लेखक: हिरण्यलाल श्रेष्ठ
प्रकाशक: सोपान मासिक
पृष्ठः २३५+१६,
मूल्यः रु.२७५
प्रजातन्त्रलाई धरापमा पार्ने दरबारबाट आएको राजदूत बन्ने प्रस्ताव स्वीकार गरेर आलोचित बनेका नेपाली वाम आन्दोलनका एक प्रखर कार्यकर्ता, बुद्विजीवी तथा पत्रकार हिरण्यलाल श्रेष्ठको हालै प्रकाशित मित्रताको सयपत्री परराष्ट्र मामिलाका अध्येताहरूका लागि निकै उपयोगी हुनेमा शंका छैन। किताबमा १०१ देशसितको नेपालको औपचारिक कूटनीतिक सम्बन्धका तिथिमिति, उच्चस्तरीय भ्रमण, पर्यटन र व्यापार सन्तुलनदेखि सम्बन्धका आधार र आयामसम्मका विषयहरूमाथि साङ्गोपाङ्ग प्रकाश पारिएको छ। अफगानिस्तानदेखि जिम्बाबेसम्मका नेपालको मित्र देशहरू अंग्रेजी वर्णमालाको वर्णानुक्रममा छन्।
दोस्रो विश्वयुद्धको समयसम्म बेलायतसँग मात्रै औपचारिक दोस्ती रहेको नेपालले त्यसयता विस्तार गरेको परराष्ट्र सम्बन्धलाई अझ् चुस्त र राष्ट्रिय हित अनुकूल बनाउन के कस्ता प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने बहस किताबमा उठाइएको छ। यतिखेर नेपालको विदेश नीतिमा दलीय स्वार्थ हावी भएको सर्वत्र अनुभव गरिएकै हो। मित्रराष्ट्रहरूसँगको सम्बन्धमा अनेकन् विरोधाभास देखिने पनि गरेका छन्, जसले अन्तर्राष्ट्रिय जगतमा मुलुकको उपस्थिति फितलो बन्दै गएको छ। तर, नेपालले हिजोका दिनमा अंगीकार गरेको विदेश नीतिमा राष्ट्रिय हित नै सर्वोपरि हुने गरेको दाबी रूसका लागि शाही शासनकालीन नेपाली राजदूत श्रेष्ठको छ।
२००७ सालसम्म थोरै देशमा सीमित नेपालको दौत्य सम्बन्ध राजनीतिक परिवर्तनहरूसँगै क्रमशः विहङ्गम बन्दै गयो। नेपालको कूटनीतिक विस्तारमा आर्थिक, व्यापारिक, पर्यटन, लगानी, वैदेशिक रोजगारी र सबभन्दा महत्वपूर्ण सांस्कृतिक आयामहरू थपिंदै गए। राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको संलग्नताले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई थप उज्ज्वल बनायो। श्रेष्ठको पुस्तकले यी र यस्ता थुप्रै पाटाहरूमा प्रकाश पारेको छ। यद्यपि, १३४ देशसँग नेपालको कूटनीतिक सम्बन्ध जोडिएको अवस्थामा आएको पुस्तकमा ३३ देश नसमेटिंदा पुस्तक अपुरो भएको छ।
रामेश्वर बोहरा