१८ चैत्र २०६९ | 31 March 2013

असारमा चुनाव हुनेमा शंका

Share:
  

सरकार चुनाव गराउन तम्तयार देखिएका बेला जनविश्वास पनि चुनाव हुने पक्षमा देखिएको छ। राजधानीसहित प्रमुख १२ शहरहरू धनगढी, नेपालगन्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, वीरगन्ज, जनकपुर, विराटनगर, धरान र दमकमा ६ फागुनमा गरिएको हिमाल साप्ताहिक बजार अभिमतमा सहभागी ३७५ मध्ये २२७ ले सरकार परिवर्तनपश्चात् संविधानसभा/विधायिका संसद्को चुनाव हुने बताएका छन्।

'तपाईंको विचारमा सरकार परिवर्तनपश्चात् संविधानसभा विधायिका संसद्को चुनाव होला कि नहोला?' भन्ने प्रश्नमा ६०.५ प्रतिशतले 'हुन्छ' भनी बताएका छन्। १८.९ प्रतिशतले चुनाव 'हुँदैन' भनेका छन् भने 'थाहा छैन' भन्नेहरूको संख्या १८.४ प्रतिशत छ। चुनाव हुनेमा सबैभन्दा धेरै नेपालगन्जका ९२ प्रतिशत उत्तरदाता आशावादी देखिएका छन्। सबैभन्दा कम घोराही, पोखरा र जनकपुरका ४८ प्रतिशत रहेका छन्।

प्रमुख राजनीतिक दलहरूले आगामी असारभित्र चुनाव गर्ने बताइरहेका बेला बहुसंख्यक उत्तरदाताले चाहिं त्यसमा शंका गरेका छन्। 'तपाईंको विचारमा चुनाव कहिले होला?' भन्ने प्रश्नमा सबैभन्दा धेरै ३५.७ प्रतिशतले '२०७० सालभित्र चुनाव हुने' उत्तर दिएका छन् भने ३३.९ प्रतिशतले '२०७० मंसीरमा।' 'आउँदो असारमा चुनाव हुन्छ' भन्नेहरू १४.५ प्रतिशत मात्र छन्। 'असारमा चुनाव हुन्छ' भनेर पत्याउनेमा सबैभन्दा धेरै २३ प्रतिशत प्रमाणपत्र तह पढेका छन्। साक्षर मात्र भएका उत्तरदातामध्ये सर्वाधिक ६० प्रतिशतले २०७० मंसीरमा चुनाव हुने बताएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये बहुसंख्यक उत्तरदाता चुनावमा मत दिन तयार देखिएका छन्। 'आउँदो चुनावमा तपाईं मत दिन जानुहुन्छ कि जानुहुन्न?' भन्ने प्रश्नमा ७९.९ प्रतिशत उत्तरदाताले 'जान्छु' भन्ने बताए। 'जान्न' भन्नेको प्रतिशत १२.६ मात्र छ। आउने चुनावमा १८–२४ उमेर समूहका १८.५ प्रतिशतले मत दिन नजाने बताए भने ४०–५९ समूहका ९०.१ प्रतिशतले मत दिन जाने बताए। आउने चुनावमा मत हाल्न जान्छु भन्नेमध्ये सबैभन्दा धेरै ९२ प्रतिशत विराटनगरका छन् भने सबैभन्दा कम घोराहीका ७५ प्रतिशत।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम