मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अलग्गिएर १४ असारमा राष्ट्रिय मधेश समाजवादी पार्टीको घोषणा गरेका शरतसिंह भण्डारी भन्छन्, “विभेद र उत्पीडनमा परेका समुदायको आवाज नउठाउने पार्टी समाप्त भएर जानेछन्।”
पार्टीहरू फुटेका फुट्यै छन्, तपाईंले पनि के आवश्यकताले फुटाउनुभयो?
जुन उद्देश्यका लागि फोरम लोकतान्त्रिक गठन भएको थियो त्यो आफ्नो नीति र सिद्धान्तबाट विचलित भएपछि नयाँ पार्टी गठन गर्नु पर्यो। आन्तरिक औपनिवेशीकरणमा परेका मधेशी जनतालाई अधिकारसम्पन्न गराउनु हाम्रो मुख्य लक्ष्य हो। जनताको वास्तविक मुद्दा बोकेर पार्टी खुल्दा अन्यथा मान्नुपर्दैन।
मधेशी समुदायका लागि यति धेरै पार्टी चाहिन्छ र?
मधेशी जनताको अधिकारलाई भन्दा सत्ता स्वार्थलाई हेर्ने पार्टी जति धेरै भए पनि जनताले केही पाउँदैनन्। हामी मधेशी, आदिवासी/जनजाति र दलितको मुद्दालाई महत्वका साथ उठाउँदैछौं।
पार्टीहरू फुट्ने प्रक्रियाले मुलुकको राजनीतिक विकासक्रममा असर पारिरहेको छैन?
प्रमुख भनिएका दलहरूको अक्षमताकै कारण चार वर्षमा संविधानसभाबाट मुलुकले निकास पाएन। संसद्मा बढी सीट भएका दलहरूबाट राजनीतिक निकास आइदिएको भए यति धेरै पार्टीहरू बन्ने पनि थिएनन् होला। तर, धेरै पार्टी गठन हुँदा लोकतन्त्र बलियो नै हुन्छ।
जातीय, क्षेत्रीय पार्टीहरूको बढोत्तरीले राष्ट्रिय पार्टीहरूलाई कस्तो असर गर्ला?
राष्ट्रिय भनिएका पार्टीहरूको कथनी र करनीमा अन्तर आएर नै हामीले नयाँ पार्टी बनाएका हौं। वर्गसंघर्षको नारा लगाउने कम्युनिष्ट पार्टीहरू नै जातीय राजनीतिमा लागेको सबैले देखेकै छौं। विभेद र उत्पीडनमा परेका समुदायको मुद्दा नउठाउने पार्टीहरू समाप्त भएर जानेछन्। आकारमा ठूलो वा सानो हुनुले त्यो पार्टीको स्थायित्व निर्धारण गर्ने हैन। संघीय प्रदेश निर्माण नहुँदासम्म त सबै पार्टीलाई राष्ट्रिय नै भन्नुपर्छ।
अहिलेको राजनीतिक संकटको निकास के हुनसक्छ?
मुलुकमा संवैधानिक संकट देखिएको छ भने प्रधानमन्त्रीमा नैतिक संकट। संवैधानिक संकट हल गर्न राजनीतिक दलहरूबीचको सहमति आवश्यक छ। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले कामचलाउ भनिसकेको अवस्थामा बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट राजीनामा दिएर सहमतिको ढोका खोलिदिनुपर्छ।