हुन त सुखद् र आरामदायी जीवनका लागि यस्ता कुराले महत्वपूर्ण अर्थ राखेका हुन्छन्। सपना र कल्पनाको संसारमा डुबुल्की मारेर बाँच्ने युवक–युवतीको जीवनमा त झ्नै अर्थ राख्छन्– धन–सम्पत्ति र इज्जत–प्रतिष्ठाले। र पनि, सामान्य केटीहरूमा भावी दुलाहा दुर्व्यसनी, जँड्याहा, बाह्रमासे, वेश्यागामी जे जस्तो भए पनि धनी–नामी भए हुन्छ भन्ने सोच हुनै सक्दैन। त्यो अवस्थामा पनि उनीहरू बद्नाम र कुलतमा फँसेकासँग विवाह गर्न राजी भएका देखिन्छन्, अचम्म लाग्छ!
उन्माद जस्तो निर्णय
युवावस्थामा प्रवेश गर्दै गर्दा किशोर–किशोरी सबैमा भावुकता भरिदै गएको हुन्छ। त्यसताका हेर्ने सिनेमा, पढ्ने कथा/कविता/उपन्यास, सुन्ने/गाउने गीत र लेख्ने कविता/कथाले आगोमा घ्यूको काम गरेका हुन्छन्। त्यतिबेला उनीहरू संसार आफ्नै मुट्ठीको भएको र त्यसलाई चाहे जस्तो बनाउने ठानिरहेका हुन्छन्। युवावस्थामा अधिकांश केटीहरू सिनेमामा झै सपनाको राजकुमार, आफूले भनेेमा आकाशको तारा टिपेर ल्याइदिने जीवनसाथीको सपना बुनेर बसेका हुन्छन्। उनीहरूमा धनी बाबुका बिग्रेका छोरालाई दुई दिनमा ठीक पार्ने आँट पलाउँछ। तर जीवनको यथार्थ तीन घण्टाको 'ह्याप्पी एन्डिङ' सिनेमा होइन, न त दिनभरिमा पढी भ्याउने कुनै रोमाञ्चक 'प्रेमकथा' नै हो।
त्यसैको परिणाम, हिमानीको जीवनमा आँधीबेरी आएको छ। जंगली हात्तीलाई त काबुमा ल्याउन सकिन्छ, उनी त मान्छे हुन् भनेर कुलतमा फँसेको युवकसँग विवाह गर्न साहस गर्ने युवती पनि अहिले विषादपूर्ण जीवन बाँचिरहेकी छन्। उनको जीवनबारे धेरै खोतल्नु उपयुक्त हुँदैन, हिमानीबारे धेरै व्याख्या आवश्यक छैन। केही वर्षदेखि हिमानी र पारस अलग–अलग जीवन जिउँदै आएका कुरा पनि सबैलाई थाहा भएकै हो। युवराज्ञीसमेत भएकी पूर्व राजा ज्ञानेन्द्र शाहकी बुहारी यी आँटिली नारीको जीवनका उकाली ओरालीबारे आम नेपाली जानकार छन्।
यौवन नारीमा मात्र होइन, पुरुषमा पनि आउँछ। यौवनको उन्मादमा दुवै पक्ष भावनामा बगेका हुन्। दुवैले सँगै जिउने रहरले विवाह–बन्धनमा बाँधिएका हुन्छन्। यहाँसम्म आइपुग्दा 'प्रेम र युद्वमा सब थोक जायज' भइरहेका छन्। तर यसपछि जे–जति भए, गलतै भएका छन्, त्यो पनि खास गरेर पुरुष पक्षबाटै। विवाहपछि न पारस बदलिए न ती अर्का पुरुष। असल श्रीमान् हुन नसकेका उनीहरू एकपछि अर्को निर्दोष सन्तानका अयोग्य बाबु मात्र बन्दै गए। जापान सरकारको परियोजनामा काम गर्दा बच्चा साह्रै मन पराउने एक जना जापानी प्रतिनिधिसँग मैले 'किन सन्तान नपाएको' भनेर सोध्दा पाएको जवाफ आज पनि झ्ल्झ्ली सम्झ्न्छु। उनले भनेका थिए, “बच्चा मन परेर के गर्ने? चुरोटको लत छुटाउन सकेको होइन, चुरोट छोड्न नसकेसम्म बच्चा पाउँदैनौं।”
यस्तो चेतना हामी नेपालीमा कहिले आउने? जीवन अमूल्य छ भने त्योभन्दा अमूल्य पवित्र प्रेम। त्यसैले जीवनका महत्वपूर्ण क्षणलाई सकारात्मक काममा लगाउन सक्नुपर्छ। कुलतको गन्तव्य भनेकै अकाल मृत्यु, असीमित पीडा, अनन्त अपराधबोध र परिवारको बर्बादी हो भन्ने कुरा बुझेर गन्तव्यविहीन यात्रालाई यहीं टुङ्ग्याउनुपर्दछ। पूर्वयुवराज पारसलाई शीघ्र स्वास्थ्यलाभ र नयाँ जीवनको सुरुआतको शुभकामना!