता गर्नुपर्थ्यो कि त समस्या झेल्नुपर्थ्यो।
नेपाली पत्रकारिताको विकासका लागि के–के गर्नुपर्ला?
पत्रकारको वृत्ति–विकास नहुने माहोलमा निर्भीक र स्वतन्त्र पत्रकारिता सम्भव छैन। जीवन बीमा, जागिरको सुरक्षा जस्ता कुराहरू वृत्ति–विकासका आधार हुन्। यसका लागि सरकार र पत्रकारसम्बद्ध संघसंस्थाले पहल गर्नुपर्छ। पत्रकारहरू चाहिं दक्षता वृद्धि र निष्पक्ष पत्रकारितामा दत्तचित्त हुनुपर्छ।