११ चैत्र २०६९ | 24 March 2013

'निर्विकल्प एसएलसी'

Share:
  

१ चैतदेखि शुरु भएको ८०औं एसएलसी परीक्षामा पाँच लाख ४७ हजार १६५ परीक्षार्थी सहभागी छन्। जारी एसएलसी परीक्षाको मर्यादाबारे परीक्षा नियन्त्रक खगराज बराल भन्छन्– कसले भन्ला, परीक्षाको गरिमा घटाऊँ!

परीक्षाको मर्यादा कायम राख्न के–के गरिएको छ?

कानूनमा उल्लिखित बाहेक थप केही गरिएन। परीक्षाकेन्द्र वरिपरि भीड नियन्त्रण गर्ने, परीक्षार्थी स्कूल ड्रेसमा आउनुपर्ने, अमर्यादित गतिविधि गर्नेलाई सार्वजनिक अपराधको कारबाही गर्ने, अनियमित काम गर्ने विद्यार्थीलाई निष्कासन गर्ने तथा केन्द्राध्यक्षलाई कारबाही गर्नेलगायतका तयारी छ। नक्कली परीक्षार्थी भेटिए परीक्षा रद्द गरेर दुई वर्षसम्म परीक्षा दिन नपाउने बनाइनेछ। निर्देशिका संशोधन गरेर ३७ बुँदे आचारसंहिता लागू गरेका छौं।

यस्तो कडाइ किन आवश्यक पर्‍यो?

नक्कली परीक्षार्थी र अमर्यादित गतिविधि सार्वजनिक अपराधसरह हो भनेर यत्रो प्रचारप्रसार हुँदा समेत छिटपुट अवाञ्छित घटना भएका छन्। त्यसैले कानूनमा भएका व्यवस्थालाई कडाइका साथ लागू गर्नैपर्ने आवश्यकता भयो। एसएलसी मर्यादित भएन भने शिक्षा प्रणालीमै ठूलो प्रश्न उठ्छ। यो परीक्षालाई मर्यादित बनाउन सामाजिक र नागरिक सहयोग पनि आवश्यक भएको छ। हामीले मात्र केही गर्न सक्दैनौं।

परीक्षाको पहिलो दिनको राम्रो/नराम्रो प्रतिक्रिया कस्तो आयो?

देशभरिबाट आएको रिपोर्टिङ अनुसार केही ठाउँलाई छोडेर परीक्षा मर्यादित रह्यो। सप्तरीमा अमर्यादित क्रियाकलाप गर्ने २० र जाजरकोटमा ९ नक्कली परीक्षार्थी कारबाहीमा परेका छन्।

परीक्षाको मर्यादा कायम नराख्नेलाई विभिन्न कारबाही गर्ने अडान कायम राख्न सक्नुहुन्छ?

गत वर्ष पनि अमर्यादित क्रियाकलाप गर्नेको परीक्षा रद्द वा अनियमितता गर्नेलाई सार्वजनिक मुद्दा लगाउनेसम्मका काम भएकै हुन्। गलत काम रोक्ने अडानलाई कायम राख्नु हाम्रो जिम्मेवारी नै हो।

विद्यार्थी संगठन र अन्यत्रबाट दबाब आएको छैन?

कसले भन्ला, परीक्षाको गरिमा घटाऊँ! यो सार्वजनिक परीक्षा हो, यसको विकल्प पनि छैन। अभिभावकहरुलाई आफ्ना छोराछोरी सुसंस्कृत भएको हेर्ने रहर हुन्छ। यो ८० वर्षदेखिको संस्कृति नै बनेको छ।

comments powered by Disqus

रमझम