अहिलेको अवस्थामा हल्का 'राइट टु दि सेण्टर' मा बस्न चाहन्छौं, कन्जरभेटिभ पार्टीको रूपमा। अब मन्त्री, प्रधानमन्त्री हुनेभन्दा पनि पार्टीलाई राष्ट्रिय रूपमा स्थापित गराउने मेरो 'ड्रिम प्रोजेक्ट' हो। अहिले राम्रा मान्छे थपिंदै ठूलो टीम बनेको छ। 'आउट डेटेड' को साटो नयाँ मान्छे राख्ने सोच अनुसार अहिले मेरो केन्द्रीय कमिटीमा ६ जना त पीएचडी नै छन्, एकजना आर्मीका रिटायर्ड जर्नेल भरत रायमाझ हुनुहुन्छ। पूर्व सचिव खगेन्द्र बस्नेत पनि केन्द्रीय समितिमा हुनुहुन्छ।
महिलाहरू नि?
महिला भने अलि कम छन्। पहिलेका र नयाँ आउनेबीच द्वन्द्व होला भनेर नयाँलाई समेट्न सकिएको छैन। तीन महीनाभित्रमा ३३ प्रतिशत पुर्याउने विचार छ।
रथयात्रा अपेक्षा अनुसार भयो त?
सोचेभन्दा राम्रै भयो।
समाजमा तरंग ल्याएको त देखिएन नि?
मिडियाले पनि साथ दिएन।
राष्ट्रवादको नारा छोड्दै गएको देखिन्छ, किन हो?
चाहे हिन्दुत्व होस् वा राजसंस्था दुवै राष्ट्रियतासँगै सम्बन्धित छन्। मुद्दा चाहिं प्राथमिकता अनुसार आउने हो। हामीले हिन्दुत्व धार्मिक रूपमा नभएर पहिचानका रूपमा उठाएका हौं। अहिलेका युवा पहिचानप्रति सजग छन्।
धर्म र राजनीतिलाई मिसाउन खोज्नुभएको हो?
एक्काइसौं शताब्दीमा धर्म र राजनीतिलाई जोड्न खोज्दा टिक्दा पनि टिक्दैन। तर, हिन्दू राष्ट्रको पहिचान मेटाउने राजनीति हुँदा हामीले माग राख्नु स्वाभाविक हो। हामीले हिन्दू धर्मका आधारमा राज्य चलाऊ, कानून बनाऊ भनेका छैनौं। धर्म परिवर्तन गराइनुहुन्न मात्र भनेका हौं।
धार्मिक नारा लगाउँदा धार्मिक वैमनस्य बढ्दैन?
यो मागलाई बेलैमा सम्बोधन नगरिए चाहिं द्वन्द्व हुन सक्छ। ९४ प्रतिशतको आस्थालाई निषेध गरेर शान्ति खोज्न सकिंदैन। मान्छेको पहिचानलाई निषेध गरिन्छ भने द्वन्द्व त हुन्छ नै।
हिन्दू राज्य बनाउँदा भारतमा चलेको हिन्दुत्वको प्रचार भित्रिएर राष्ट्रियता खतरामा पर्दैन?
हिन्दुत्व भारत केन्द्रित होइन। नेपाल नै हिन्दू, बौद्ध र किराँतको उद्गमस्थल हो। एक अर्ब दश करोड हिन्दूको आस्थाको केन्द्र नेपाल बनोस् भन्ने सद्भाव स्वाभाविक हो।
तपाईं राजनीतिक नेतृत्व गर्ने विचारमा हुनुहुन्छ कि धार्मिक?
हिन्दुत्वको कुरा गरेको धार्मिक नेतृत्वका लागि होइन। राज्यले हिन्दूलाई मात्र विशेष संरक्षण र सुविधा दिनुपर्छ भनेको पनि होइन। राजनीतिक प्रणालीसँग गाँस्न खोजेको पनि होइन।
हिन्दुत्व अगाडि सार्नुले तपाईंको अभियान धार्मिक देखिंदैन र!
