बानेश्वरको मुक्ति टावरस्थित हेलो नेपालको कार्यालय गएर माग राख्ने या कानूनी उपचारका लागि श्रम कार्यालय जानुको सट्टा कृष्ण टावरमा आक्रमण गरेर माओवादी मजदूरले चर्चा बटुल्न खोजेको देखिन्छ। एनसेलको प्रबर्द्धक टेलियासोनेराले हेलो नेपालको शेयर किनेको भन्दै निष्कासित मजदूरप्रति एनसेलकै दायित्व हुने वैद्य निकट माओवादी मजदूरहरूको दाबी छ। तर, दूरसञ्चार प्राधिकरणको प्रावधान अनुसार एउटा प्रमुख कम्पनीले अर्को कम्पनी वा त्यसको शेयर खरीद गर्न पाउँदैन। क्रस होल्डिङ शेयर सम्बन्धी कानूनी आधारसमेत नबुझ्ी नेकपा–माओवादी सम्बद्ध मजदूरहरू आक्रमणमा उत्रिएको देखिन्छ। यसअघि उनीहरूले एनसेलका विभिन्न ठाउँका टावरसिग्नल टुटाएर अवरोध गरेका थिए। ६ माघमा बनेपाको टावर र त्यसपछि ७/८ ठाउँमा सिग्नल टुटाउँदा प्रहरीलाई जानकारी दिएर सिग्नल जोडे पनि ती घटनामा संलग्न कोही पक्राउ परेका छैनन्। संरक्षित दण्डहीनताका कारण 'जे गरे पनि हुन्छ' भन्ने मानसिकता हावी भएकाले कार्यालयमा आक्रमण गर्न उनीहरूको हिम्मत बढेको हो।
कोभन्दा को कम
वैद्य माओवादी जस्तै एमाओवादी सम्बद्ध मजदूरहरू पनि पछिल्लो समय उद्योगहरूमाथि आक्रमणमा उत्रिएका छन्। एनसेल आक्रमणको चार दिनअघि २ चैतमा होटल र्याडिसनका प्रबन्ध निर्देशक बिके श्रेष्ठमाथि एमाओवादी समर्थित मजदूरले ललितपुरको भनिमण्डलमा सांघातिक आक्रमण गरेका थिए। आक्रमणबाट श्रेष्ठको गाडी क्षतिग्रस्त भएको थियो भने उनी भागेर बच्न सफल भए।
नेपाल उद्योग वाणिज्य महासंघले मालिक–मजदूर सम्बन्धमा सुधार आएको बताइरहेका बेला यस्ता आक्रमण भइरहेका छन्। “असन्तुष्टि भए अदालत र कानूनी दायरामा जानुपर्छ”, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका भन्छन्, “हिंसाबाट काबु भएर कसैको माग पूरा गर्न सकिन्न।” पछिल्ला आक्रमणका घटनालाई उनी निजी क्षेत्रलाई थर्काएर बलियो बन्ने दलहरूको होडबाजीको परिणाम ठान्छन्। मुरारका भन्छन्, “यो ट्रेड युनियनको मुद्दा होइन, सरकारले कानूनी कारबाही गर्नुपर्छ।”
नेकपा–माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना, प्रकाशन मजदूर संघका संयोजक जन्मदेव जैसी भने श्रम कार्यालय पुगेर कानूनी प्रक्रियामा जाँदा लामो समय लाग्ने हुँदा 'दबाबमूलक' कार्यक्रम गरेको बताउँछन्।
प्रभात भट्टराई