सन् १९९५ मा भारतको मद्रासमा भएको सातौं दक्षिण एशियाली खेलकुद (साग) बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका शाहकै कप्तानीमा नेपाल सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा सेमिफाइनलसम्म पुगेको थियो। त्यो नै नेपाली भलिबलले अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको अहिलेसम्मको ठूलो उपलब्धि हो। त्यसयताका चारवटा सागमा पनि उनको सहभागिता रह्यो। सागका संस्करणहरू नियमित हुन्थे भने यतिबेलासम्म थप तीनवटा संस्करणमा उनको सहभागिता थपिने थियो।
अछामको रिडिकोट–१ बाट एसएलसी उत्तीर्ण गरेपछि अध्ययनका लागि बर्दिया झ्रेका र त्यहाँबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै २०४९ सालमा प्रहरी सहायक निरीक्षक (असई) बनेका शाह सबैभन्दा लामो समय राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली खेलाडी हुन्।
राष्ट्रिय रेफ्री, राष्ट्रिय प्रशिक्षक (सन् २०११ मा श्रीलंकामा सम्पन्न 'साउथ–एशियन विच गेम' मा) भइसकेका शाहले नेपाली टीमलाई सन् २००५ मा बंगलादेशमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण विच भलिबल प्रतियोगितामा प्रथम बनाए। भारत, श्रीलंका र बंगलादेशका टीम सहभागी रहेको त्यो प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।
राष्ट्रिय टीममा पहिलोपटक परेदेखि नै आफूलाई पन्छाउने खेल चलेको शाहको बुझाइ छ। पाँचौं सागको बन्द प्रशिक्षणबाट ६ दिनमै हटाइनुले उनलाई त्यस्तो लागेको हो। उनी सम्झ्न्छन्, “क्याम्पबाट निकालिएपछि राष्ट्रिय खेलकुद परिषद्लाई गुहार्यौं, त्यसपछि क्याम्पमा फिर्ता त बोलाइयो, तर कोचसँग मनमुटाव भएको भन्दै छनोटमा पारिएन।” प्रहरी क्लबमा आबद्ध भएपछि आफ्नो खेल निखारिएको र सातौं सागबाट राष्ट्रिय टीममा परेको उनी बताउँछन्।
रामेश्वर बोहरा
सपना पूरा भएन
अन्तिम चरणमा पुग्न नसके पनि नेपाली फूटबल टोलीको खेल निराशाजनक भने थिएन। नर्दन मरियानाविरुद्ध ह्याटि्रक गरेका भरत खवास, मध्यपंक्तिका जगजित श्रेष्ठ र रक्षक रोहित चन्दले फेरि एक पटक उत्कृष्ट खेल्दै नेपाली दर्शकको मन जिते। भलै, उत्कृष्ट खेललाई निरन्तरता दिन नसक्नु र बलियो टोली विरुद्ध गोल गर्न नसक्नु पुरानो बानी नेपालले यसपटक पनि दोहोर्याएको किन नहोस्।
संसारकै प्रतिस्पर्धात्मक मानिने फूटबलमा सफलता पाउन अन्तर्राष्ट्रिय खेलको अनुभव हुनै पर्ने मानिन्छ। त्यो सँगै आवश्यक हुन्छ, देशको खेल र खेलाडी बुझने प्रशिक्षक। त्यसो हुँदा मात्र फूटबलले सफलता पाउने हो। नभए, अरू कैयौं पटक नेपाली फूटबल यसरी नै असफल हुनुपर्नेछ।