हामीले सनातन हिन्दू राष्ट्र हुनुपर्छ भनेकै हो। साधु, सन्त, स्वामीको नेता बन्न खोजेको होइन।
भारतका हिन्दूवादी र तपाईंहरूबीच कुनै सम्बन्ध छ?
पटक्कै छैन। मलाई कतिले त्यस्तालाई भेट्न प्रोत्साहन गर्छन्। रविशंकर आउँदा पनि भेट्नु भनेका थिए, तर म गइनँ। नेपालमा राजनीति गर्नका लागि विदेशीको आशीर्वाद चाहिन्छ भन्ने मान्यता ममा छैन।
अरू राजावादी त भेट्छन् नि उनीहरूलाई?
म आफ्नै ढंगले अघि बढ्न खोजिराखेको छु।
हिन्दुत्व र राजसंस्थालाई कसरी जोड्नुहुन्छ?
धर्मशास्त्रहरूमा राजा उल्लेख हुनाले कहीं न कहीं सम्बन्ध देखिन्छ, तर हिन्दुत्व र राज्य प्रणाली अलग कुरा हुन्। 'कन्जरभेटिभ फिलोसफी'मा आधारित पार्टी निर्माण गर्दा नेपालका लागि राजासहितको प्रजातन्त्र उपयुक्त हो भन्ने हामीलाई लागेको हो। नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक, सांस्कृतिक परिवेश र हालको राजनीतिक परिस्थितिले पनि राजतन्त्र आवश्यक ठहर्याउँछ।
राजसंस्था जस्तो परम्परागत संस्थाको वकालत गर्दा आफ्नो राजनीतिक विकास अवरुद्ध हुन्छ जस्तो लाग्दैन?
विगतका त्रुटि, कमजोरी सच्याउँदै नयाँ स्वरुपको राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा हामी छौं। बीपीले ३३ वर्षअघि भन्नुभएको मेलमिलाप अहिले पनि सान्दर्भिक छ। राजसंस्थालाई पाखा लगाएपछि उग्र वामपन्थी धरापमा मुलुक फस्नाले हामी सही छौं भन्ने पुष्टि भएको छ।
राजतन्त्र त गइसक्यो नि होइन?
प्राविधिक र संवैधानिक रूपमा गएकै हो।
राजतन्त्र रहँदा गणतन्त्र माग्न पाइँदैनथ्यो, अहिले तपाईंले राजतन्त्र भन्न पाइरहनुभएको छ, लोकतन्त्रले दिएको यो खुलापनलाई के भन्नुहुन्छ?
यो संवैधानिक व्यवस्था अनुसारको कुरा हो।
राजालाई कहिलेसम्म बोक्ने योजना छ ?
म आफूलाई राजावादी भन्दा राष्ट्रवादी भन्न रुचाउँछु। राष्ट्रलाई राजा र प्रजातन्त्र दुवै चाहिन्छ भन्ने मेरो मान्यता हो। राजतन्त्र षड्यन्त्रबाट हटाइएकाले त्यसको विरोध गरेको हुँ।
राजतन्त्र हट्नुमा दरबार हत्याकाण्ड पनि एउटा कारण हो?
राजाले अर्बौं रुपैयाँ विदेशमा राखे र निरंकुश व्यवस्था स्थापना गरेको हौवा दरबार हत्याकाण्डपछि फैलाइयो। त्यो पूरै झुटो भएको प्रमाणसहित भन्न सक्छु। वास्तवमा राजाबाट एकलौटी सत्ता नपाउने भएपछि माओवादी र अरू दलले ती भ्रम फैलाएका हुन्।
राजतन्त्र हट्नुमा राजाको कमजोरी कहाँनिर पाउनुहुन्छ?
आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् बनाउनु, मन्त्रिपरिषद्मा पहिलो चरणको छनोट ठीक नहुनु र राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन नसक्नु राजाबाट ध्यान नपुगेका कुरा हुन् जस्तो लाग्छ।
पूर्व राजासँग अहिले तपाईंको सम्बन्ध कस्तो छ?
एकदमै राम्रो छ,तर बाहिर भनिए अनुसार पनि छैन।
उहाँको सहयोग छ तपाईंलाई?
हामी आ–आफ्नै खुट्टामा उभिइराखेका छौं।
राजतन्त्रसहितको प्रजातन्त्र डुबाउन २०५१ पछि माओवादीजस्तै तपाईंको 'मुसा प्रवृत्ति' पनि जिम्मेवार रह्यो नि हैन?
त्यसबेला म पार्टीको आधिकारिक निर्णयमै उभिएको थिएँ। तर, त्यो इतिहासबाट पाठ सिक्नुपर्ने विषय चाहिं पक्कै हो।
तत्कालीन व्यवस्था कमजोर पार्न तपाईंको पनि भूमिका रहेन त?
त्यसबारे अहिले धेरै बहस गर्नुको औचित्य छैन। मबाट भएका कमजोरीलाई भने मैले स्वीकार्नै पर्छ।
कैयौं मुद्दामा के–के कारणले तपाईं र एमाओवादीबीच समानता देखाइरहेको छ?
आफ्नो वैचारिक कित्तामा उभिएका कारण। जस्तो, अहिले कि एमाओवादीलाई चुनाव चाहिएको छ कि त हामीलाई। दीर्घकालीन रूपमा हामीबीच धेरै फरक भए पनि तत्कालीन कार्यनीतिमा समानता हुनुको कारण त्यही हो। एमाओवादीलाई राष्ट्रवादी भन्नु चाहिं अहिले अलि बढी नै हुन्छ। हिजो र आजका उसका सबै गतिविधि सार्वजनिक भइसकेको सन्दर्भमा उसले राष्ट्रियताको कुरा गर्नुको कुनै अर्थ छैन।
आउँदो चुनावमा पूर्व पञ्चहरूको पार्टीसँग तालमेल हुनसक्छ?
एकताको 'च्याप्टर' बन्द भए पनि चुनावको लागि विभिन्न सम्भावना हेरिराखेका छौं।
कैयौं विचार समान भएको एमाओवादीसँग पनि सहकार्य हुनसक्छ?
सम्पूर्ण रूपमा 'रुल आउट' गर्न मिल्दैन।
'हिमाल को जनमत सर्वेक्षण' ले तपाईंको लोकप्रियता बढेको देखायो, के कारण हुनसक्छ?
पहिलो, हाम्रो पार्टीको अजेण्डाको सशक्तता, दोस्रो हाम्रा वैचारिक स्पष्टता र तेस्रो, रोडम्याप। राप्रपा नेपाल राजा र हिन्दू राष्ट्र फर्काउन मात्रै लागेको होइन। मुलुकको सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणका निम्ति दूरगामी सोचाइ र योजना भएको वैकल्पिक राजनीतिक शक्ति हो।
आउँदो चुनावमा कति सीट ल्याउने अनुमान छ?
चुनावका बेला कत्तिको लहर ल्याउन सक्छौं, अभियान कति प्रभावकारी हुन्छ, उम्मेद्वार कति आकर्षक हुन्छन् त्यसैमा भर पर्छ। तर, हिमाल ले लेखे अनुसार मैदान खुल्ला छ भन्नेचाहिं निश्चित हो।
निर्वाचन फापशिद्ध हुन्छ भन्ने चाहिं लागेकै छ, हैन? त्यो त छ नै। ६–७ महीनाअघिको आईडीएको रिपोर्टले पनि हामीलाई कांग्रेस, एमाले र एमाओवादीपछिको चौथो स्थानमै राखेको छ। हामी पक्कै आशावादी छौं।