४ चैत्र २०६९ | 17 March 2013

अज्ञानताबाट नाजायज फाइदा

Share:
  
- ऋषिराम कट्टेल
'यौन दुर्बलता' भएका भनिएकाहरूमाथि ठगी धन्दा पनि चलाइएको छ।

यौन उत्तेजना बढाउन लिंगमा मालिस गर्न प्रयोग गरिने भनिएको जापानी तेल र मलेसियन डीम तेल।
दैनिक र साप्ताहिक पत्रिकाहरूमा छापिएका विज्ञापन देख्दा लाग्छ, यौन समस्याबाट पीडित नेपालीहरूको संख्या अत्यधिक छ। र, त्यो समस्याको शतप्रतिशत समाधान गर्ने उपचार केन्द्र र औषधिको पनि यहाँ कुनै कमी छैन। तर, विज्ञापन छपाइरहेका 'उपचार केन्द्र' हरूले 'पीडितहरू'को पीडा कम गरिरहेका छन् या झ्न् बढाउँदैछन्, कमैको ध्यान गएको छ।

भ्रमको घातक खेती

धन्वन्तरी आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर र माता मनोकामना आरोग्य केन्द्रका संचालक सेक्सोलोजिस्ट डा. सुबोधकुमार पोखरेल यौन समस्यालगायत कुनै पनि रोगलाई शतप्रतिशत निको पार्छु भन्नु भ्रम बाहेक केही नभएको बताउँछन्। डा. पोखरेलको भनाइमा, यौन समस्या शारीरिकसँगै मानसिक कारणले पनि उत्पन्न हुन्छन्, जसको उपचार ती विषयका विशेषज्ञहरूले मात्र गर्न सक्छन्। कतिपय यौन समस्या विशेषज्ञको 'काउन्सिलिङ' बाट समाधान हुन्छन् भने कतिको औषधि/उपचार नै गर्नुपर्छ। तर, विज्ञापन छपाउनेहरूसँग न त्यो विषयको ज्ञान छ न त औषधि नै। यस्ता विज्ञापनबाट पीडित सोलुखुम्बु नेचाका गणेश बाँस्तोला भन्छन्, “समाधान होला भनेर धेरै पैसा सिध्याएँ, तर समस्या झ्न् बढेको छ।”

यौन समस्यालगायत कुनै पनि रोगलाई शतप्रतिशत निको पार्छु भन्नु भ्रम बाहेक केही होइन। डा. सुबोधकुमार पोखरेल
यौन समस्या भएकाहरू आफ्नो समस्या खुलेर भन्न सक्दैनन्। उनीहरूले कतै उपचार गरिरहेको वा उपचारले समस्या बढाएको पनि खोल्न सक्दैनन्। उनीहरू केवल विज्ञापनमार्फत भ्रम बेचेर पैसा कमाउनेहरूको कारोबारको कच्चा पदार्थ बनिरहेको डा. पोखरेल बताउँछन्। आफूमा लिङ्ग उत्तेजित नहुने, यौन चाहना नहुने, शीघ्रपतन हुने, यौन सन्तुष्टि नहुने जस्ता यौन दुर्बलता रहेको मान्नेहरूको संख्या नेपालमा उल्लेख्य रहेको बताउने डा. पोखरेल भन्छन्, “तर, पत्रपत्रिकाले जथाभावी विज्ञापनलाई ठाउँ दिएर राम्रो गरिरहेका छैनन्।”

विज्ञापन छपाउने प्रायः सबै उपचार केन्द्रहरूमा एकैखाले औषधि, तेल र क्रिम राखिएको हुन्छ। जस्तो, यौनबर्द्धक भनिने जापानी तेल, मलेसियन डीम तेल। लिङ्गको आकार र उत्तेजना बढाउने भनिएको ह्याण्डसम अप भ्याकुम पम्प, यौन दुर्बलता हटाउने भनिएका स्प्रे र हरमोटेक्स, म्याक्सम्यान लगायतका चक्की अनि महिलाको स्तन बढाउने, जनेन्द्रिय टाइट गर्ने भनिएका क्रिम/उपकरणहरू पनि सबैसँग एकैखाले हुन्छ। कतिपय उपचार केन्द्रहरूले जेनेग्रा, पेनेग्रा, भियग्रालगायतका यौनबर्द्धक चक्की पनि राखेको पाइन्छ। औषधि व्यवस्था विभागको स्वीकृति विना बिक्री भइरहेका यस्ता औषधिहरूले कुनै परिणाम नदिने विशेषज्ञहरू बताउँछन्।

विज्ञापनमा दिइएका मोबाइलमा फोन गरेर बानेश्वर, कोटेश्वर, चाबहिल, बागबजार, नयाँ बसपार्क, स्वयम्भु, बालाजु, बसुन्धरा, सुकेधारा, तीनकुने लगायतका ठाउँका 'उपचार केन्द्र' हरूमा पुग्दा अधिकांशमा सौन्दर्य र फिटनेशका सामान राखिएको पाइयो। ती पसलहरूका साइनबोर्ड पनि विज्ञापनमा भनिए जस्तो छैनन्। नयाँबानेश्वरको 'बीटुबी ह्यापी लाइफ सेन्टर' का संचालक भीम खत्रीले 'यौन समस्या लिएर आउनेहरूबाट कमाई राम्रो भएपछि विज्ञापनमा यौन समस्यालाई जोड दिएका बताए। साथै, आफूसँग तीन महिनामै शतप्रतिशत यौन समस्या समाधान गर्ने औषधि रहेको दाबी पनि गरे।

लिंगको आकार बढाउने भनी बिक्री गरिने ह्याण्डसम अप भ्याकुम पम्प।
यस्ता हावादारी दाबीका साथ बेचिने चक्की, क्रिम, स्प्रे, जेल आदिमध्ये कतिले क्षणिक फाइदा दिएजस्तो लागे पनि दीर्घकालमा झ्नै समस्यामा पर्ने वीर अस्पतालका छाला तथा यौन रोग विभाग प्रमुख डा. भाष्करमोहन कायस्थ बताउँछन्। डा. कायस्थले नेपाली बजारमा बिक्री भइरहेको भ्याकुम पम्पले लिङ्गलाई कहिल्यै उत्तेजित नहुने गरी 'ड्यामेज' पनि गर्न सक्ने बताए। “खासमा आफूलाई यौनमा अक्षम भएको ठान्नेमध्ये २० देखि ३० प्रतिशत अरू रोगका कारण दुर्बलता अनुभव गरिरहेका हुन्छन् भने ७० देखि ८० प्रतिशतमा मनोवैज्ञानिक समस्या पाइन्छ”, डा. कायस्थ भन्छन्, “कतिपय मानिस समस्या नभए पनि यस्ता विज्ञापनको चक्कर र जोखिममा पर्छन्।”

लिङ्ग र उत्तेजना बढाउन तथा शीघ्रपतन रोक्न– ह्याण्डसमअप, म्याक्समेन।

भेजिना टाइट गर्न– भेजिना टाइट जेल।

सम्भोग शक्ति र लिङ्ग बढाउन– व्यायाम उपकरण।

यौन दुर्बलताको सम्पूर्ण समाधान– जापानी तथा मलेसियन तेल।

comments powered by Disqus

रमझम