२७ फागुन २०६९ | 10 March 2013

राजनीतिक कलहको स्मरण

Share:
  

दलीय द्वन्द्वः राजनीतिक

चलखेलका बेलीविस्तार

लेखकः हरिबहादुर थापा

प्रकाशकः साङ्ग्रिला बुक्स्

पृष्ठः ३९०+१४

मूल्यः रु.३७५/–

गत वर्ष सूचना तथा सञ्चार मन्त्री भएको बेला सवर्ोेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जयप्रकाशप्रसाद गुप्ताले न्यायाधीशले आफूविरुद्ध पूर्वाग्रह राखेर फैसला सुनाएको आरोप लगाए। २०४८ मा कांग्रेसले बहुमतको सरकार गठन गरेताका चर्चामा रहेको 'तेल कांग्रेस' र 'लाठी कांग्रेस' भन्ने आन्तरिक विवादले आफूलाई खोरमा पुर्‍याएको गुप्ताको दाबी थियो। उनको आरोपमा सत्यता होला/नहोला तर यसले एउटै पार्टीमा हुँदाको बेमेलको दीर्घकालीन असर कहाँसम्म पुग्दो छ भन्ने कुराको भने स्पष्ट संकेत गरेको छ। पार्टीभित्र देखिएका यस्तै गुट, उपगुट तथा पार्टी–पार्टीबीचको टकरावले मुलुकको समग्र राजनीतिमा पारेको प्रभावको चिरफार गरेका छन्, पत्रकार हरिबहादुर थापाले दलीय द्वन्द्व पुस्तकमा।

पुस्तकमा पछिल्लो ६ दशकको राजनीतिक आरोह अवरोह समेटिएको छ। 'दलहरूमा टुट, फुट, गुट र लुट' शीर्षकमा थापाले एमाओवादी, कांग्रेस, एमाले, सद्भावना, राप्रपालगायतका दलहरूको विभाजनको अन्तरकथा खोतलेका छन्। कांग्रेस र एमालेको विभाजनलाई विस्तृत रूपमा केलाएका लेखकले पार्टीहरूको विभाजनले मुलुकमा अस्थिरता र संक्रमणकाल बढाएको उल्लेख गरेका छन्। पुस्तकमा एमाले फुटाउन खुमबहादुर खड्काले वामदेव गौतमलाई डेढ करोड रुपैयाँ दिएको र कांग्रेस फुटाउन एमालेले उमेश गिरीलाई रु.२ करोड दिएको प्रसंग छ। राजनीतिकर्मीहरूमा लोकतान्त्रिक संस्कार र दलगत चरित्रको अभाव तथा सत्ताकेन्द्रित व्यक्तिवादी प्रवृत्ति नै पार्टी विभाजनको प्रमुख कारक रहेको निष्कर्ष किताबमा छ।

थापाले पुस्तकको पहिलो परिच्छेदमा बहुदलीय व्यवस्थामा सबैभन्दा बढी सत्ताको बागडोर सम्हालेको कांग्रेस, कम्युनिष्ट र दरबारसँगको शक्तिसंघर्षको चर्चा गरेका छन्। कम्युनिष्ट र दरबार मिलेर कांग्रेसलाई ध्वस्त पार्न चाहेको तथा कांग्रेसले कम्युनिष्टलाई दरबारियालाई भन्दा बढी अधिनायकवादीको व्यवहार गरेको उनको विश्लेषण छ। कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा शुरू गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दरबारलाई हेर्ने कम्युनिष्ट दृष्टिकोण मन नपराएर आस्था बदलेकोे, वीपी कोइरालाको आत्मवृत्तान्त सार्वजनिक भएपछि मात्रै भारतलाई हेर्ने कांग्रेसको यथार्थ दृष्टिकोणबारे कम्युनिष्टहरू जानकार बनेको, उपप्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ २०३८ अघि कांग्रेस रहेको, २०५४ मा एमालेले आफ्नै पार्टीकी विश्वेश्वरा दाहाललाई उम्मेदवारी फिर्ता गर्न लगाएर राप्रपाकी चन्दा शाहलाई राष्ट्रियसभा सदस्य बनाएको, २०५० को उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई हराउन गिरिजाप्रसाद कोइरालाको निर्देशनमा सुशील कोइरालाहरू खुलेरै लागेका रोचक प्रसंगहरू पुस्तकमा छन्।

लोकतन्त्रको विकल्प लोकतन्त्र र दलको विकल्प दल भन्नेमा लेखक स्पष्ट छन्। लोकतान्त्रिक शासन व्यवस्थाको खुलेरै वकालत गरेका लेखक कांग्रेस निकट रहेको पाठकहरूले सजिलै बुझ्न सक्छन्। पुस्तकमा कांग्रेस, कम्युनिष्ट र दरबारइतरका दलहरूले धेरै स्थान पाएका छैनन्। संविधानसभा विघटनपछिका घटना समेत समावेश गरिएको पुस्तकमा क्षेत्रीय, जातीय दलहरूको र अझ् २०५० पछि नेपालको राजनीतिमा निर्णायक हुनपुगेका पूर्व पञ्चहरूको पनि पर्याप्त चर्चा भएको भए सुनमा सुगन्ध हुनेथियो।

सन्त गाहा मगर


प्राप्त कृति

खोजका कुरा/खोज अभ्यास

सम्पादक : शरच्चन्द्र वस्ती

प्रकाशकः खोज पत्रकारिता केन्द्र

पृष्ठः ६३/१४२

सन् २०१०–११ मा खोज पत्रकारिता केन्द्रले चलाएका चार वटा तालीमपछि सहभागीहरुले गरेको अभ्यास समेटेर खोज अभ्यास पुस्तक प्रकाशित गरेको छ।

खोपकेकै अर्को पुस्तक खोजका कुरा देशका पाका, सक्रिय र युवा पत्रकारका साथै नेपाली पत्रकारितालाई नजिकबाट नियालिरहेकाका विचार लिपिबद्ध गरिएको संग्रह हो। दुवै कृति खोज पत्रकारितामा रुचि राख्नेहरुका लागि पठनीय छन्।


संकल्प

लेखकः नैनसिंह महर

प्रकाशकः सुरेश जोशी

पृष्ठः ५६+८,

मूल्यः रु.५०

पार्टी नेतृत्वले महाधिवेशन हुन नदिई तदर्थवादतर्फ उन्मुख गराएकै कारण नेपाल विद्यार्थी संघको संगठन खुम्चिंदै गएको कटु यथार्थ उल्लेख गर्दै नेविसंघका नेता नैनसिंह महरले राजनीति, सामाजिक र शैक्षिक रुपान्तरणका पक्षमा संगठनलाई समयानुकूल बनाउन आवश्यक दृष्टिकोण सहितको पुस्तक संकल्प प्रकाशित गरेका छन्।

comments powered by Disqus

रमझम